Mero Sabda

अंग्रेजीको ‘टुमरो’ नबुझेर ‘तु मरो’ भयो


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

मरुभूमिको बीचबाट सलल बगेको चिल्ला सडक । प्रायःजसो हावा बहिरहने, त्यो हावासँगै मरुभूमिको बालुवा उडाएर अलिक टाढाको दृश्य देखिदैन थियो । त्यो दिन दिनभर तुँवालो लागेझैं दिन धुम्मी रह्यो । आँखामा हरहमेसा चश्मा हुने त्यसैले आँखा बिझाउने समस्यानै रहेन ।

त्यो ग्याँस–प्लान्टभरि दिनभर त्यही तुँवालोको चर्चा चलिरह्यो । वास्तवमा यो के हो ? विस्तारै क्रमशः अलिक घना हुँदै गयो । अन्दाजी दुई बजेको समयतिर हामी गाडीमा सवार भएर क्याम्पतर्फ जाने तर्खरमा थियौं । अचानक गाडीको सिसामा एउटा माटोको डल्लो झर्यो । सिसामा लागेर केही दखल नदिइ धुलो सरह फ्यास्सै फुट्यो । त्यसको केही क्षणामा नै अरु त्यस्तै डल्लाहरु झर्न थाले । गाडीको ढोका, जहाँबाट मानिस चढ्छन्, त्यहाँ पनि झर्यो । तर जहाँ झरे पनि धुलोझैं फ्यास्स फुटेर जान्थ्यो ।

हामी सबै अचम्मित भयौं । वास्तवमा के हो यो ? र कहाँबाट आयो ? जीवनमा आजसम्म आकाशबाट त्यस्तो डल्लो खसेको देखेको थिएन । अद्भुत । आश्चर्य चकित । सबै जना मुखामुख गर्न थाल्यौं । के अचम्म हुन लाग्यो भनेर मनमा त्रासले डेरा जमाउन थालिसकेको थियो । हिजो बमको त्रास र आज नौलो प्रकारको आश्चर्य चकित पार्ने घटना ।

तर जब हामी मूलगेटबाट निस्कन लागिसकेको थियौं । तब मात्र यसको रहस्य उजागर भयो । खासमा भएको के रहेछ भने उता इराकमा खसालिएको बमको कारणले त्यहाँबाट उडेको धुलोहरु वातावरणमा फैलिएर यहाँ पनि देखापरेको रहेछ । त्यस पश्चात् आकाशबाट पानीको थोपा झर्दै गर्दा त्यो पानीको थोपा हावामा रहेको धुलोमा टाँसिएर एउटा माटोको डल्लाको स्वरुप लिएर जमीनमा खस्दोरहेछ । त्यो माटोको डल्लो पनि एउटा सप्रिएको आलु जत्रो नै देखिन्थ्यो ।

त्रास आखिर त्रास नै हो । जस्तो प्रकारको भए पनि त्रासले मानिसलाई धेरै अत्याउँछ । हर समय बाँचिरहन पाउँ भन्ने हुन्छ चेतनशील मानिसहरुलाई । जब हामी आफ्नो ठाउँ र आफन्त छाडेर यति टाढा रोजगारीको सिलसिलामा आएका हुन्छौं, जति दुःख होस् या तिरस्कार सबै आफैं नै सहौंला, घरमा रहेका परिवारलाई यसको एक चोइटाले पनि नभेटोस् भन्ने प्रायको सोचाइ हुन्छ ।

मरुभूमिको त्रिपन्न डिग्रीको गर्मी । त्यसमा छाला नै पोल्ने तातो हावाको वेग । त्यो वेगसँगै बालुवाका तीखा–तीखा कणहरुले छालामा स्पर्श गर्दाको पीडा । यस्ता घटनाहरु घरकाले सकभर थाहा नपाओस् । अस्तिको बमकाण्डको त्रास अनि यो माटोको डल्लाको त्रास । यस्ता कुराहरु सुखदुःखका कुरा पत्रमा पोख्दा लुकाएर लेख्नुपर्छ । मैले लेखेको हरेक पत्रमा ‘म आराम छु । मेरो चिन्ता नलिनु । खर्च पठाउँदै गर्नेछु । त्यहाँ बसेर आफू र नानीहरुको राम्रो ख्याल राख्नु’ जस्ता शब्दहरु पोखिन्थ्यो ।

किनकि आफूले भोगेका कष्टहरु पत्रमा लेखेर पठाउँदा घरकालाई पीर हुन्छ । त्यो बेला अहिले जस्तो भिडियो कलको सुविधा थिएन । आफूले काम गरेको अवस्थाको फोटो खिचेर चिठीमा हालि पोष्ट गरेर घरकाले हात पार्दा दुई हप्ता बितिसकेको हुन्थ्यो । पत्रमा त ‘काम राम्रो छ’ भनेर जनाउनु पथ्र्यो ।

यहाँ ‘केटीहरुको उमेर नसोध्नु, विदेशीको तलब नसोध्नु’ भन्ने उखान पनि लागू हुन्थ्यो । त्यसैले हामीले हाम्रो तलब यति छ । ओभरटाइम यति हुन्छ भनेर कहिल्यै पनि घरकालाई जानकारी दिँदैन थियौं । परदेशी भएपछि केही गोपनियता पनि त राख्नु पर्यो ।

एकपटक त्यस्तै ग्याँस–प्लान्टमा मधेसीमूलका नेपाली पनि काम गर्न गएको थियो । पहिलो दिन डराइ–डराइ सबै भन्दा राम्रो काम गरेछ । विचरा उसलाई नेपाली र अँग्रेजी आँउदैन रहेछ । दिनभर काम गरे पश्चात् जब प्लान्टको एक जना गोरा आएर सबैको कामको मूल्याङ्कन गरेर कसैलाई ‘तँ आइज, तँ नआइज’ भनेर अँग्रेजीमा भन्दै थियो । त्यो मधेसी साथीलाई पनि ‘यु कम टुमरो’ भनेर भनेको मात्र थियो, साथी जंगिदै भन्न थाल्यो– ‘दिनभर अरु भन्दा राम्रो काम गरें । अरुले कति काम ठग्यो । अरुलाई केही भनेन मलाई चाहिं ‘तु मरो पो भन्छ’ भन्दै कराउन थाल्यो । उ रिसले भुन्भुनिदै बाहिर निस्कन थाल्यो । त्यो देखेर ती अंग्रेज जिल्ला परेर हेरेकोहेरै भयो । भरे साथीहरुले ‘हामी सम्झाउँछौं’ भनेर त्यो मानिसलाई सम्झाउन गए ।

उ नेपाली त्यति नबुझ्ने । हिन्दी भाषाबाट सम्झाउन थाले । ‘ए भाइ ! तँलाई तु मरो भनेको होइन, टुमरो भनेको । भोलि पनि काम गर्न आउनु भनेको’ भनेर धेरै बेरसम्म सम्झाए पश्चात् मात्र अन्त्यमा उसले बुझेछ । ‘ए त्यो भए ठीकै छ नि’ भन्दै हाँस्दै गाडी चढ्न गयो । यस्तै दृश्यहरु धेरै देखियो । विश्वका आधा देशका मानिसहरु यहाँ कतारमा कामको सिलसिलामा आएका हुन्छन् । सबैले आ–आफ्ना देशको भाषा बोल्दछन् । उसको देशको भाषा अर्कोले बुझ्दैन । अर्को उसले बुझदैन । त्यसैले यहाँ धेरै असमझदारी बढ्छ । कसैले उसको भाषामा गाली गर्छ । त्यस्तोमा सुन्नेले बुझेन त ठीकै हुन्छ, तर यदि बुझिदियो भने उसले पनि आफ्नो भाषामा गाली गर्न थाल्छ । अनि यस्तोमा द्वन्द्व पनि निम्तन सक्छ ।

त्यसैले वैदेशिक रोजगारीमा जाँदा हिन्दी अँग्रेजी भाषा चाहिं केही मात्रामा भए पनि सिकेर गए राम्रो हुन्छ । अन्य भाषा त्यही गएर सिक्न सकिन्छ । रह्यो अरबी भाषा, त्यसका लागि आँत्तिएर हतार गरेर हुँदैन । त्यो पनि बिस्तारै सिक्न सकिन्छ । किनकि त्यहाँ गएका प्राय नेपालीहरुले सामान्य आफूलाई चाहिने शब्दहरु सिकिसकेका हुन्छन् । यदि आवश्यक परे नेपाली साथीभाइहरुसँग सिक्न सकिन्छ । रह्यो दक्षिण भारतका भाषा मलयालम, मद्रासी र श्रीलंकन भाषामा चाहिं त्यति खास प्राथमिकता दिएर सिक्ने प्रयास नगर्नु र उनीहरुसँग नजानी नजानी गरेर वार्तालाप गर्ने प्रयास नगर्नु । यदि आफूलाई ती भाषाको बारेमा पूर्ण जानकारी छैन भने उनीहरुले खिल्ली उडाउँछन् । त्यसैले त्यसबाट सकभर सावधान रही बस्न उपयुक्त हुन्छ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।