Mero Sabda

 चर्चकी आमा


कथाः 

-ऋषि शान्तिप्रिय

बिराटनगरबाट शुरु भएको पट्यार लाग्दो यात्रा सुनकोशी तरेर पारीपट्टि लिक्चिराम्चेमा पुगेर टुङ्गिएको थियो । खोटाङमा हुदै गरेका विकास निर्माणका कामहरुको अनुगमन तथा मूल्याङ्कनका लागि कार्यालयले हाम्रो टीमलाई खटाएको थियो । टीममा म समेत दुई जना इन्जिनियर, एकजना सुब्बा साब र चालक थियौं ।

लिक्चिराम्चेमा बास बस्ने घर नजिकै एउटा चर्च रहेछ । चर्चको आँगन फराकिलो र सुरक्षित पनि भएकोले घरबेटीले गाडी त्यहीं राख्न सुझाए । गाडी पार्क गरेर बाहिर निस्कदै गर्दा संस्कृत श्लोकहरु भट्याउदै गरेको सानो घण्टीको आवाजसँगै आएको एउटा नारी आवाजले मलाई आकर्षित गर्यो । यो कस्तो चर्च हो जहाँ हिन्दुहरुको जस्तो संस्कृतका मन्त्रहरुले पुजा हुन्छ । त्यो पनि शङ्ख घण्ट बजाएर । छक्क परें । सोचें चर्च र मन्दिरको संयुक्त भवन पो हो कि ? कस्तो सद्भाव आहा !  यो धार्मिक फ्युजन सम्झिएर दङ्ग परें  । नजिकै पानीको धारो धररर… गरेको सुने पछि हात मुख धुन त्यता तिर गएँ । त्यतिबेरमा ड्राइभरले हाम्रो सबै झोलाहरु घर तिर लगिसकेको थियो ।

लिक्चिराम्चेको डाँडामा सर्सर बतास चलिरहेको थियो । तराईको गर्मीबाट त्यहाँ पुगेको मलाई एउटा स्वर्गमा पुगेको अनुभव भयो । सोचें-  “कृष्ण सरलाई आफ्नो पति बनाउन नसके पनि मेरो मनको देउता बनाएकै छु । उनकै प्रेरणा, हौसला र सहयोगले जागिरे पनि भैयो । अनि त स्वर्ग जस्ता देशका कुना कन्दरामा घुम्न पाएको छु ।” यति खेर आफ्नै अन्यायी, पापी पतिलाई पनि धन्यबाद नै दिन मन लग्यो । “यदि उसले मप्रति यति धेरै अन्याय नगरेको भए म घर कुरेरै बस्ने थिएँ । अरु कति वटा छोरा छोरी पाउँदै  – छोराको आशमा । धन्य घर छोडियो, र पो  स्वर्ग जस्तो देशका कुन कन्दरा देख्न पाइयो । देश चिन्न पाइयो !”  अनि मेरो पखेटा लागेपछि जे जस्तो व्यवहार गरे पनि  दुःख गरेर हुर्काई पढाइदिने बाबु आमाप्रति मैले आभारी बन्नै पर्छ । यही शिक्षाले गर्दा त मैले यत्रो उत्पीडनलाई बिद्रोहको माध्यमले सामना गर्न सकें अनि सफता समेत प्राप्त गरें । वास्तवमा म आफू अभागी भएर पनि भाग्यमानी छु । कति धेरै भाग्यमानी भएर पनि अभागी छु ।

“नमस्कार है हजुर ! कहाँबाट पो आउनुभो ? गाडीको घार्रघुर्र त सुन्दैथें तर पूजा गर्न बसेकी थिएँ  । त्यै भएर आउन ढीला भो,” हातमा ब्यट्रीबाट बल्ने लालटिन बोकेर एक जना पैसठ्ठी सत्तरीकी आमा चर्चबाट बाहिरिनुभो ।

मैले नमस्कार फर्काएँ । यस अघिको त्यहाँको वातावरणले त्यसै आकर्षित गरेकै थियो । आमासँग केहि बेर कुराकानी भयो ।  केही बेरमै ड्राइभर मलाई  खोज्दै आएकोले मैले पुनः भेट्ने बाचा बाँधेर आमासँग छुट्टिएँ ।

हामी पाहुना लागेको गाउँको घर त्यति फराकिलो थिएन । खाना खाए पछि सुत्ने ठाउँको ब्यवस्थापनमा समस्या भयो । त्यसमाथि म आइमाई मान्छे थिएँ । अरु सबै केटा मान्छे भएकोले कोठा साझा गर्न सक्थे ।  मैले आमालाई सम्झें । चर्चमा पाहुना सुताउनुपर्ने भयो भनेर तुरुन्त खबर पठाइयो ।  केहिबेरमा आमा आँफै मलाई लिन आउनुभएछ ।  हामी दुवैलाई साँच्चै मातातीर्थ औंशीमा आमा छोरी भेट भए झैं भयो । आमासँग गफ गरेरै रातभरी आँखा झिमिक्क भएनन् ।  जन्मदेखि नै छुट्याइएको छोरीलाई झैं आमाले खुब स्नेह गर्नुभो  । दुवैले आफ्ना अन्तरङ्ग कुराहरु बिसाएर मन हलुका पार्‌यौं ।

“तपाईं शङ्ख, घण्ट बजाएर पूजा गर्नुहुदो रहेछ । यो देख्दा तपाईं क्रिस्चियन त नहुनुपर्ने ! तर  किन र कसरी यो चर्चमा बस्न आउनुभो ?”  मैले आमालाई यसो भन्दा वहाँ मेरो लागि ओछ्यान तयार गरेर तन्ना मिलाउदै  हुनुहुन्थ्यो ।

“म गाँउमै एक्लै भएर बस्नै नसकेर यहाँ शरण लिन आएकी हुँ नानी । गाउँबाट सबै हिंडिसके । कोही मधेश झरे । कोही शहर पसे ।  गाउँ अनकन्टार भयो ।  रातभरी स्याल, फ्याउरा कराउँछन् । जङ्गल बढेको छ । बाली नाली केही लगायो भने पनि बाँदरले, दुम्सीले, मिर्गले पालै पालो उठाउँछन् । सकिएन बस्न त्यहाँ ।”  तन्ना मिलाइसकेर आमा सुस्केरा हाल्दै त्यही विच्छ्यौनामा बस्नुभयो ।

एउटा गाउँ नै रित्तिने गरी बसाइसराइ हिडेको भन्ने कुरा मैले पहिलो पटक सुनेकी थिएँ । लोक सेवा आयोगको तयारी गर्दा कति ठाँउमा बसाइसराइ सम्बन्धी पढेकी थिएँ । तर बसाइसराई, त्यो पनि यति धेरै मात्रामा हुने चै सायद मैले गरेको कल्पना भन्दा बाहिरको थियो । सोधें – “अनि त्यहाँबाट मान्छेहरु के कारणले त्यसरी बसाइ सरेका हुन् त आमा ?”

“आ! नानी त्यो दुःखी ठाउँमा को बस्छ त अब ?  मान्छेहरु काँबाट काँ पुगिसके । उता शहराँ पाइखाना  घर भित्रै हुन्छन् । सफा गर्न मिल्ने । चुलाको छेउमा धारा झर्छ । भुई र भित्ता छुँदा मैलो लाग्ने खालको हुन्छ । चिटिक्क । यहाँ भने पानी लिन २ घण्टाको बाटो झर्, एक गाग्री पानी ल्याउँदा एउटी आइमाई थाकेर लखतरान हुन्छे ।  पानीको दुःखको  ब्यान गरेर पनि के साध्धे छ र ? मुख्य कुरा त तेई हो ।  अनि अर्को कुरा यहाँ बसेपछि  खानुपर्ने पनि बाहिरकै किनेर । बरु किनेरै खानु छ भने, गयो नि जता पाइन्छ सस्तो, तेतै ।” आमाले खाने पानीको दुःखको कुरा गर्दा मैले खानेपानी समस्यामा आधारित कयौं डकुमेन्ट्रीहरुमा देखाइएको दर्दनाक पीडा महशुस गरें । भरखरै हेरेको नेपाली चलचित्र “छ माया छपक्कै” मा उठाइएको खानेपानीको मुद्दा पनि सम्झिएँ ।   होलान् नि त्यहाँ पनि मुहानहरु । सकिन्थ्यो होला नि ल्याउन पानी कुनै तरहले । तर खै त त्यत्रा मान्छेलाई कसैले रोक्न  सकेन । चाहेन । हुन त  विकासको पुर्वाधारको हिसाबले हाम्रो देशमा भएको छरिएको बस्ती एउटा अभिशाप हो । त्यसमाथि भौगोलिक जटिलता, सुख्खाग्रस्त क्षेत्र, पहिरो, यस्ता अभिशाप कति छन् कति ? यिनै कुराहरुलाई एकमुष्ट सम्बोधन गर्न एकीकृत बस्ती विकासको काम गर्न आवश्यक छ । तर के त्यस ठाउँका मान्छेहरु एकीकृत बस्तीमा सारिएका हुन त ? के तिनीहरु  अवसर खोज्दै अन्यत्र जाँदा उनीहरुले सोचेजस्तो  अवसर पाउछन् त ? के तिनीहरु एउटा गरिबीबाट अर्कै प्रकारको गरिबीको दलदलमा फस्दैनन् ?

मकै र कोदो मात्र फल्ने आमाको गाउँको उत्पादनले एउटा परिवारलाई ३ महिना खाना पनि राम्रो पुग्दैन । अनि बाँकी ज्याला मजदुरी वा अन्य कुनै पेशा गर्नैपर्यो । ती पेशाहरुको अवसर गाउँमा छैनन्, अनि सिङ्गो गाउँ नै बसाईं नसरेर के गरोस त ? सम्झेर  आँफैलाई चित्त बुझाएँ । अनि सोचें – आमा चै कसरी एक्लै छुटिन त ?

“सबै मान्छे बसाईं सरे भन्नुहुन्छ, अनि तपाईं चै कसरी छुट्नु भो त आमा ?”

यस पछि भने आमा केही बोल्नुभएन । मलाई कता कता डर लाग्यो । मैले अलि बढी नै संवेदनशील प्रश्न गरें कि ?  उनको विगतको संझनाले आँफैलाई निरीह र विक्षिप्त बनाउँदै लगिरहेको महशुष गरें ।  भनें – “भैगो आमा, बरु अब अरु नै कुरा गरौं । तपाईंलाई आफ्नो विगतमा फर्काएर म अरु दुःखी बनाउन चाहन्न ।  बरु राती पनि भयो । थाकेर आएकी छु । तपाई पनि  थाक्नु भएको होला । आजलाई सुतौं ।”

त्यसपछि भने आमाले कुनै गह्रौं भारी नै बिसाएजस्तो हलुका महशुष गर्नुभो । भन्नुभो “नानीलाई पनि मैले धेरै बेर अल्मल्याएँ, कहाँकी मान्छे ! जागिरले धकेल्दै यो अनकन्टारमा ल्याइपुर्‌यायो । तपाईंले यहाँ आइपुग्छु भनेर चिताउनु भएको थियो कि थिएन ?”

म पनि  मेरै विगतमा फर्कीएछु । मैले पनि मन बिसाउने आमा पाएकी थिएँ । मेरो अन्तरङ्ग खोलिदिएँ ।

हिजो आफ्नै पति र ससुराको अत्याचार सहन नसकेर ससुरालबाट भागेर हिडेकी म । कृष्ण सरको पाहुना हुँदै आज यहाँसम्म आइपुगेकी छु । मेरो राम्रै सरकारी नोकरी छ । अगाडि वृत्ति विकासको फराकिलो मार्ग छ । तर म शुन्यमा हराएकी छु । जता गए पनि एक्लै एक्लै । ससुरालबाट बिद्रोह गरेको कुरा मेरै बाबु आमालाई मन परेको छैन । म आँफै जन्मी हुर्की गरेको त्यो घरको ढोका समेत आज मेरा लागि बन्द छ । म त्यो समाजको अन्धता देखेर हैरान छु ।

सबैबाट टाढिए पनि मेरो कलेज देखिको पहाडिया साथीले मेरो हरेक  सुखदुःखमा साथ दिएको छ । उसलाई मैले आफ्नो बनाउन नसके पनि आफन्त नै लाग्छ । हाम्रो पारिवारिक नाता कायम भएको छ ।  हुन त कृष्ण सर र मेरो सम्बन्ध एउटा मिठासपूर्ण प्रेमबाट शुरु भएको थियो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा झाङ्गिएको त्यो प्रेमको बलियो डोरी कति नाजुक धागो झैं चटक्क चुडियो । त्यो प्रेमिल डुङ्गामा हामीले सहयात्रा गर्न सकेनौं । हामीले पनि के भन्नु, मैले सकिन । उसले त मलाई सँधै आफ्नै ठानिरह्यो ।

दहेजको माग गरेर मेरो दुलाहाले विवाहको मिति एक वर्ष सम्म विवाह टार्दै गरेको बेला विवाह अघि अन्तिम भेट भएको थियो । त्यति बेला म र मेरो बाबु मेरो हुने वालालाई उजुरी हाल्दै थियौं- सि डि ओ समक्ष । दहेजको माग गरी विवाहमा आलटाल गर्यो भनेर । विवाहद्वारा सम्बन्ध कायम गराई पाउँ भनेर । उफ ! अनि उसले मुद्दा शाखामा एउटा सरकारी अधिकारीको हैसियतले भनेको थियो “निर्मला, मुद्दा जितेर तिमीले कस्तो पति प्राप्त गर्छौ ? खै प्रेमको मूल्य ?” अनि बाबुलाई भनेको थियो, “छोडि दिनुहोस उसका पछि लाग्न, निर्मलाका लागि भेटिन्छन अरु पनि ।” म अझै सम्झन्छु – मेरो बाबुको आँखा छलेर मलाई उसले बिन्ति गरेको । म सम्झन्छु – उसको आँखामा प्रेम छचल्किएको । उसले एकान्त पारेर मलाई भनेको थियो “हामी सादी गरौं । मलाई एक पैसा दहेज चाहिदैन । बरु म तिमीलाई भगाउँछु ।”  त्यति बेला मैले बिद्रोह गर्न सकिन । सायद मलाई कृष्णको प्रेमको श्राप लाग्यो होला । मेरा निम्ति प्रेमको भीख माग्दै रोएका उनका आँखाको श्राप लाग्यो होला । तथापि ऊ आँफै भने मलाई श्रापित गर्नै सक्दैन । अझै उस्तै छ म प्रतिको अनुराग । फरक यति हो पत्नीको रुपमा ऊ रुक्मिणीलाई माया गर्छ । मलाई एक साथीको, सहपाठीको रुपमा हेर्छ र सोही अनुसारको व्यवहार गर्छ ।

मैले ससुराल छोडेर भागे पछि म उसलाई नै खोज्दै काठमाण्डु आएकी थिएँ । उसको फोन रुक्मिणीले उठाए पछि म सोधी खोजी गर्दै कृष्ण सरको घर पुगेकी थिएँ । चिनजान पछि मेरो कहानी सुनेकी रुक्मिणीले आफ्नो पतिको कलेज पढ्ने साथीको हैसियतले मलाई सम्मान पुर्वक पाहुनाको रुपमा स्वीकारेकी थिईन् । तीन छोरी सहितकी म रुक्मिणीको पाहुना बनेर त्यो पवित्र घरमा भित्रिएकी थिएँ । उमेरमा रुक्मिणी म भन्दा ठूली हुन् । उनी पनि दुःख गरेर पढे लेखेकी र आफ्नो खुट्टामा उभिएकी मान्छे  रहिछन् । दुःखीको हर दुःखमा साथ दिन जान्ने पवित्र आत्मा रहेछ उनी भित्र । म रुक्मिणीलाई आदरणीय दिदीको रुपमा सम्मान गर्छु । कृष्ण सर मेरो पति नभएपनि मरो लागि आदर्श व्यक्ति  हो । इतिहासमा कृष्णको आधा अंश थिइन् रे राधा !  म त्यसरी आधा त हुन नसकुला, तै पनि मेरो सफलताको पुरै जस कृष्ण सरलाई नै जान्छ ।

कृष्ण सर र रुक्मिणीको घरको पाहुना भएर नै मैले मेरा छोरीहरु हुर्काएँ । अहिले होस्टलमा बसेर पढ्न सक्ने भएका छन् । उनीहरुकै पाहुना भएर नै मैले दुःख सुख विद्यालयमा पढाउदै सरकारी नोकरीमा नाम निकालें । यसमा रुक्मिणीले पुरै काँध थापिदिइन् । कसैले दिदी पाओस त त्यस्तो ! अब त मेरो माइतीघर झैं लाग्छ त्यहाँ । वास्तवमै मेरो माइती भन्ने नै त्यही हो ।

माइतीको कुरा सम्झदा आमालाई सम्झन पुगेछु । मैले मेरो संझनामै सीमित भएपनि आमालाई अलिकति ठाउँ दिएकी छु जस्तो लाग्छ । तर सम्पर्क नभएको धेरै भयो । आजै माता तीर्थ औंसीको दिन रहेछ । तैपनि सम्पर्क नै गर्न चैं मन लागेन । मातातीर्थ भन्ने पनि छोरीहरुले काठमाण्डौंको होस्टेलबाट  ‘ह्यापी मदर्स डे’ भनेर ‘वीस’ गरेपछि सम्झिएकी हुँ । इमान्दार साथ भन्नु पर्दा मलाई मेरै संस्कृतिका कुनै पनि चाडबाड पटक्कै मन पर्दैनन् । यसो भन्न मेरा आफ्नै कथाहरुको चाङ्गले मलाई बाध्य पारेको हो । म घर परिवार र नाता गोता कुल कुटुम्ब सबैसँग बिद्रोह गरेर एक्लिएकी आइमाई हुँ । एक्लिएकी पनि के भन्नु ! एक्ल्याइएको भन्दा हुन्छ । डर लाग्छ – मेरो कारणले छोरीहरु असामाजिक बन्ने त होइनन् । चाडबाडमा सकेसम्म मेरो मनमा भएको भाव अनुहार र व्यवहारमा प्रकट हुन दिन्न ।

मेरा यति धेरै कहानी सुनिसकेपछि आमाले खै किन हो सन्तोषको (?) लामो सुस्केरा हाल्नुभो । भन्नुभो  “नानी, दुःख सुख सबै अनुभवको मात्र कुरा त रहेछ नि !  जसरी तिमीले आफूलाई भाग्यमानी र अभागी दुवै ठहर्यायौ । म पनि आफूलाई दुःखी ठान्थे । तर नानीलाई भेटेपछि मलाई मभित्र दुःख मात्र छैन भन्ने लाग्दैछ । मैले आफ्नो कहानी भन्दै गरेका बेलामा आमाले टिनको मैलो बाक्सामा राखिएका किताबबाट एउटा ध्वासो लागेको फोटो निकाल्नु भो । तिहारमा खिचिएको दाजु बहिनीको फोटो रहेछ । त्यही फोटो देखाउदै आमाले अनुहारमा खुसी  ल्याउँदै भन्नुभो –” नानी यी मेरा छोरा छोरी हुन् । यिनीहरूकै सम्झना मनमा राखेर म एक्लै हुँदा पनि एक्लो महशुस गर्दिन । छोरी अष्ट्रेलियामा छ । गएको पनि पाँच वर्ष भयो । छोरी ज्वाईले त्यहाँ राम्ररी गरी खाएका छन् । कैलेकाँही फोन गर्छे । अर्को ठूलो मोवाइल किन्नु नि भन्दैछे । त्यसमा आमने सामने भएर कुरा गर्न पाइन्छ रे ।”

मैले सोचें । छोरी अष्ट्रेलिया भएको आमालाई के को दुःख र ? कैले उतै हानिने रहिछन् आमै !  छोराको बारेमा मलाई जिज्ञासा भयो ।  सोधें-  “अनि छोरा चै कहाँ हुनुहुन्छ नि ?”

छोरा भने पछि फेरि आमाको अनुहारमा चुक घोप्टियो । आँखाका कुनाकानि रसाए झैं देखिए । जति सक्दो सम्हालिएर भनिन् –

“छोराको त के कुरा गर्नु र ! तीस वर्ष भन्दा बढी भयो, हामीसँग छुटेको । उनीहरुको बाबा बित्दा बहिनीसँग सम्पर्क गरेको थियो रे । ‘मरेको मान्छे अब फर्किदैन । जिन्दगी सबैले आफ्नै लागि बाँच्नु पर्छ । धेरै पीर नगर । त्यस्तै हो’ भनेर सम्झाउथ्यो रे । ऊ आफू भने आएन ।  यो माया भन्ने चिज पनि उधोमात्र बग्ने कस्तो बनाएछन् भगवानले ।  छोरा छोरी हुर्किउनजेल दुःख गर्यो, माया दियो,  बढायो, पठायो । ठूलो भए पछि उनीहरुको माया उनीहरुकै छोराछोरी तिरै सरिहाल्छ कि ?  घर छोडेर हिडे पछि खै कसका संगतमा पर्यो  । ऊ चार पाँच वर्षसम्म त फोन सम्म त गर्दैथ्यो । त्यसपछि त माया नै मार्‌यो । अहिले ऊ कहाँ छ कता छ केही अत्तो पत्तो छैन । उसले घरमा एक्ली आमाको ख्याल गर्न त के एक दिन आफ्नो बोली समेत सुन्ने अवसर दिदैन ।”

आमाले यसो भन्दै गर्दा मैले आफ्नो विगतलाई सम्झिएँ । मलाई पनि सानो हुन्जेल, बिहा नहुन्जेल आमाबाबाले माया त गरेकै थिए । हुर्काए, बढाए, पढाए । पछि मैले मेरो घर परिवारसँग बिद्रोह गरेर हिडेपछि भने उनीहरु पनि मसँग रिसाए ।  मलाई आफ्नै माइती घरमा जान अनुमति छैन । के मेरो हकमा माया उँधो बगेको हो र ? कि यो माया कता कता बग्दैछ ?

आमासँग धेरैबेर पारिवारिक कुराहरु भए । बाबा त्यही गाँउको शिक्षक रहेछन् । हार्ट अट्याकले बितेपछि आमा घरमा एक्लै भएकी रहिछन् । समय बित्दै जाँदा गाउँमै एक्लै परेकाले त्यो ठाउँ नै छोडेर चर्चमा  बस्न आएकी रहिछन् । सोधें – “अनि चर्चमै चै किन आउनु भो त ? तपाई क्रिस्चियन जस्तो त लागेन ?”

“आ! नानी के क्रिस्चियन, के हिन्दु । म यो धर्म र राजनीतिको चैं कुरा खासै बुझ्दिन । मलाई बस्ने ठाँउ चाहिएको थियो । यहाँ डेरा खोजेर बस्न आएको, सबैले डेरा खोज्नु पर्दैन, यहीं चर्चमै बस्नु भने । उनीहरुको चर्च पनि रेखदेख हुने । मलाई बास बस्न पनि हुने । चलेकै छ ।”

“अनि उनीहरुले त्यसरी हिन्दुको जस्तो पूजा आजा नगर भन्दैनन् ? तपाईले चर्चमा बसेर चर्चको नियम बिपरित गर्नु भएको छ  त ?”

“किन नभन्नु नि ! यहाँका साना तिनाले चै रिस गरेर खप्नु  खानु गर्दैनन् । क्रिस्चियन बन भन्छन् । बाइबल पढ रे । बप्तिस्मा हो कि के हो लिनुपर्छ रे । अस्ति एकपटक त मलाई निकाल्न पनि खोजे । फेरि एक दिन काठमाण्डूबाट अलि ठूला पादरी हो कि के हो आएका थिए, उनले गर्दा फेरि मलाई यहाँ बस्न अनुमति दिइयो ।”

मलाई थप जिज्ञासा भयो । पादरीले चै हिन्दु संस्कार अनुसार पूजाआजा गर्नेलाई कसरी चर्चमा बस्न दिए भनेर प्रश्न गरें ।

“नबुझेर भनेका रहेछन् यिनीहरुले । सबैको धर्म आफ्नो आफ्नो हुन्छ । आफ्नो किसिमले आफ्नो रीत गर्न पाउनु पर्छ भनेर पादरीले भने ।  गाउँकाहरुलाई पनि सम्झाए । बरु मैले शनिबार चैं यहाँ  मानिसहरु प्रार्थना गर्न आउनु भन्दा अघि नै पूजाआजा सिध्याउनु पर्ने भनेर शर्त राखेका छन् । शनिबार चै अलि चाँडै गर्छु । भ्याइन भने  यँही  कोठामा हो, चुप लागेर पुजा गरेपनि भयो । उनीहरुले देख्दैनन् । मन मनै त हरिभजन गाएको हो कि बाइबल पढेको हो कसलाई के थाहा ?”

कुराकानी जति गरे पनि सकिएका थिएनन् । बरु आमालाई काठमाण्डू लिएर जान पाए मेरा छोरीहरुलाई पनि  साथी हुने थियो । उनीहरुलाई पनि होस्टल बस्नुपर्ने थिएन । आमालाई पनि एक्लोपन हुने थिएन । आमाकै निमित्त समेत चर्चमा यसरी बस्नु भन्दा त काठमाण्डु जानु नै ठीक हुने थियो । छोरीसँग कुरा गर्न पनि उनलाई सजिलै हुन्थ्यो । तर आजै प्रस्ताब राख्नु भन्दा केही दिनमा विस्तारै उचित वातारण मिलाएर काम गर्नु पर्यो । यही सोचेर केही भनिन ।

करिब पन्ध्र दिन खोटाङ्गका विभिन्न स्थानमा आयोजनाको काम सकियो । फर्कने क्रममा बास बस्न पुनः लिक्चिराम्चे नै आइपुगियो । सोचेकी थिएँ, यसपाली आमालाई सकेसम्म लिएर जानु पर्‌यो ।  तर चर्चमा पुग्दा आमाको अत्तो पत्तो थिएन । सोधी खोजी गर्दा गाउँलेहरुले सात दिन अघि बिहानै रसुवा बजारमा देखिएको कुरा सुनाए । त्यहाँबाट उनी कता गइन्  कसैले भन्न सकेन ।  फोक्सिङ्टार पुग्दा सुनकोशी नदी त्यसै गरी शान्त भएर बगिरहेको थियो । रासुवाघाट देखि फोक्सिङटारसम्म नै मेरा आँखाले आमालाई यता उता खोजिरहे तर पाउन सकेनन् । जीवनमा कुनै बहुमुल्य चिज गुमाए जस्तो खिन्न र रित्तो मन लिएर बिराटनगर फर्किएँ ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर