Mero Sabda

विमलीको ‘अतृप्त’ उपन्यास लोकार्पण


शनिश्चरे, १५ भाद्र । साहित्यकार मञ्जु विमलीको तेस्रो कृति ‘अतृप्ति’ उपन्यास लेखककी एकानब्बे वर्षीय आमा राममाया विमलीको हातबाट लोकार्पण गरिएको छ । कोरोना प्रभावका कारण मंगलवार कपन, आकाशे धारास्थित लेखकको घरमा आयोजित एक कार्यक्रमबीच फेसबुक लाइभ गरी लोकार्पण गरिएको हो ।

कार्यक्रममा साहित्यकार विमलीले कृतिभित्र ‘मानिस कमजोरी सहितको हुनेहुनाले त्यसलाई उसकै अवस्थामा हेरिएको’ बताउनु भयो । एक सय छयत्तर पृष्ठको उक्त उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको छ ।

लोकार्पण कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष चन्द्र शिवाकोटी, साहित्यकार कृष्ण धराबासी, लेखककी आमा राममाया विमली लगायतले मन्तव्य राख्नुभएको थियो । विमलीका यसअघि दुई कृति ‘दुई थोपा आँसु’ कवितासंग्रह र ‘खीर’ संस्मरण प्रकाशित भइसकेका छन् ।

नेपाली विषय लिएर स्नातकोत्तर गर्नुभएकी विमलीको जन्म ह्वाकु, तेह्रथुममा भएको थियो भने भारत, बेलायत र अमेरिका भ्रमण गरिसक्नु भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।