२०७८ कार्तिक ९ मंगलबार
Mero Sabda

खजुरको जाँड


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

रियालसँग बैंस साँटेको पनि डेढ वर्ष पुग्न लागेको थियो । ड्युटीको निरन्तरतासँगै रियालको स्पर्श निरन्तर पाइरहेको थियो । त्या सँगै कतारको तातो पानीले गर्दा शिरको केश पनि आफ्नो ठाउँबाट झर्न थालिसकेको थियो । गर्मीमा शरीरका बोसो पग्लिएर निधारबाट पसिनाको थोपा तप्प–तप्प झरेर बालुवामा विलिन भए पनि त्यही पसिनाको हरेक थोपाले घरपरिवारको, आफन्तको ओंठमा मुस्कान निरन्तर छाइरहेको थियो ।

एकपटक छोरीको जन्म दिन मनाउन दश हजार खर्च गरेर भए पनि छोरीको खुशी दुई गुना बढाउन पाएकोमा मनमा धेरै शान्ति मिलेको थियो । त्यो कार्यक्रमको भिडियो खिचेर त्यसको सिडी मलाई पठाएकी थिइन् श्रीमतीले । त्यो भिडियो हेरेर रुमका साथीहरु पनि हर्षित देखिन्थे । तर म हर्षित मात्र होइन त्यति सानी छ वर्षकी छोरी छाडेर आएको तर त्यो भिडियोमा निक्कै ठूली र राम्री भएको देख्दा आँशु नै थाम्न सकिनँ । सायद धेरै समयको अन्तरालमा देखेर होला । मन नै थाम्न सकिनँ ।

जे सुकै भए पनि परदेशमा कमाउन आएको । यो सबै त सहनै पर्यो । केही खुशी पाउन अलिकति भए पनि कष्ट त भोग्नै पर्यो । हामी अलखोरबाट फेरि दोहाको क्याम्पमा फिर्यौं । यताको क्याम्पमा आइपुग्दा कम्पनीको बारेमा धेरै कुरा बुझ्न पाइयो । जस्तै कम्पनी अब बन्द हुनलागेको रहेछ । हाम्रो दुई–तीन महिनाको तलब पाउन बाँकी थियो । त्यो पनि नपाइएला जस्तो लाग्न थाल्यो । बिस्तारै बिस्तारै कम्पनीको काम पनि बन्द हुँदै थियो । फाट्टफुट्ट रुपमा मात्र काम भइरहेको थियो । हामी साथीहरु दिनभर रुममा बसेर तास खेलेर दिन बिताउँथ्यौं । रुममा बस्दा बस्दा वाक्क लागेर समूह मिलेर बाहिर घुम्न निस्कन्थ्यौं । घुम्न पनि कति दिन ? चर्को घाम । शरीरमा पसिनाको धारा बगाउँदै कहिले यता त कहिले उता घुमेर दिन बिताउँथ्यौं ।

यसरी पार्कमा घुम्दा घुम्दै एउटा विचार आयो र साथीहरुसँग सल्लाह गरियो । साथीहरुले पनि त्यो कुरा स्वीकारे । त्यो के भने त्यही पार्कमा भएको पाकेको खजुर टिपेर जाँड बनाउने अनि रुममा बसेर खाने । त्यसै अनुरुप हामीले खजुर टिपेर रुममा लग्यौं । त्यसमा चिनी र पाउरोटीमा लगाउने (इष्ट) मिसायौं । त्यसको केही दिनमा नै त्यो जाँड खान तयार भएको थियो । अनि एक दिन हामी सबै मिलेर त्यो जाँड निकालेर खान थाल्यौं ।

ओहो ! यो जाँड यति मिठो कि जिब्रोमा झुण्डियो । गुलियोको त सीमा नै थिएन । मिठो मानेर खाँदा खाँदै धेरै मातिएछ । एक जना बुटवलका गिरी थरका साथी थियो । उसले यति पियो कि पिउँदा पिउँदै बाहिर जानलाई एक दुई पाइला मात्र के सारेको थियो ठाउँको ठाउँ नै पुक्लुक्कै लड्यो । यस्तो जाँड खाने मौकामा त काठमाडौं छेउका (टोखा)का नेवार साथीहरु झन् रमाइ–रमाइ भाग लिँदारहेछन् । गिलासको जाँड उठाएर स्वाट्ट पार्ने अनि एक दुई वटा फाट्टफुट्ट उम्रिएको जुँगामा दायाँ हातले ताउ लाउथे । उनीहरुको जाँड खाने तरिका नै बेग्लै । हामी पूर्वतिरकाले भन्दा स्वाद मानेर खाँदारहेछन् ।

त्यो जाँडको अवसरमा रुमका सबैले खाए । ती चितवनको लेखनाथ ढकाल त अलिकति खाँदा नै मातिहाल्ने खाले परेछन् । विचरालाई हामीबीच बसेर खान निकै सकस परे जस्तो लाग्यो । त्यो दिन ती ढकालजी निकै मातेका थिए ।

त्यही दिन टोखाका साथीहरुले काठमाडौं र त्यस वरपर हुने विवाहका बारेमा बताएका थिए । त्यहाँको विवाहमा बेहुला वा बेहुलीकोतर्फबाट भोज खान बोलाउँदा, मासुका परिकार र अन्य अचार, तरकारी जति नै स्वादिष्ट बनाए पनि महँगा महँगा कम्पनीका रम, ह्विस्कीहरु खुवाए पनि रक्सी (घरमा बनाएको) को जति नै राम्रो स्तर भए पन अन्त्यमा जाँड चाहिं नमिठो भयो भने ‘विहे नै खत्तम गर्यो, फलानाको विहेमा मजा नै आएन’ भनेर कुरा काट्छन् अरे । अर्थात् त्यहाँ केवल जाँडको मात्र महत्व हुँदोरहेछ ।

त्यो दिन त जाँड खाएर दिन बिताइयो । यस्तै दिन अझ कति बिताउनु पर्ने हो । दशैं नजिक आइरहेको थियो । यता घरमा दशैंको बन्दोबस्तीको लागि रुपैयाँको आवश्यकता छ भनेर पत्रमा बारम्बार जनाउ आइरहन्थ्यो । दुई महिनादेखि हातमा सुको पर्न छाडेको थियो । त्यो कुरा घरमा थाहा दिने कुरा भएन । घरमा चिन्ता लिन्छन् भनेर हरेक पत्रमा म सञ्चै छु र सञ्चै साथ काम गरिरहेको छु’ भन्ने शब्दहरु लेखिरहनु पथ्र्यो ।

रुममा दिनभर तास खेलेर दिन काट्न एक दुई दिन हुँदा त ठिकै थियो तर त्यो समय अनिश्चतकालको लागि रुममा बसाइ भएको थियो । त्यसैले लुकिछिपी भए पनि यसो बाहिर गएर काम गर्ने सोच आयो । नभन्दै एक जना नेपाली साथीले साानोतिनो काम ठेक्का लिएर गर्दोरहेछ भन्ने थाहा भएर उसँग कुरा गरेर काम गर्न जाने निश्चय गरियो ।

मसँगै टोखाको एक दुई जना साथी पनि जाने भए । दिनको पचास रियल पाइने भएपछि पैसाको लोभले भए पनि इल्लिगल सरह काम गर्न बाध्य भइयो । ड्युटी जाँदा एउटा ठूलो खबुस र दही पोका पारेर काम गर्न जान थालियो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।