Mero Sabda

कथाः गृहस्थी


– ऋषि शान्तिप्रिय

त्यस दिन पाली माताबाट जन्मिएकी तरुनी स्त्री शिकारको खोजीमा निक्कै तल पुगेकी थिई । त्यो ठाउँ माता बस्ने चेप्टे ढुङ्गाको ओडारबाट  केही अदेखमा थियो । त्यो जमानामा कुनै पनि मानव पुरूष वा महिलाको नाम राख्ने चलन थिएन ।  (यस कथामा सहज बुझाईको लागि उक्त तरुनी स्त्रीलाई तस्त्रीको रुपमा वर्णन गरिनेछ ।)

चरा, मुसा, माछा, भ्यागुत्ता, खरायो, बाख्रा, कालिज, कुखुरा, बँदेल जस्ता सानातिना जनावरहरुको शिकार एक्लै दोक्लैले गर्न सकिन्थ्यो । अर्ना, दुम्सी, गुना बाँदर आदिलाई भने सामुहिक रुपमा छेका मारेर तथा ढुङ्गाको हतियार प्रयोग गरेर मारिन्थ्यो । सामुहिक रुपमा गरिएका शिकारहरु प्रायः बाँडेर खाने गरिन्थ्यो । त्यसमा बलियाको अलि धेरै भाग त छदै थियो । शिकारमा रुचि राख्ने सामाजिक व्यवस्था भए पनि तस्त्री भने जङ्गली फलफुलमा रुची राख्थी । जङ्गलमा पाकेका केरा, चिउरी, कटहर, बडहर, जामुन जस्ता फलफुलहरु उसका मिष्ठान्न भोजनहरु थिए । धेरै फलफुलमै रुची राख्ने भएर हो कि किन हो, तस्त्री  हुनुपर्ने भन्दा ज्यादै आकर्षक थिई । त्यो बेला उसको उमेर पन्ध्र सोह्र वर्ष पुगेको हुदो हो । उसका ठूला र काला आँखा, बाटुलो तथा उच्च नाक, हरिणको जस्तो चाल, सिमलकाडाँ जस्ता चुच्चा र गोल गोल स्तन र कोकिल कण्ठी स्वर र त्यो स्वर निसकदा फरफराउने गुलवी ओठ देखेर जो सुकै पुरुषहरु मोहित भैहाल्थे । तस्त्रीको जवानी फक्रिए पश्चात उसलाई पुरुषहरुको बक्र दृष्टिबाट बचाउन पाली माताले त्यस क्षेत्रका महिला तथा पुरुषहरुले आफ्नो आङ्ग ढाक्नुपर्ने नियम राखकी थिइन् । तैपनि भोर्लाको कटिबन्धन र बक्षबन्धनले उसको जवानी छोप्न सकेको थिएन । तस्त्रीलाई देखेर कति पुरुषहरु र्‌याल काढ्न थाल्थे भने ती पुरुषहरुमध्ये कतिले उसलाई आफ्नो बाहुपासमा भएको सम्झेरै आफ्नो विर्य खुस्काइसक्थे । यति हुँदा पनि तस्त्रीले भने कुनै पुरुषलाई आफ्नो नजिक ढिम्किन दिएकी थिइन । यसमा पाली माताको ढाडसले समेत काम गरेको थियो ।

चेप्टे ढुङ्गा मुनीको ओडारमा पाली माताको बासस्थान थियो । त्यस ओडारभित्र आठ दश जना मानिसहरु अटाउने ठाउँ थियो । पाली माता भन्ट्याङ भुन्टुङ सन्तानहरुका साथमा बस्थिन् । पाली माताको ईशारा पाए पश्चात मात्र त्यहाँ समूहका पुरुष सदस्यहरुको आगमन हुन्थ्यो । कैले काँही पालो गरेर त कहिले एकै दिनमा तीन चार जना पनि पालीको दर्शनका खातिर आउने गर्थे । यसमा पालीको पहिलो आमन्त्रण पाउने पुरुष भाग्यमानी ठहरिन्थ्यो । ऊ आफ्नो काम सकेपछि जान्थ्यो । कहिलेकाँही कुनै दोस्रोले पनि कर गर्थ्यो फकाउथ्यो- पालीलाई । अनि उसले त्यसै दिन अवसर पाउथ्यो । काँचो शिकार, जनावरहरुका फिला, माछा आदिको कोशेली लिएर आउनेले पालीलाई सहजै खुसी पार्न सक्थे ।

जब सन्तानहरु पाँच छ वर्ष पुग्थे उनीहरु बाहिरै खेल्न थाल्थे । सुत्ने बेलामा कहिले काँही आमाको न्यास्रो लाग्दा मात्र एक छिन गुफाभित्र घुस्रिन आइपुग्थे । जति जति उनीहरु हुर्कदै जान्थे त्यति त्यति उनीहरु गुफाबाट टाढिन थाल्थे । पुरुष सन्तानका लागि कुनै समस्या थिएन । कुनै ठूलो रुखको फेदमा, झाडीमा जताततै आफ्नो बासस्थान बनाउन सक्थे । तर स्त्री जातीका सन्तानहरु वयस्क हुँदै गए पछि आफूलाई सुरक्षित राख्न उपयुक्त गुफाको खोजीमा निस्कनै पर्थ्यो । त्यो समय गुफाका मालिकहरु स्त्रीहरु मात्रै हुन्थे । तिनै गुफामा स्त्रीको दर्शनको लागि समवयस्क वा बूढा पुरुषहरु धाउन थालिहाल्थे । यसरी चलेको थियो आदिम सृष्टि । आफूकहाँ धाउने पुरुषहरुलाई सन्तुलित रुपमा राख्नु, कसैलाई नबिझाउनु र सकेसम्म रिझाउनुमा नै स्त्रीहरु सुरक्षित ठहरिन्थे । यदि कुनै पुरुषले स्त्रीभोग गर्ने प्रयत्न गर्दा केहि गरी पाएन भने ऊ कुनै पनि बेला राक्षस बन्न सक्थ्यो  । त्यस्तो अवस्थामा त्यही स्त्रीका कृपा पात्रहरुले त्यो स्त्रीलाई बचाउने गर्दथे ।

आगोको प्रयोग टाढा टाढा कतै कतै गर्न थालिसकेको थियो मान्छेले । एक दिन पाली माताकहाँ आउने बूढो पुरुषले त्यो कुरा पालीलाई बताएको थियो । त्यो कुरा पालीलाई दन्ते कथा जस्तै लागेको थियो त्यतिबेला । बूढो पुरुष आँफैले देखेको र आगोमा पोलेर माछा खाएको भनेर तिलस्मी कथा सुनाउदै थियो । त्यो सुन्दा केटाकेटीहरु तरङ्गित भैरहेका थिए । कोही भने ‘कस्तो हुँदो हो है, त्यो माछा खाँदा  !’  भनेर मुख मिठ्याउथे । पालीले भने पत्याउनै सकेकी थिइन ।

सुकेका पात पतिङ्गरहरु बटुलेर गुफालाई ओभानो बनाइएको थियो । गुफा भित्र हुने सबै खाले क्रियाकलापहरु गर्न त्यहाँ सुरक्षित हुन्थ्यो । जस्तो कि पुरूषहरुसँगको सम्भोग, बाल बच्चाहरुको लागि नरम बिस्तरा र आफ्नो लागि पनि विश्राम । गुफा भित्र निकै सुख सयल थियो । अन्य साना तिना ओडारहरु र केटाहरुको बासस्थानको तुलनामा पाली माताको गुफा दरबार झैं थियो । गुफा भित्र वयस्कहरुको लागि दिशा पिसाब बर्जित थियो । तर केटा केटीहरुले सुइँक्याइहाल्थे । बिशेष गरी हिउँदयाममा गुफा अलि सिकसिक लाग्दो हुन्थ्यो । तथापि पालीलाई खुसी राख्न त्यहाँ धाउने पुरुषहरुले सोत्तरको व्यवस्था मिलाइरहन्थे करीब हप्ता दिनमा पुरानो झिकेर नयाँ सोत्तर हालिन्थ्यो । सोत्तर पुरानो हुदै जाँदा गुफाको गन्ध पनि बढ्दै जान्थ्यो ।

पाली माताले त्यस गुफा क्षेत्रमा एउटा नयाँ चलन चलाएको थियो । त्यो के भने – वयस्क रौं उम्रिएका जुन सुकै पुरुष होस वा स्त्री,  उसले पात, रुखका बोक्रा वा जे उपयुक्त चिज भेटिन्छ त्यस वस्तुद्वारा आफ्नो कटी भाग अनिवार्य रुपमा छोप्नुपर्ने हुन्थ्यो । त्यस क्षेत्रमा पाइने उपयुक्त त्यस्तो वस्तुमा ठूला रुखका बोक्रा, बाँसको पट्याँस, चिउरी, साल वा भोर्लाको पात आदि थिए । स्त्रीहरु भने भोर्लाको सुकेका पातको आकर्षक जामा तुनेर लगाउँथे । उनीहरुले आफ्नो स्तन समेत भोर्लाको पेटासीले ढाकेका हुन्थे । उता घुमन्ते पुरुषहरुले दिन दिनै नयाँ नयाँ आविस्कार गरिरहन्थे । केहि दिन अघि मात्र एउटा बूढो पुरुषले भोर्लाको लहराद्वारा आकर्षक लगौटी बुनेर लगाएको थियो । उसले त्यो वर्षौ सम्म खप्ने र न्यानो हुने भनी गफ लगाएको थियो । बूढो पुरुषको लगौटी देखेर त्यस गुफा क्षेत्रका स्त्री तथा पुरुषहरु आश्चार्यचकित भएका थिए ।

सन्तानहरुले आफ्नो आमा स्पष्ट चिन्थे तर कुनै पनि बाबुहरुको कसैलाई मतलब थिएन । त्यति बेलाको सामाजिक परम्परामा बाबु पनि हुन्छ वा बाबु कसैको पहिचानको लागि आवश्यक छ भन्ने विषय कल्पना भन्दा बाहिरको कुरा थियो । बाबु नचिने पछि बूढा बाबुहरुले कति पटक आफ्नै बिर्यद्वारा जन्माएकी छोरीसँग सम्भोग गर्थे । त्यो स्वभाविक थियो ।  सायद त्यतिबेला बाबु भन्ने शब्द नै बनेको थिएन वा त्यसको अर्थ थिएन ।

एकातिर तस्त्रीको जवानी विस्फोट हुन लागेको थियो भने अर्को तिर त्यो समुदायका पुरुषहरुको धैर्यताको विस्फोट हुन लागेको थियो । र त्यस दिन तस्त्रीलाई समूहका चारजना पुरुषहरुले केराको घारीमा केरा खाँदै गरेको देखे । अब के चाहियो र ? पाली माताको आँखाको अदेखमा तस्त्रीलाई पाएर पुरुषहरुले तस्त्रीलाई यौनाह्वान गर्न थाले ।  तर तस्त्रीले मान्ने कुरै भएन । बरु उसले एक अचम्मको प्रस्ताव राखिदिई – उनीहरुको बीचमा ।  जसले गर्दा ती पुरुषहरु एक आपसमा लड्न थाले । उसले भनी, “म तिमीहरुमध्ये एक जनासँग मात्र अनि जीवनभर नै सम्भोग गर्नेछु । तर त्यो व्यक्ति सबैभन्दा शक्तिशाली हुनुपर्ने छ ।”  यस्तो अवसर कसैले गुमाउन चाहदैन थिए । उनीहरु लड्न थाले । एक अर्कामा प्रहार गर्दै गए । ती पुरुषहरु यति धेरै बेर लडे कि अब तिनीहरुसँग थप लड्ने शक्ति पनि बाँकी रहेन ।

चारै जना रगताम्य भएर मुर्छित भई ढलेका बेला पाँचौ पुरुषको प्रवेश भयो । अचम्म ! उसले  निक्कै आकर्षक जुटको लगौटी लगाएको थियो । गोरो अग्लो र आकर्षक  जिउडाल भएको युवकलाई तस्त्रीले कहिल्यै देखेकी थिइन । तस्त्री हेरेकी हेर्यै भई । त्यो युवक पनि तस्त्रीलाई मुग्ध भएर हेर्न थाल्यो । दुवैका आँखा चार भए दुवैजना एक अर्कालाई देखेर सम्मोहित भए । तस्त्रीलाई त्यो समाजको परम्परा अनुरुप तुरुन्त नवयुवकसँग सम्भोग गर्ने ईच्छा जाग्यो ।

त्यो युवक कौशिक क्षेत्रबाट उच्च पहाडी क्षेत्रमा भु अध्ययनका लागि आएको रहेछ । धेरै भूभाग घुम्यो भने धेरै कुरा सिकिन्छ, जानिन्छ भन्ने उसको मत रहेछ । तस्त्रीले पनि केहीबेर अघि भएको सम्पूर्ण घटना युवकलाई बताई । युवकले तस्त्रीको प्रस्ताब सुन्यो । यसमा उसले ढाडस दिदै भन्यो – “सम्भोग वास्तबमै  जीवनमा एक जनासँग मात्र गर्नुपर्छ । यसो भएमा मात्र स्त्रीहरु पनि सुरक्षित हुन्छन् । कोद्वारा सन्तान जन्मियो भन्ने थाहा भए पछि मात्र सन्तानका बाबुहरुलाई जिम्मेवार बनाउन सकिन्छ । त्यसैले तिम्रो शर्त मलाई स्वीकार्य छ ।”

नवयुवकको नवीन कुरा सम्पूर्ण रुपमा तस्त्रीले बुझ्न सकिन । एक जनालाई मात्र सम्भोग गर्न दिंदा बाँकी पुरूषहरुबाट कसरी सुरक्षित हुने भन्ने उसको मथिङ्गलले सोच्न सकेन । भनी, “त्यसो गर्दा त बाँकी पुरुषहरुले  स्त्रीलाई कोपरेर मारिहाल्छन् नि, झन कसरी सुरक्षित हुन्छ त ?”

तस्त्रीको अवोध प्रश्न सुनेर नवयुवक मुस्कुरायो र भन्यो,  “संसारमा पुरुष र महिलाहरु करीब करीब बराबर छन् । एक पुरुषले एक महिलासँग मात्र संभोग गर्ने हो भने सबैलाई भाग पनि पुग्छ । झैझगडा र मारामार पनि हुँदैन । बलियाहरुदेखि कमजोर सबै पुरुष र स्त्रीहरुले आफू अनुकुल सुरक्षित सम्भोग गर्न पाउँछन् ।”

यति भन्दै गर्दा ती मुर्छित पुरूषहरु पनि बिउझिएँ । आफ्ना घाउँहरु सुम्सुम्याउदै तिनीहरु उठे ।  तिनीहरु भन्दा नवयुवक हट्टाकट्टा र खाइलाग्दो भएकोले तिनीहरुले लड्ने हिम्मत गर्न सकेनन् । नवयुवकले चामत्कारिक रुपमा ती सबैलाई सम्झायो । वास्तवमा आजको तस्त्रीको त्यो प्रस्ताव, समुहका पुरुषहरुको झगडा र गैर समुहको नवयुवकले प्रस्ताव गरेको नयाँ तिलस्मी नियमप्रति ती पाँचै जना एक मत भए ।  सल्लाह अनुरुप उनीहरु पाली माताको ओडारमा गएर त्यस्तो तिलस्मी नियमको बारेमा सल्लाह गर्ने र समाजमा नयाँ नियम बनाउने कुरामा सहमत भए ।

मध्यान्हको चर्को घाममा उनीहरु पाली माताको कुटीमा पुगे । नवयुवकले एक पुरुष र एक महिला बीच मात्र सीमित रहने संभोगको प्रस्ताव सुनायो । उक्त प्रस्तावमा छलफल भयो । धेरै स्त्रीहरुलाई फकाउन सक्ने क्षमता भएका तथा धेरैसँग सम्बन्ध राख्न बानी परेका केही पुरुषहरुले यसको विरोध गरे । बाँकीले यो त ठिकै कुरा हो भनेर स्वीकारे । पाली माताले कडा स्वरमा विरोधीहरुलाई हकारिन् । पाली मातासँगको सहचार्यको लोभ तथा उनको डरले पनि तिनीहरु बिस्तारै पछि हट्दै गए । अन्त्यमा ती बूढा पुरुषहरु जो पाली मातासँग निरन्तर सम्बन्ध राख्थे उनीहरुको हकमा लागु नहुने र नयाँ पुस्ताको हकमा मात्र लागु हुने गरी उक्त प्रस्ताव पारित भयो ।  नवयुवक र तस्त्रीले संयुक्त रुपमा आफूहरु एक पुरष र एक स्त्रीको रुपमा परस्पर संभोग गर्ने, अन्य कसैसँग त्यस्तो सम्बन्ध नराख्ने घोषणा र सार्वजनिक प्रतिवद्धता व्यक्त गरे । तस्त्रीको सामिप्यताले गर्दा कौशिक क्षेत्रबाट घुम्न आएको त्यो नवयुवक त्यही समुदायमा विलिन भयो ।  त्यसपछि विस्तारै एक पुरष र एक स्त्रीबिच सीमित हुने संभोगको चलन शुरु भयो ।

समाजमा नयाँ चलन शुरु हुँदा हरेक एक जोडी पुरुष र महिलाका लागि एक एक छुट्टै गुफा चाहिने स्थीति सिर्जना भएकोले अर्को समस्या देखा पर्यो । गुफाको लागि एक जोडी र अर्को जोडीको वीचमा झगडा पर्न थाल्यो । जोडी जोडी वीचमा शिकार क्षेत्रमा झगडा शुरु भयो । पहिलाका ठूलो समाज अब छिन्न भिन्न भयो । अब मानब जाति पुरै व्यक्ति व्यक्तिको स्वायत्ततामा रमाउन पुग्यो । अति भए पछि पाली माता र पाली मातासँग सँधैजसो सम्बन्ध राख्ने बूढापुरुषहरुले सल्लाह गरे । हालसम्म भएका प्राकृतिक रुपका गुफाले मात्र नपुग्ने भएकाले आफू-आफूले नै आफ्ना लागि बाँस, काठका मुढा, ढुङ्गा आदिको प्रयोग गरेर आफ्नो गुफा आँफै बनाउनु पर्ने भनी नियम जारी गरे । आफ्नो शिकारलाई आँफैले संरक्षण गर्ने भनी नियम बनाए । सोझा र निर्धा जंगली पशुहरुलाई पालन गरेर उनीहरुबाट सन्तान बढाई आफ्नो लागि आँफै उत्पादन गरेर खानुपर्ने नियमहरु बनाए ।  त्यो क्षेत्रका सबै युगल जोडीलाई बोलाएर सोही अनुरुप गर्न अह्राए । मिठो मसिनो खान मन लाग्नेले जंगलबाट फलफुल लगायत जे खान योग्य बिरुवा पाइन्छ आँफैले रोपेर फलाउनुपर्ने नियम पनि बनाए । यस पछि विस्तारै कृषि परमपरामा मानिस अघि बढ्यो । जसको जग एक महिला र एक पुरुष वीचमा मात्र संभोग गर्ने परम्पराको सुत्रपात थियो । यसरी संभोगाधिकार र प्रत्येक संभोगाधिकार राख्ने जोडीको लागि गृहस्थीको सुत्रपात भएको थियो ।

त्यसपछि संभोगको लागि आफ्नो जोडी चुन्दा समय क्रममा विभिन्न पद्धतिहरु विकास भए ।  बाबु वा आमाले आफूले ठीक सम्झेको बर समक्ष आफ्नी छोरीलाई संभोगको अधिकार दिने,  बर र कन्याको आपसी मन पराईमा संभोगाधिकार रहने, कन्यापक्षलाई जितेर कन्यालाई बलात सम्भोग गर्ने र संभोगाधिकार कायम गर्ने, कन्यालाई लट्ठ्याएर बेहोस बनाए संभोग स्थापित गर्ने र जीवनभर उसैसँग संभोगाधिकार स्थापित गराउने जस्ता राम्रा, नराम्रा वा विक्रित सम्मका संभोगाधिकार स्थापित गराउने चलनहरु चल्न थाले ।  भारत वर्षमा चलेका यी प्रचलनहरुलाई हेरेर समाजका अग्रज विद्वानहरुले आठ प्रकारका संभोगाधिकारको प्रतिपादन गरेर उनीहरुले यसलाई ‘विवाह’ भनिनुपर्ने प्रस्ताव राखे र यसरी सम्भोगाधिकार स्थापित गराउँदा औपचारिक रुपमा ‘हामी दुवै मिलेर अन्न जुटाउँला, मिलेर भोजनको व्यवस्था गरौंला, दुवै मिलेर स्वास्थ्यका समस्या समाधान गरौला, मिलेर धनार्जन गरौला र खर्च गरौला, एकआपसमा सुख संचार गरौंला, हामी दुवै मिलेर परिवारको पालन गरौला, सरसल्लाह गरेर सन्तान जन्माउँला र हेरविचार गरौला, हामी दुवै जना आफ्नो जीवन भरी एकापसमा मित्र बनेर रहौंला’ जस्ता सार्वजनिक घोषणा गरी संभोगाधिकार कायम गर्नुपर्ने प्रस्ताव गरे ।

तिनै अग्रज विद्वानहरुले पहिलो पटक औपचारिक रुपमा संभोगाधिकार घोषणा गरी नयाँ सामाजिक परम्परा बसाउने नवयुवक र तस्त्रीलाई आफ्ना पुर्वज आदि पुरष र आदि माता भएको घोषणा गरे । उनीहरुको काल्पनिक नाम भाषा र संस्कृति अनुरुप फरक फरक राखियो । यसरी स्त्रीहरु पुरुषबाट सुरक्षित हुने परिकल्पना गरियो । सहकार्य, सहअस्तित्व र सहयात्राको परिकल्पना गरियो । वास्तवमै पुरुष र स्त्रीहरु मानव जातिका अभिन्न अंगहरु हुन् र रहनेछन्  भनेर यी नियमहरु प्रतिपादन गरिए ।

यसरी एक महिला र एक पुरुषमा सीमित हुने संभोगाधिकारका कारण मान्छेको पारिवारिक जीवन शुरु भयो भने यसैको कारणले मान्छे विस्तारै कृषि युगमा प्रवेश गर्यो ।

  • इटहरी, २०७८/०६/११ सोमबार

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर