Mero Sabda

त्यो झापागिरी नियम


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

त्यसपछि हामी सबै जना क्याम्पभित्र नै बस्यौं । दिनभरि रुमभित्र तास खेल्दै बिताउन थाल्यौं । पहिला जस्तो बाहिर काम गर्न पनि जान छाडियो । छ दिन, दिनभर रुममा बस्यो अनि शुक्रबारका दिन बिसमिल्लामा गएर दिनभर घुम्यो अनि साँझमा थाकेको शरीर लिएर रुममा आयो । त्यस पश्चात् फेरि त्यही नरिवलको धुलो हालेको सब्जीका साथ यत्रा–यत्रा चामलको भात खायो, ओछ्यानमा पल्टियो । यसरी नै दुई–तीन महिना बिताइयो ।

एक दिन हामीलाई कम्पनीको अफिसमा बोलायो । हामी नेपाली साथीहरु सबै गयौं । त्यहाँ गएर अफिस रुममा केही बेरको प्रतिक्षा पश्चात् दुई–तीन जना इन्डियनहरुले प्रवेश गरे । केहीबेरमा मात्र वास्तविक कुरा थाहा भयो कि उनीहरु अर्को कम्पनीबाट हामी मध्ये केहीलाई मात्र रिलिजमा लिन आएका रहेछन् । कम्पनीको नाम टाइसर रहेछ । जसको काम धेरै प्रकारको रहेछ । जस्तै टाइसर सर्भिस, टाइसर एयरकन्डिसन, टाइसर पेट्रोल पम्प यस्तै धेरै प्रकारको काम गर्दोरहेछ । त्यसमा हामीलाई टाइसर सर्भिसको लागि लाने कुरा चलेको रहेछ ।

केही बेरसम्म सेलरीको बार्गेनिङ भयो । यो कम्पनीमा हाम्रो सेलरी सात सय रियल थियो । त्यसमा उनीहरुले छ सय मात्र दिने कुरा गर्न थाले । त्यो प्रस्ताव हामीले मान्ने कुरै भएन । ‘सेलरी घटाएर अर्को कम्पनीमा जानु भन्दा बरु हामी घर जान तयार छौंं’ भन्दै हामी ढिट कसेर बस्यौं । केहीबेरको रस्साकस्सी पश्चात् उनीहरुले सात रियल नै दिने सर्तमा हामीलाई रिलिज लिने भए । हामी धेरै हर्षित भएर एकअर्काको अनुहारमा हेर्न थाल्यौं । हामी क्याम्पमा आएर बसेको बेला एक–दुई जना साथीहरुले ‘टाइसर कम्पनी धेरै राम्रो छ । तिनीहरुले दिने सुविधा पनि धेरै छ । त्यति ठूलो कम्पनीमा पर्नु भएछ । तपाईंहरु धेरै भाग्यमानी हुनुहुँदो रहेछ’ भनेर फुक्र्याए । त्यो कुरा सुनेर हामी पनि धेरै खुशी भयौं ।

अब चाहिं बल्ल हाम्रो भाग्य बदलिने भयो भनेर आफैंले आफैलाई सान्त्वना दिन लाग्यौं । जीवनसंघर्षको लिगलिगे दौडमा केही सहज परिस्थितिको मोड आएको आभाष हुन थाल्यो । अब चाहिं जीवन जिउन केही सहज हुन्छ कि ? उता घरमा पनि खर्चका निम्ति केही सहज हुनेरहेछ भनेर मन केही खुसी भएर आउन थाल्यो । केही दिन पश्चात् हाम्रो कम्पनीले एनओसी पेपर दिएपछि हामी पन्ध्र–बीस जना साथीहरु अर्को कम्पनीमा गयौं । म दोहा प्रवेश गरेको अन्दाजी अठार महिना पश्चात् पुनः नयाँ दिनबाट गन्ति गर्ने बाध्यता दोहोरियो ।

अठार महिनाअघि आउँदा आफ्नो टाउको माथिबाट प्लेन उडेको देख्दा तेइस महिना पच्चीस दिन बाँकी रह्यो भनेर घर फिर्ने दिन गनेको हिजो जस्तै लागेको थियो । तर अब फेरि अठार महिना बितिसक्दा पनि बाध्यताले गर्दा पुनः तेइस महिना उन्तिस दिन गन्न शुरु गर्ने दिनको पुनरागमन भयो । अब फेरि दुई वर्ष बिताए पश्चात् मात्र आफ्नो घरआँगन टेक्न पाइने भयो भनेर त्यस रातभर छट्पटिमा बित्यो । विछोडको बिर्सिसकेको पीडा फेरि एकपटक बल्झिएर आयो । डेढ वर्ष हिंडिसकेको गोरेटो फेरि एक पटक दोहोर्याउनु पर्यो ।

तर भन्छन् नि आगोले पोलेको घाउ आगोमा नै सेकाउनुपर्छ । त्यस्तै म पनि विछोडमा छट्पटिएको एक परदेशी आज जस्तै अरु साथीहरुको साथ पाए पश्चात् पीर त बिसेक हुने नै भइहाल्यो । मसँगै काठमाडौंंका नेवार साथीहरुमध्ये छ जना र अरु पुराना गोरखाका बाबुराम नेपाली, चितवनका लेकनाथ ढकाललगायत अन्य साथीहरुसँगै आउँदा केही राहतको महसुस गरियो ।

नयाँ कम्पनी टाइसरमा काम सजिलै थियो । केही पेट्रोल पम्प त केही कारवासमा काम गर्न थालियो । त्यहाँ मानिसहरुको आवतजावत धेरै हुने रहेछ । काम गर्दा दिन बितेको पत्तै हुन्थेन । त्यहाँ काम गर्दा प्राय बक्सिस रियल पनि पाइन्थ्यो । त्यो बक्सिस कुनै दिन सय रियलसम्म हुन्थ्यो त कहिलेकाहिं हात लाग्यो शुन्य हुन्थ्यो ।

यता रुममा साथीहरु ड्युटी जाँदा सिफ्ट अनुसार जान्थे । जस्तै केही साथी बिहानको सात बजेबाट ड्युटी जान्थे त कोही बाह्र बजे जान्थे । सात बजे जाने साथीहरु बाह्र बजे फिर्ता आउँथे त बाह्र बजे जाने साथीहरु रातको आठ बजे फर्कन्थे । मेरो ड्युटी दिनको तीन बजेबाट शुरु भएर रातको एघार बजे मात्र छुट्टी हुन्थ्यो । त्यस्तोमा ड्युटीबाट फर्केका साथीहरु खाना खाएर रुममा बत्ती निभाएर टीभी हेर्थे, नत्र सुत्दथे । हामी त्यहाँ जानु भन्दा पहिला बिहानदेखि बेलुकासम्म नै अँध्यारो हुन्थ्यो । त्यसो होइन कि रुममा चहलपहल हुन्थेन । त्यहाँ अँध्यारो भए पनि चहलपहल हुन्थ्यो तर विना उज्यालो । तर जब त्यो रुममा हाम्रो प्रवेश भयो मैले नयाँ नियम बनाएँ । त्यो के भने ड्युटी जति बजे जाओस् र जति बजे फिर्ता होस्, त्योसँग केही मतलब भएन । बिहान सात बजेबाट बत्ती बाल्ने । ड्युटीबाट फर्केर आए पश्चात् सुत्न मन लाग्ने सुत्ने । टीभी हेर्न मन गर्नेले टीभी हेर्ने । सुत्नलाई असर भए बजार घुम्न जाने । तर बत्ती बन्द नगर्ने । अनि रातको बाह्र बजे पश्चात् मात्र बत्ती निभाउने । टीभी हेरे पनि त्यसको आवाज बन्द गर्ने । यो नियम चाहिं म एउटा झापालीले लगाएको थिएँ । साथीहरु त्यो नियमलाई अरुचीका साथ आत्मसात गर्न थाले । र अन्त्यसम्म यो नियम चल्यो । यो चाहिं म झापालीको झापागिरी नियम बन्यो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर