Mero Sabda

चुप्पीले पास गराएको एसएलसी


(भोगाइ)

– लिलक सिटौला

हामी सबै साथीहरु कहिले परीक्षाको नतिजा आउँछ भन्दै बसेका थियौं । बजारमा दिनभरि जसो बास हुन्थ्यो । शनिश्चरे बजारमा छत्तीस–सैंतीस सालपछि शान्ति छाएको थियो । नत्र केही न केही भइरहन्थ्यो । भन्नुको मतलब झगडा लफडा आदि इत्यादि । मानौं शनिश्चरेबासीमा चेतना आएको जस्तो ।

शनिश्चरे बजारको बीचमा एउटा कटहरको रुख थियो । कटहर पाकेपछि टिपेर सबै बजारबासीहरुले खान्थे । अरुले पनि पाकेपछि खान्थे । सारै मिठो कटहर थियो । त्यस्तो कटहर अहिले देखेको छैन मैले । त्यो रुखको छायाँमा हामी क्यारेमबोर्ड खेल्थ्यौं । वरिपरि मोची र हजामहरु थिए । बजार निक्कै चिर्किएको थियो । किनभने बजार चलेको थियो । हामी खेलमा ब्यस्त थियौं । त्यो दिन बाह्रघरेबाट मसँगै पढ्ने साथी युवराज शिवाकोटी आएका थिए क्यारेम खेल्न । त्यो खेलमा गोटी सकिएपछि रहेका गोटीको गन्तिबाट खेल हुन्थ्यो । युवाराजको छ हुँदा मेरो बाह्र प्वाइन्ट भएको थियो । जीत निश्चित थियो ।

अचानक एउटा आकाशबाणी भयो– नेपालभरिबाट छैसठी हजारले एसएलसी परीक्षा दिएका थिए अरे, त्यस मध्ये पन्ध्र–सोह्र हजार मात्र पास भए अरे । भन्नुको मतलब हामी सबैको परीक्षाको नतिजा प्रकाशित भयो अरे । त्यो बोलमा परीक्षाफलको नतिजा गोर्खापत्र पत्रिकामा आउँथ्यो । अरु बेला गोर्खा पत्रको त्यति महत्व हुँदैनथ्यो । तर एसएलसीको परीक्षाको नतिजाले त्यो पत्रिका सुपरहिट हुन्थ्यो । दुई रुपैयाँमा पाउने पत्रिकाको मूल्य बढेर बीस रुपैयाँसम्म पनि बिक्री हुन्थ्यो । मानौं ठूलै फिल्म रिलिज भए जस्तो । भीड भएका बेला ब्ल्याकमा टिकट बिक्री भए जस्तो ।

जे भए पनि मैले अनुमान लगाइसकेको थिएँ– म अब पास हुनेवाल छैन । किनभने कसैसँग समर्पण थिएँ । दुई विषय अंग्रेजी र पञ्चायत मेरो कमजोर थियो । अरु कै भरमा परीक्षा दिएको कारण म निश्चित फेल भएँ भन्ने भएको थियो । मेरो दिमाग र शरीरभित्र त्यही कुरा पसेको थियो । फेरि अर्को साल पुनः एसएलसी दिउँला भनेर मनमनै तयारीमा बसेको थिएँ म । देशभरबाट दिएको धेरै परीक्षार्थीहरु मध्ये केही मात्र पास भएको खबर नेपाल रेडियोले दिएको थियो ।

हाम्रो काम क्यारेम खेल्नै नै थियौं । फेल भएको मानसिकता बोकेको मान्छेलाई एक्कासी खबर आयो, मेरा आदरणीय अभिभावक श्री भुवनेश्वर शिवाकोटी दाइले ‘ए लिलक ! तिमी पास भयौ ।’ मेरो खेलै अड्कियो । म आफैं छक्क परें । मैले नपत्याएर सोधें उहाँलाई– ‘म पास भएकै हो त ?’ उहाँले भन्नु भो– ‘तिमी सेकेन्ड डिभिजनमा पास भयौ ।’

म रमाएँ । मेरो कर्म कस्तो हो । तर पनि मैले स्कूल जीवनमा गरेको कर्मले म पास भएँ । मसँग पढेका धेरै साथीहरु फेल भए । के के गरेर हिंडिएका मान्छे पास भएँ । मलाई कलेज पढ्नै थिएन । फेरि वाध्यताबस् पढ्ने वातावरण तयार भयो । म कलेजको खोजी तर्फ लागें । इलाम र भद्रपुर दुबै स्थानमा कहाँ पढ्ने भन्नेमा म दोधार थिएँ । मेरो अर्को मिल्ने साथी मेघराज भट्टराई थियो । ऊ पनि सेकेन्ड डिभिजनमै पास भएको थियो । मैले उसलाई चक्कु देखाएको थिएँ । तपाईहरुले बुझ्नु भो होला । हामी एकै ठाउँमा पढ्ने सल्लाह गरें मैले । तर उसले मानेन । म पढेको कलेजमा ऊ नपढ्ने भो । मैले उसलाई छाडेकै थिइनँ । उसैले मलाई छाडिदियो । खैर केही बात छैन ।

परीक्षाको नतिजापछि मलार्य भरतबाबुले बोलाएर ‘लिलकजी ! तपाई अब मेची क्याम्पसमा अध्ययन गर्नु होला, किनभने आफ्नै जिल्लाको क्याम्पस हो । तपाईलाई धेरै सजिलो र फाइदा हुन्छ भन्नु भयो ।’ मलाई उहाँले भनेको कुरा राम्रो लाग्यो । मेरो मनमा एक किसिमको तरङ्ग पैदा भएको थियो । किनकि मलाई पढ्नु थियो । मेची क्याम्पसमा पढ्दा राजनीतिमा राजनीतिमा अलिक बढी होमिने सम्भावना भएको हुँदा मैले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसलाई रोजें । त्यो रोजाइमा मोहनकृष्ण ढकालको प्रमुख हात रहेको थियो । तर क्याम्पस पढ्न जाँदा नेपाली नागरिकता हुनुपर्दथ्यो । मेरो नागरिकता थिएन । मलाई नागरिकता लिन त्यो बेला पनि चन्द्रगढी नै पुग्नु पथ्र्यो । त्यो पनि गाउँ पञ्चायतको सिफारिसमा ।

सिफारिस लिएर चन्द्रगढी पुगें । मेरी आमाले चिनेका एक जना खरेल थरिका मान्छे त्यहाँ हुनुहुँदोरहेछ । उहाँको सहयोग र आमाको सनाखतले म नेपालको असली नागरिक भएको दिन मलाई धेरै नै गर्व अनुभूति भएको थियो । धेरै कुरा जीतेको जस्तो लागेको थियो । मानौं ठूलै युद्ध जिते जस्तो । त्यो बेलाको हाम्रो नेपालको महङ्गो प्रशासन, अहिले पनि त्यस्तै छ । जनतालाई सुविधा भन्दा धेरै सास्ती थियो र अहिले पनि छ ।

परीक्षाको नतिजा आएको एक महिनाभित्र आफूले चाहेको क्याम्पसमा आआफ्नो प्रमाणपत्रहरु पेश गरिसक्नु पर्दथ्यो । शनिश्चरेमा पास भएका साथीहरुसँग सम्पर्क गर्दा म, प्रदिप तामाङ र मोहन शिवाकोटीको मन मिल्यो । हामी आआफ्नो प्रमाणपत्र लिएर शनिश्चरे, खुदुनावारी, दानाबारी, सोक्तिम हुँदै इलाम पैदल गएका थियौं । किनभने हामीसँग मालपानीको कमी थियो । शनिश्चरेबाट इलामसम्मको पैदलयात्रामा प्राकृतिक रमणीयता अद्भूत थियो । रमाइलो लागेको थियो । हिंडाइ र गलाइले हामीलाई छुन सकेको थिएन । बेलुका गोलाखर्कमा बास बसेका थियौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर