Mero Sabda

बक्सिस


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

बाफ रे बाफ ! गाडीको ताँती । जीवनमा कहिल्यै नदेखेको चिल्ला–चिल्ला गाडीहरु । ल्याण्डक्रुजर, बीएमडब्लु, मर्सडीज, प्राडो यस्ता धेरै नामी कम्पनीका गाडी । कामको सुरुवात्मा त्यस्तो गाडी देखेर धेरैबेर सुमसुम्याएको पनि छु । कुनै गाडी जमीनमा नै सुतेझैं प्रकारका स्पोर्टस् कार । अनि आफ्नै असली स्वरुपमा रहेर आकाश चुम्न खोज्ने र आफ्नै असली स्वरुपलाई कृत्रिम स्वरुप दिएर आकाश चुम्न खोज्ने प्रकारका गाडीहरु देख्दा केही दिनसम्म त आश्चर्यका खाडलमा डुब्न पुगें । कारवासमा आएर आफ्नो असली रंगमा चम्किदा हामी आफ्नो प्रतिविम्व देख्थ्यौं । अरु त अरु जब त्यो गाडी बाहिर घाममा राखेको अवस्थामा हेरियो भने त आँखा तिर्मिराउँथ्यो । हामी आफ्नो कम्पनीको बीचमा उभिएर हेर्दा आफूलाई गाडीहरुको जंगलबीचमा उभिएको आभाष हुन्थ्यो ।

सरर गाडी आएर हाम्रो छेउ रोकिन्थ्यो, अनि हामी उनीहरुको गाडीको ढोकाको छेउमा उभिन्थ्यौं । भित्रबाट सेतो चोंगा कुर्कुच्चासम्म लगाएको, शिरमा पनि सेतै कपडा बेरेको अनि शिरको उच्च भागमा कालो डोरीको घेरा भएको रिङ्ग जस्तो चिज लगाएको अरबी निस्कन्थे । अनि शिष्टाचारा दर्शाउँदै ‘सलाम वालेकुमा’ भनेर हात उठाउँथ्यो । अनि उनीहरुले पनि ‘वालेकुम सलाम ! के फालाक ?’ भनेर प्रतिप्रश्न गर्थे । अनि त्यसको जवाफमा ‘अलहमदुल्ला जेन’ भनेर जवाफ फर्काइन्थ्यो । यदि उ अलिक दयालु भए गाडीको साँचोको झुप्पाका साथै दश–बीस रियाल हातमा थमाएर ‘सुकुल मियाँ मियाँ है’ भनेर अर्को गाडी चढेर जान्थ्यो । अनि त्यसको प्रतिउत्तरमा हामीले पनि ‘इन्साअल्लाह’ भन्दै गमक्क परेर हाँस्थ्यौं ।

त्यस समय कतारी एक रियालको नेरु बीस रुपैयाँ हुन्थ्यो । त्यही हिसाबले दिनभरमा कसैलाई ‘सलाम वालेकुम’ भन्दैमा पचास–साठी रियाल बक्सिस पाइन्छ भने किन पछि हट्नु । दिनमा पचास–साठी रियाल भनेको नेरु एक हजार रुपैयाँ हुन्थ्यो । आफ्नो सेलरी बाहेक दिनमा त्यति कमाउनु भनेको मनग्गे नै ठानिन्थ्यो । तर दैनिक जसो त्यति बक्सिस पाइने पनि थिएन । कुनै दिन त बोहनी पनि हुन्थेन । त्यही बक्सिस कमाउनका लागि कति खुराफाति तरिका अपनाउनुपथ्र्यो । आफूसँग काम गर्ने बंगाली, श्रीलंकन, इन्डियनहरुसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । गाडीभित्र बाहिर गर्नका लागि एउटा श्रीलंकन ड्राइभर थियो । त्यसले प्राय गरेर बक्सिस दिने गाडीहरु आफ्नै श्रीलंकन भए ठाउँमा मात्र लगाउने प्रयास गथ्र्यो ।

तर जसको भाग्यमा जति छ, त्यति त अवश्य नै प्राप्त भइहाल्छ । कसैको भाग्यको भाग कसैले पनि खोस्न सक्दैन । त्यही कारण कुनै अपत्यारिलो बक्सिस नदिने प्रकारका मानिसले पनि दश–बीस दिएर जान्थे । त्यस्तोमा ती श्रीलंकन र बंगालीहरु हेरेको हेर्यै हुन्थे । उनीहरु जति खुराफाति गरे पनि अन्त्यमा आरिसले जल्थे । शुरु–शुरुमा काम गर्न धेरै मजा आयो । यता गाउँमा हुँदा शनिश्चरेबाट बिर्तामोड जाने गाडीमा चढ्दा खिया लागेको फलामले घोच्दा टिटानसको सुई लगाउनुपर्ने अवस्थाबाट अचानक त्यस्ता चिल्ला चिल्ला गाडीहरु देख्न पाउँदा र त्यसलाई सुमसुम्याउँदाको मज्जा नै बेग्लै हुन्थ्यो ।

एकनास काम गरिरहेको बेलामा फोरमेन आएर ‘यल्ला सुरा सुरख, जल्दि करो’ भनेर कराउँदा धेरै रिस उठेर आउँथ्यो । त्यो बेला मलाई आफैलाई हिनभावनाको आभाष हुन्थ्यो । अनि त्यो प्रति नहेरी मनमनै गाली दिन्थें । तिनीहरुले त्यसरी काम गरिरहेको अवस्थामा पनि किन कराउँछन् ? भनेर बुझ्नै सक्दिन थिएँ । सायद त्यहाँ आउने अरबी महिलाको अगाडि आफूलाई प्रभावशाली देखाउनका लागि हो कि ?

त्यो कम्पनीमा ड्युटी गएकै पहिलो दिनमा एक जना चारआली दुहागढीका राजवंशी थरका भाइलाई भेटें । ऊ त्यो कम्पनीमा आएको एक वर्ष पुगिसकेको रहेछ । हरिश राजवंशी नाम गरेका त्यो भाइ साहै्र मिलनसार रहेछ । त्यो ठाउँमा उ मात्र एक जना नेपाली रहेछ । तर उसलाई बँगाली भाषा पूरै आउने भएर त्यति नहेप्ने रहेछन् । त्यस पश्चात् अर्को नेपाली म भएँ । म पनि बँगाली र हिन्दीमा राम्रो दखल दिने भएर मलाई पनि त्यती हेप्न सकेको थिएनन् । तर श्रीलंकनले चाहिं उनीहरुको भाषामा केही गाली दिन्थे । शुरु–शुरुमा उनीहरुको भाषा बुझ्न धेरै कठिन पथ्र्यो तर बिस्तारै उनीहरुले बोलेको एक दुई शब्द बुझ्न थाल्यौं अनि बल्ल हेपाइमा केही कमी आउन थाल्यो । हामी पनि उनीहरुले जस्तै ‘आमायरो हुत्तो’ ‘पोडा माइरे’ भन्ने गाली उनीहरुलाई प्रहार गर्न थाल्यौं ।

कारवासमा दिनभर पानीका काम गरे पनि गाडीको इन्जिनको तातोले गर्दा असह्य गर्मीको अनुभूति हुन्थ्यो । त्यहाँको पानी त्यसै तातो, त्यसमा झन् स्टिमवास गर्दा चलाइने मेसिनले झन् गर्मीले हद नाघ्थ्यो । विवशताले गर्दा आफूलाई अवस्था अनुसार ढाल्न बाध्य हुनुपथ्र्यो । त्यस्तो अवस्थामा पानी प्रचुर मात्रामा पिउनुपथ्र्यो । बक्सिसमा पैसाले पसलबाट मोहीको पाकेट (जो कागजको गिलासमा हुन्थ्यो) ल्याएर छेउमा रहेको कुलरबाट बोतलमा पानी भरेर त्यही मोही मिसाएर सबैजना पालैपालो पिउँथ्यौं । यदि त्यति पनि दिइएन भने वेहोस भएर लडिन्थ्यो । त्यसैले जति सक्दो पानी पिउनुपर्छ । त्यहाँ पानी नै जीवन हो भन्ने उक्ति उपयुक्त लाग्छ ।

त्यो कम्पनीको ड्यिुटी एक प्रकारको रमाइलो प्रकारको लाग्न थालेको थियो । विभिन्न प्रकारका गाडीभित्र विभिन्न देशका नागरिकहरुको बाक्लै आवत्जावत् भइरहन्थ्यो । त्यहाँ एकलास समय भन्ने कुरै थिएन । फिलिपिन्सका नागरिक आए ‘कमस्तका पारे ?’ भन्यो । श्रीलंकन आए ‘कोमोदो मैच्याङ ?’ भन्यो । गोरा आए ‘हाउ आर यू ?’ भन्यो । तर त्यति भन्नुको तात्पर्य चाहिं बक्सिसको नै लक्ष्य हुन्थ्यो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर