Mero Sabda

त्यो पैसा


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

वैदेशिक रोजगार । नेपाली युवाहरुको एक मात्र विकल्प । शिक्षित युवायुवतीका सपना युरोप, अमेरिका, अष्ट्रेलिया हुन्छ तर अशिक्षित युवायुवतीका सपना मलेसिया वा खाडीतर्फ आकर्षित हुनु स्वभाविक नै हो । यता आफ्नो देशमा रहँदा रोजगारीको लागि प्रयास शुन्य प्रतिशत हुन्छ । जसोतसो खाडी वा अन्य देशबाट फिर्ता भएका साथीहरुलाई देख्दा आफू पनि यसरी नै आमाबुबालाई आफूसँग रहेको अलिकति घरखेत साहुकोमा बन्धक राख्न लगाएर भए पनि डोरीले बेरेको सुटकेस बोकाएर घर फिर्ने सपना पूरा गर्न चाहन्छन् ।

हुनेहरुले घरखेत बन्धक राख्छन् तर त्यो पनि नहुनेहरुले साहुसँग सयकडा पाँच रुपैयाँमा समेत आफूलाई बन्धक राखेर भए पनि खाडी वा मलेसिया जाने रहर पूरा गरेर छाड्छन् । यता नेपालमा रहँदा त्यही बन्धक राखेको घरखेत पनि खनीखोस्री गर्न जाँगर नचलाउने युवाहरु त्यही घरखेतलाई शहीद बनाउन तम्तयार हुन्छन् ।

नेपाली युवाहरु, जो कम शिक्षित हुन्छन्, उनीहरुले प्रायः खाडी मुलुक या मलेसिया नै लक्षित गर्छन् । किनकि त्यहाँ जानका लागि न त सीपको ज्ञान चाहिन्छ, न त त्यति धेरै शिक्षाको आवश्यकता पर्छ । खाडी मुलुक प्रवेशको लागि म्यानपावरलाई कति रुपैयाँ भेटी चढाउनुपर्ने हो त्यसमा उनीहरुलाई तत्पर रहन्छन् । जसरी होस्, जति खर्च भए पनि एकपटक खाडी मुलुक नपुगी नमर्ने कसम खाएका छन् जस्तो भान हुन्छ । म पनि त्यही युवा मध्येमा नै पर्थें । पहिलो कारण जे होस् तर पनि एकपटक खाडीको अनुभव बटुल्ने अनि आफ्नो परिवारको खुसी बटुलेर ल्याउने ध्येय थियो ।

तर त्यहाँ पुगेपछिको अनुभव त केही पिरो त केही गुलियो अनि बेला–बेलामा अमिलो पनि लाग्न थाल्यो । अमिलो त कति बेला लाग्थ्यो भने जब घरमा पैसाको अभाव भएर फोन वा चिठी आउँदा हुन्थ्यो । अनि पिरो कति बेला लाग्थ्यो भने जब गर्मीले शरीरभरि पसिनाले निथ्रुक्कै भिजिन्थ्यो । शरीर शिथिल भएर मैनझैं पग्लिन लागेको हुन्थ्यो, तब पिरोको आभाष हुन्थ्यो । गर्मीले हद नाघेर चक्कर लागेर लड्नु त त्यहाँ सामान्य घटना हुन्छ । त्यस बेला पानी पिउनुको विकल्प अरु केही हुँदैन । तर पनि हामी झापाली चाहिं गर्मीको राप सहने बानी परेकोले मलाई चाहिं खासै फरक परेन । गर्मीले साह्रै सताएको बेलामा आफूसँग नभए पनि इण्डियन साथीहरुसँग बिडी या सिग्रेट मागेर सानो रुखको पोथ्राको छायाँमा बसेर पिउनुको आनन्द नै बेग्लै हुन्थ्यो । हामी मजदुरहरुलाई त्यही क्षण नै केही गुलियोको अनुभव हुन्थ्यो ।

निरन्तरको परिश्रमको थकाइ पश्चात्को केही समयको विश्राम हाम्रो लागि मूल्यवान् हुन्छ । तर कहिलेकाहिं जति मेहनत गरे पनि घरको आवश्यकता पूरा गर्न नसक्दाको समय बडो उदेकलाग्दो हुन्थ्यो । कहिलेकाहिं यस्तो लाग्थ्यो कि यो समस्या भन्ने जन्तु मेरो अघिअघि दौडिरहेको छ र म त्यो समस्यालाई भेट्नका लागि दौडिरहेको छु । तर जति मेहनती र परिश्रमी थिएँ, त्यसैको जालमा परेर गैह्रकानुनी काम गर्नुपरेको थियो ।

उता घरमा दशैंले ढोका ढक्ढक्याउन थालेको थियो । यता आफ्नो मनमा नरमाइलो छटपटी बढिरहेको थियो । जसोतसो गैह्रकानुनी काम गरेर भए पनि केही रकम भेला गरेर दशैं मनाउने जमर्को गर्नका लागि रकम घरमा पठाइयो । त्यस पश्चात् मन धेरै हलुका भएझैं लाग्यो । समस्याको एउटा ठूलो खाडल फड्को मारेर नागेझैं लाग्यो । जे जसरी होस् दशैंमा आफ्नो सन्तानको आङमा नयाँ नाना र सबैको घरमा पाक्ने गरेको मासु र भात मेरो घरमा पनि पाक्यो होला भनेर एक प्रकारको सन्तोकको श्वास फेर्न पाएँ ।

तर समस्या त्यहाँ गएर मात्र टुङ्गिएन । अझै त्यो भन्दा ठूला समस्याको खाडल आइपर्यो । त्यो खाडल नाघ्न मेरो एकल प्रयासको बुतोले भ्याउने कुरा थिएन । त्यो समस्या देखेर मेरो र हाम्रो कम्पनीका साथीहरुको ओंठतालु सुक्न थाल्यो । कम्पनीका सारा वर्कसहरु कम्पनीको अफिसमा गएर धर्ना बस्ने सल्लाह भयो । एक दिन हामी सबै जना गएर कम्पनीको अफिस अगाडि गएर धर्ना दियौ । दिनभरको टन्टलापुर घाममा धर्ना बस्दाको त्यो क्षण मेरो मस्तिष्कमा अझै ताजै छ । सारा कामदारहरु पसिनाले निथ्रुक्कै भिजेका थिए । कोही पानी ल्याउँदै पिलाउँथे । त्यतिका कामदारलाई पानी ओसारेर पिलाउनु भनेको बालुवामा पानी खन्याए सरह हुन्थ्यो । अन्त्यमा हदै भएर सबै जना पालैपालो गरेर आफै पानी पिउन जान थाले ।

दिनभरको धर्ना पश्चात् अन्दाजी तीन–चार बजेतिर पत्रकार आएर हाम्रो समूहको फोटो खिचेर लगे । कम्पनीको मालिक पनि आएका थिए । कम्पनीको अग्रजहरु मालिकसँग के वार्ता गरे थाहा भएन । अन्त्यमा हामी सबैलाई आ–आफ्नो क्याम्प जाने उर्दी भयो । वार्तामा के भयो हामीलाई थाहा भएन । थाहा हुने कुरा पनि आएन । किनकि कसैले हामी जस्तो सामान्य मजदुरलाई बताइरहने आवश्यकता नै थिएन होला । पछि थाहा भयो हाम्रो छ महिनाको सेलरीमध्येबाट दुई महिनाको सेलरी दिने अरे र अर्को कम्पनीमा जान चाहनेहरुको लागि (रिलिज) पेपर दिने भन्ने निर्णय गरेछन् । हामी के गर्न सक्थ्यौं र ? यहाँ जस्तो नाराजुलुस गर्न नपाइने । मन्त्री र हाकिमहरुको सिफारिस र भनसुन जस्तो कार्य पनि गर्न नपाइने । नेपाल जस्तो देश भएको भए धेरै उपाय हुन्थ्यो होला तर यहाँ सबै कानुनको दायरामा रहेर काम हुँदोरहेछ ।

बाहिरबाट आएका कामदारले केही आपराधिक कार्य गरे ठाउँको ठाउँबाटै जेल चलाउन हुँदोरहेछ । त्यसैले हामी सबै चाबी लगाएको गुडियाझैं उनीहरुले जे भने जसो गरे त्यही अनुसार चल्यौं । यही भागदौडमा मैलै गर्दैआएको गैह्रकानुनी काम पनि छुट्यो । मैले गरेको कामको पैसा पनि पाइएन । त्यो मानिससँग मेरो पाँच सय रियल पाउन थियो । धेरै दिनसम्म उसको क्याम्पको खोजी गरे पश्चात् एक दिन फेला पर्यो र पैसाको कुरा गरेको उसले आनाकानी गर्न थाल्यो । त्यस्तोमा पुलिसकोमा गएर जाहेरी दिन पनि नमिल्ने । त्यो पैसाको निम्ति मैले उसको क्याम्पमा अन्दाजी एक वर्ष धाएँ । तब मात्र मैले मेरो सबै पैसा प्राप्त गरें ।

पैसा जस्तो चिज त्यसै छाड्न नमिल्ने । त्यो पनि हत्केलामा ठेला उठाउँदै डरत्राससँगै काम गरेको पैसा । उसलाई त्यतिकै छाडी दिन पनि सक्थें तर त्यो डरत्रास बाबजुद पनि समस्याबीचमा कमाएको पैसा थियो । त्यसैले त्यो पैसा मेरो लागि खाडीको कष्ट भन्दा प्रिय थियो । त्यही भएर कराएर धम्की दिएर नभइ फकाएर त्यो पैसा लिएर नै छाडे ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर