Mero Sabda

कथाभित्रको कथा


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

वैदेशिक रोजगारीका लागि परदेशिएको म जस्तो मानिसका लागि आफ्नो घरगाँउको मानिस मात्र होइन आफ्नो छिमेकी गाउँको मानिस भेट्दा पनि ठूलै सहारा पाएझैं लाग्छ । त्यसमा त झन् नजिकै दुहागढी, जो चारआलीदेखि केही दक्षिणतर्फ, गाउँका मानिस । त्यो पनि एउटै कम्पनीमा । फेरि एकै साथमा काम गर्न पाउँदा आफ्नो साख्खे जस्तो लाग्ने रहेछ । शुरुशुरुमा काम गर्दासँगै एकै साथ गर्यौं । नजानेका काम सिकाउँथ्यो । यो कम्पनीको गाडीको इञ्जिनमा पानी हाल्न हुँदैन । त्यो कम्पनीको गाडीको यस्तो हुन्छ । काम सिक्न धेरै गाह्रो हुँदोरहेछ । त्यही पनि इञ्जिनको काम । काम गर्दैगर्दा कहिले तार सट हुन्थ्यो । त्यस्तोमा उसैले मेकानिक बोलाएर बनाउन लगाइ दिन्थे र बल्ल ढुक्कको सास फेरिन्थ्यो ।

राजवंशी थरको साथी । नाम हरिश राजवंशी । दुब्लो पातलो । केही कालो वर्णको । सँगै काम गर्ने सिलसिलामा उसले आफ्नो सारा वृतान्त सुनाएको थियो । ऊ क्याम्पस पढ्दै गरेको एउटा ठिटो । क्याम्पस पढ्दापढ्दै बाउन्न सालबाट देशमा सल्किएको जनआन्दोलनमा सरिक हुने मौका पाएको रहेछ । भनौं कम्युनिष्ट पृष्ठभूमिबाट माओवादीमा आफ्नो दिलोज्यान दिएर होमिएको एक अन्धो गोरुझैं हरदिन मालिकको आदेश मानेर मुठभेडमा सरिक भएको रहेछ ।

उसले सुनाएको कथा मध्ये एकपटकको घटना मेरो मस्तिष्कमा अझै ताजै छ । त्यो कथा सुनेर मानिसहरु कति इमान्दार र भेडा सरह हुनेरहेछ भन्ने मलाई ज्ञान भयो । कुरा के भएछ भने एक दिन घैलाडुब्बाको बैंक लुट्ने योजना पार्टी हाइकमान्डबाट जानकारी आएछ । अनि त्यही बेला उनीहरुको गोप्य मिटिङ बसेछन् । उनीहरुको कमाण्डरले बैंकमा लुट्नेहरुको नाम तोकेर समूह बनाइ दिएछन् । त्यस बेला बैंक लुट्नेहरुमा जसको नाम आयो उनीहरु हर्षले नारा लगाउन थालेछन् । तर त्यो काण्डमा जसको नाम आएन उनीहरु निराश भएर रुन थालेछन् । यति रुए अरे कि बुबाआमाको अगाडि आफ्नो जिद्दी पोखाउन जस्तो व्यवहार गर्छन् तिनीहरु पनि त्यस्तै अवस्था भएको थियो अरे ।

नाम नआउने समूहमा ती हरिश पनि परेछ । उसले त्यो कुरा मेरो सामु चित्त दुखाउँदै सुनाएको थियो । त्यो समय यस्तो अवस्था आएको थियो अरे कि उनीहरु बैंक लुट्न गएको नभएर देशको सीमानामा दुश्मनसँग लड्न गएकोझैं भान भएको थियो अरे । आफ्नो जोशजाँगर सारा सेलाएर आएको थियो भनेर निराश आवाजमा बोलेको सुन्दा पार्टी प्रति उनीहरुको कात्रो त्याग थियो भन्ने आभाष पाइन्छ ।

अनि मैले उसलाई सोधें, ‘अनि त्यो बैंकबाट लुटिएको पैसा तिमीहरुले पनि पाउँथ्यौ ? कति कति पाउँथ्यौ ?’ त्यो प्रश्नमा उसले आक्रोशित शब्दमा जवाफ दियो, ‘त्यस्तो कहाँ हुन्छ र । त्यो पैसाको त हामीले पाइपाई हिसाब बुझाउनु पथ्र्यो । हाम्रो हातमा एक रुपैयाँ पनि लाग्थेन । त्यो सबै पार्टीको लागि संकलन हुन्थ्यो । हामी त केवल तल्लो दर्जाको कार्यकर्ता मात्र थियौं । तर हामी भन्दा माथिल्लो दर्जाको कमाण्डरले चाहिं त्यो रकम के गथ्र्यो हामीलाई थाहा हुने कुरै भएन । त्यो समय एउटा जोश थियो । उनीहरुको भाषणा सुनेर देशका नाममा त्यही नै बलिदान दिउँ झैं लाग्थ्यो । शरीरमा तातो रगत उम्लिएर आउँथ्यो । रात भनिएन । पानीझरी भनिएन । खोलानाला भनिएन । ठूला–ठूला जँघार तर्न पनि किञ्चित हिच्किचाइएन । अहिले जस्तो लाग्छ, कमाण्डरले हाम्रो काँधमा धाप मारेर बलिदानको लागि सदा तत्पर रहनु, यो देशलाई तिमीहरु जस्तो युवाहरुको आवश्यकता छ भनेर हामीलाई सागरबाट सगर पुर्याएका थिए । हामी पनि उहाँहरुको भाषण र स्यावासीको प्रभावमा परेर घरमा रहनुभएका वृद्धवृद्धा आमाबुबाले अह्राएको नमानी दिनरात नभनी हतियार झोलामा बोकेर दौडिरह्यौं । गाउँका युवा साथीहरु भन्दा पृथक देखिने ध्याउन्नमा धेरै साथी पछाडि छोडिए । साथीहरु मलाई देखेर कानेखुशी गर्थे ।

हुन पनि माओवादीको ट्याग लागेको म जस्तो युवाबाट गाउँका साधारण युवा र प्रौढहरु डराउँथे । धेरै जसो बोल्न डराउँथे । तर कोही कोही चाहिं हामी भए ठाउँमा आएर आफ्नो उपस्थितिको देखावटी गर्थे । हामीसँग नजिकिन खोज्थे । तर त्यस्ताहरु नगन्य मात्रामा हुन्थे । धेरै जसो गाउँकाहरु डराउँथे । तर मलाई जनसेनाको रुपमा कतै पनि भिडन्तमा लगेनन् । किन होला ? म त्यस्तो असक्षम छु जस्तो लागेको छैन । हुष्टपुष्ट छु । तन्दुरुस्त छु । तर पनि देशभर कतै पनि मुठभेडको सौभाग्य मिलेन । सायद पार्टीका निर्णय यस्तै थियो होला । कहिलेकाहिं अन्य जिल्लामा सानोतिनो कार्वाहीको लागि पठाउँथे । त्यही क्रममा अन्ठाउन्न सालमा नेपाली सेनाले मलाई गिरफ्तार गर्यो । मलाई त्यही छेउमा रहेको सेनाको ब्यारेकमा लगे । त्यहाँ पुर्याएर केही दिनसम्म आर्मीले मेरो राम्रोसँग सत्कार गरे ।

पाइतलाका छाला पटपट फुटेको थियो । शरीरभर निलडामले रङ्गिएको थियो । छाला पनि फुटेको थियो । केही दिन भोकभोकै राखे । कति दिन प्यासै रहें । बिस्तारै बिस्तारै सत्कारमा केही कमी हुन थाल्यो । अब त बाँचिन्छ कि जस्तो लाग्यो । आर्मी क्याम्प छेउमा नै मेरो घर छ । तर घरका कसैलाई पनि मसँग साक्षात्कार गराएनन् । पहिला सत्कार धेरै हुँदा त मेरो चिहान यतै हुने भएछ भन्ने सोच्थे । तर समय सँगै उनीहरुले फकाउने गर्थे । कमाण्डरको नाम ठेगाना सोध्थे । मलाई धेरै फकाए । तर मेरो मुखबाट केही शब्द फुस्केन । अन्त्यमा मलाई आर्मीका ठूला मान्छेले ‘तेरो अझै उमेर छ । यस्तो आतंकवादी भएर किन हिँड्नु । बरु विदेश जानु’ भनेर सम्झाए मलाई छोडिदिए ।

छुटे पश्चात् म घरमा पुगेर पार्टीका कमाण्डरलाई पनि नभेटी हेटौंडा दाजु भए ठाउँमा पुगें । अनी केही महिना दाजुसँगै बसें र विदेश जाने तर्खरमा लागें ।’

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर