Mero Sabda

रेलको पहिलो यात्रा र बिंडीको अनुभव


(भोगाइ)

– लिलक सिटौला

एसएलसी परीक्षा सकिएको थियो । हामी सबै विद्यार्थीहरु फुक्का भएका थियौं । मानौं कोही बाह्र, कोही एघार, कोही दश बर्षको ठूलो संघर्षपछि मुक्ति पाएको हौं । आआफ्नो तागतको पहिचान गरेर साथीहरु परीक्षापछि घुम्ने सोचमा थिए । किनभने त्यो बेलामा परीक्षा फलको नतिजा आउन मात्र पनि पाँच–सात महिना लाग्थ्यो । हामी सबै बेगारी भएका थियौं परीक्षा सकिएपछि । त्यो समयको सदुपयोग गर्ने उद्देश्यले कोही काठमाडौं, कोही धरान, कोही आफ्ना मावली गाउँ–शहर, अलिकति मालपानी हुने साथीहरु दार्जिलिङ शहर आदि इत्यादि तिर घुम्न बाटो लागेका थिए ।

हामीले एउटा टीम बनाएर सिलिगुढी तर्फ जाने सल्लाह गर्यौं । त्यहाँ गएर राम्रो सिनेमा हेर्ने अनि रञ्जित होटलमा बास बसेर भोलिपल्ट घर फर्किने । त्यो सल्लाह हामीले पूरा गर्यौं । सिनेमाको नाम थियो, ‘दश नम्बरी ।’ हेर्ने सिनेमा हलको नाम थियो, ‘मेघदूत ।’ त्यो सिनेमाहल हामी बस्ने होटल अगाडि नै भएकाले हामीलाई सजिलो भयो । हिरो मनोजकुमार र हिरोइन शायरा बानु । फिल्मको गीत थियो, ‘कि दुनिया एक नम्बरी, हम है दश नम्बरी ।’ त्यो फिल्म रोचक थियो । सीमित बजेटमा हाम्रो काम सम्पन्न भयो । म, विष्णु ढकाल, गणेश काफ्ले, सरोज बुढाथोकी गएका थियौं ।

सिलिगुढीमा सिनेमा हेरेर आएपछि शनिश्चरेमा अरु साथीहरुलाई धाक लगाउन पाइन्थ्यो । अहिले मान्छेहरु कालो चस्मा लगाएर हिंड्छन्, त्यो कालो चस्मा मनोजकुमारले त्यो फिल्ममा लगाएको थियो । वास्तमा धेरै विद्वानहरुले भनेका कुरा सम्झनामा आयो । स्कूलको विद्यार्थी जीवन भनेको स्वर्ण जीवन हो, त्यो त्यसै भनेको होइन रहेछ । कति रमाइलो मात्र । त्यसपछिको यात्रामा को कहाँ, को कहाँ पुग्ने हो । साथीभाइहरुको विछोड, दुःखसुखका गफहरु त्यति मज्जाले गर्न पाइने छैन जस्तो लाग्न थाल्यो । फेरि पनि हामी सबैले परीक्षाको नतिजा त पर्खनै पर्यो ।

सरहरुलाई ‘एसएलसीको रिजल्ट कहिले आउँछ सर’ भन्दा ‘अझै चार महिला लाग्छ’ भन्नु हुन्छ जोशी सरले । चार महिना के गरेर बस्ने ? कहाँ जाने ? मुस्किल जिन्दगी जस्तो । जे जस्तो भए पनि शनिश्चरेमा खेल्न ठाउँहरु र घुम्ने ठाउँहरु थिए । त्यो बेलाको सालबाडी जंगलमा धेरै किसिमका खानेकुरा खोज्दा भेटिन्थ्यो । सालबाडी भविष्यमा केही हुन्छ जस्तो लाग्थ्यो त्यतिखेरै, किनभने त्यतिखेर पनि हाम्रो घुम्ने ठाउँ थियो त्यो ।

अरु स्थानहरुमा दहिझोडा, सिस्ने, जुकेखाडी अनि बजार । यस स्थानमा घुम्न जानुको मतलब भोकै फर्किन पर्दैनथ्यो । जंगलतिर अंगेरी, थाकल, बयर र बजारमा विभिन्न किसिमका परिकारहरु सिंगडा, आलुचप, भक्का, मटर–आलुको सब्जी, सेलरोटी, दहिचिउरा आदि–इत्यादि । पिपल र कटहरका ठूला–ठूला रुखमुनि क्यारेमबोर्ड खेल्नेको भीड नै हुन्थ्यो । त्यो बेलामा हामीहरु दीपकसेन भट्टराई, विष्णु ढकाल, म, सरोज बुढाथोकी, दुखु बंगाली, राम डाँगी आदि साथीहरु क्यारेमबोर्ड खोल्नमा नै ब्यस्त हुन्थ्यौं ।

कति खेल्नु क्यारेम, अल्छि लाग्न थाल्यो । दीपकले भन्यो, ‘भोलि रेल चढ्न जाउँ ।’ उसको कुरालाई मैले र सरोजले समर्थन गर्यौं । भोलिपल्ट पैसाको चाँजोपाँचो गरेर हामी लाग्यौं । किनभने हामी तीनै जनाले रेल चढेका थिएनौं । रेल चढ्न भारतको नक्सलबाडी पुग्नु पथ्र्यो । हामी तिनै भाइ नक्सलबाडी पुग्यौं र टिकट काट्न स्थानमा हात छिराएर नक्सलबाडीदेखि गलगलियासम्मको टिकट काट्यौं । टिकटको जम्मा दाम साठी पैसा भारु लाग्यो । रेल चढ्ने अनुभवका लागि हामी त्यहाँसम्म पुगेका थियौं ।

बीस मिनेट जति पछि सिलिगुढीबाट लोकल रेल बाजा बजाउँदै आयो । हाम्रो सान निक्कै ठूलो भयो किनभने हामी पहिलो पटक चढ्ने रेल निक्कै लामो थियो । टिकट नदेखाइ रेल चढ्न पाइँदैनथ्यो । हामी के कम हामीसँग गाडीघोडाको होइन, रेलको टिकट थियो ।

पहिलो यात्रामा हामी तीन जना थियौं । रेलले रफ्तार लियो । वास्तवमा रेल कुद्यो । एकछिन्पछि सरोजले भन्यो, ‘रेलमा यात्रा गर्दा बिंडी खानु पर्दछ । रेल चढ्ने मान्छेको सान हुन्छ भन्छन् ।’ साथीले भनेको कुरासँग म सहमत भएँ । दीपकले पनि ‘हुन्छ’ भन्यो । बास्तवमा त्यो बेलामा रेलको यात्राको रमाइलो अर्को थियो । रेल ‘अधिकारी’ भन्ने स्थानमा रोकियो केही क्षणको लागि । हामीले बिंडी तान्यौं । मेरो मुखमा पर्ने बित्तिकै कस्तो कस्तो लाग्यो । मैले मिल्काइ दिएँ । दीपक र सरोजले मज्जाले खाए । हामी गलगलिया पुगेको थाहै भएन ।

जे होस्, लत भनेको कुरा गाह्रो हुँदोरहेछ । सरोज बुढाथोकी र दीपकसेन भट्टराईले लत लागेर धेरै बर्ष चुरोटको रस लिए । मैले त्यही बेला बिंडी एक सर्को खाएँ, त्यसपछि धुँवाको अनुभव नै कहिल्यै भएन ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर