Mero Sabda

क्याम्पस शुरु गरियो पढ्न


भोगाइ

– लिलक सिटौला

मोहन शिवाकोटीको आफन्तको घरमा खानपिन गरिवरि इलामको चिसोमा मस्त निदाएका थियौं । अहिले मोहन शिवाकोटी साथी हामी बीच हुनुहुन्न । उनी मिलनसार साथी थिए । बिहानको चिसो र स्वच्छ हावापानी अनि कालो चिया खाएर हामी क्याम्पस तर्फ लाग्यौं । गोलाखर्कबाट टुँडिखेल हुँदै माथि सानो उकालो चढेर क्याम्पसहाताभित्र प्रवेश गर्यौं । हाम्रा कागजपत्रहरु नागरिकता प्रमाणपत्र पनि दर्ता गर्ने ठाउँमा बुझाइवरि केही खबर लिएर हामी इलामको चिया बगान हुँदै बजार घुम्न थाल्यौं । बजार अति सुन्दर लाग्यो । हामी मधेशबासीलाई पहाडकी रानी इलाम मन नपर्ने कुरै थिएन ।

क्याम्पसले सूचना निकाल्यो । भन्नुको मतलब क्याम्पसले पन्ध्रदेखि बीस दिनभित्र भर्ना भएका विद्यार्थीहरुको नतिजा निस्कनेछ भन्ने सूचना रहेछ । इलामको मालपुवा र बम्बइसन किनमेल गरिवरि हामी तीनै भाइहरु भोलिपल्ट झापा झर्यौं ।

झापामा मैले फेरि समाजवादी नेता सीके प्रसाईलाई भेट्ने मौका पाएँ । मलाई अलिकति कता हो कता डर लागेको थियो । किनभने उहाँले भद्रपुर क्याम्पसमा अध्ययन गर्ने सल्लाह दिनुभएको थियो । तर भेटमा उहाँले ‘ठीकै छ लिलकजी ! इलामको हावापानी राम्रो छ, त्यहीं पढ्दा पनि केही फरक पर्दैन’ भनेर सान्त्वना दिनुभयो । म ढुक्क भएको थिएँ उहाँप्रति । ‘कहिलेकाहिं मलाई भेट्दै गर्नुहोला’ भन्नु भयो, मैले पनि ‘हुन्छ’ भनिदिएँ र रिक्साचालक पानासँग शनिश्चरेतिर लागें ।

शनिश्चरे बजार र बाहिरका धेरै मिल्ने साथीहरु परीक्षामा छुटेका थिए । वास्तविकता भन्ने हो भने धेरै साथीहरु फेल भएका थिए । पछि पास हुने आशामा मेरो आफ्नो जीवनमा मोज र साधनको कमी त छँदैथियो तर पनि सानै उमेरदेखि दिमागमा केही न केही उपायका सोच आफै आएको हुन्थ्यो ।

अब इलाममा कसको घरमा भाडामा बस्ने ? कसरी व्यवस्था गर्ने ? यस्तै विषयहरु मनमा उठिरहेका थिए तर पनि मेरो हिम्मत भने घटेको थिएन । इलाममा आदरणीय गुरु उमाराज प्रसाईको घरमा मेरो डेरा पक्कापक्की भएको थियो । डेरा खोज्ने दाइ मोहनकृष्ण ढकाल हुनुहुन्थ्यो । त्यो बेलाको जल्दाबल्दा कांग्रेसका नेता हुनुहुन्थ्यो उहाँ । उहाँलाई मेरो सलाम छ । भन्नुको मतलब झापा, पाँचथर, ताप्लेजुङका धेरै साथीहरुको नाम इलाम क्याम्पसको भित्तामा प्रकाशित भएको थियो । त्यसभित्र मेरो पनि नाम थियो । त्यसैले इलाम बसाइ शुरु भयो ।

हाम्रो पालामा इलाम क्याम्पसमा शिक्षा हासिल गर्नेका लागि दुईवटा विषय थिए, एउटा– अर्थशास्त्र, अर्को शिक्षा थियो । अर्थशास्त्र पढ्दा भविष्यमा जता गए पनि हुन्छ भन्थे । शिक्षा पढ्दा चाहिं मास्टर अर्थात् शिक्षक हुनुपर्ने । मलाई शिक्षक हुनु थिएन । त्यसैले मैले अर्थशास्त्र राजेको थिएँ । त्यो बेलाको सोच के थियो भने आईए वा बीए पास गरेर सरकारी जागिर खाने हिसाबबाट हामी अध्ययनमा लागेका थियौं ।

जागिर पाएपछि पैसा आउँछ अनि आफूलाई पाएक पर्ने एउटी राम्री केटी हेरेर बिहे गर्ने अनि घरबाट गर्ने सोचका साथ अध्ययन गर्ने त्यो बेलाको चलन थियो । म सामाजिक दायित्वबाट भाग्न चाहान्थें । किनभने नेविसंघ हुँदै छत्तीस सालको बहुदल पक्षको सहभागिता र नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भइसकेको थिएँ । यी सबै चिजबाट म अलग रहनु नै मेरो भलाइ हुन्छ भन्ने मेरो ठूलो विश्वास थियो । अब पढेर माथि उल्लेखित भनाइसँग सहमति गर्ने मेरो आफ्नै पक्ष थियो ।

अब नौ दिन पछाडि इलामको बहु्मुखी क्याम्पसमा पुग्नु थियो । जाडो ठाउँ भएको हुँदा लुगाफाटाको जोहो गर्नुपर्ने नै थियो । दुःखसुख जोहो भयो । त्यो बेलामा छालाको जुत्ता अलिक महङ्गो थियो । नेपालमा जुत्ता चप्पल कम्पनी थिएनन् । कपडाको सेतो जुत्ता पाइन्थ्यो । धेरै बलियो । त्यह िकपडाको जुत्ता मैले पनि हात पारें । जे जस्तो अवस्था भए पनि खुब रमाइलो हुन्थ्यो जीवन । मज्जा लाग्थ्यो । अनि इलाम जानुभन्दा अगाडि म कल्पना गर्थें, शनिश्चरेको जस्तो जीवन म त्यहाँ बिताउन चाहान्न । अर्को जीवन अर्थात् सादा जीवन । राजनीतिबाट अलिक पर बस्ने मेरो इच्छा थियो ।

पहिलो पल्ट एड्मिसन गर्न साथीभाइसँगै गएको थियौं । पढ्न पाउने गरी नाम निस्किएपछि आफै एक्लै जानुपर्ने वाध्यता भयो । जे होस्, मेरो बासको व्यवस्था भइसकेको थियो । त्यस विषयले म ढु्क्क भएको थिएँ ।

तर मलाई यो कुरा र मेरो सोचको कुराले साथ दिए जस्तो लागेको छैन । जस्तै, म ताक्छु मुडो, मुडो ताक्छ घुँडो । जीवन र जगतको अर्थ एउटै हुन्छ । तर अरबौं मानिसहरुको त्यो भन्दा ठूलो महत्वाकांक्षा हुन्छ । म ेरोा यो पृथ्वीमा वेदमाया सिटौलाको कोखबाट हुर्किएको मान्छेको इच्छा हुँदैन भन्ने कुरा गलत सावित भएको थियो । मेरो पनि अर्थात् संसारभरिका मानिसहरुको आआफ्नो इच्छा हुन्छ । त्यो घडी सत्य पनि हो । त्यसकारण यो पृथ्वीमा कसैले कसैको अबमूल्यांकन नगरे हुन्छ । मान्छे भोलि के हुन्छ, के हुँदैन । बस काम खतम ।

सबै काम र जीवनको सिलसिलाको वाध्यतालाई पन्छाएर म इलाम पढ्न पुगें सैंतीस सालतिर । कलेज जानुभन्दा पहिले डेरा नै ठूलो थियो, र हुन्छ पनि । म गोलबस्ती अर्थात् गोलाखर्क पुगेर आदरणीय उमाराम प्रसाईको घरमा डेरा सुनिश्चित गरें र मस्त सुतें । भोलिपल्ट इलामको सुन्दर क्याम्पसमा पुगें । नयाँ पुराना साथीभाइसँगको भेटघाटले सुमधुर सम्बन्ध गाँसेका थियौं । धेरै मज्जा आयो इलामको चिया र मालपुवाको स्वाद । क्याम्पस छढ्ने बेलामा भट्टराई बाजेको मालपुवा र चिया खाएर हामी माथि रहेको क्याम्पस तर्फ लाग्दथ्यौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर