Mero Sabda

माल्दिदी


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

हाम्रो क्याम्पमा हामी चार जना समूह मिलेर खाना पकाएर खाने निर्णय गर्यौं । त्यसमा एक जनाले दश दिन पकाउने । दश दिनसम्म बिहान–बेलुका खाना पकाए पश्चात् तीन दिनसम्म आराम हुन्थ्यो । खाना पकाउनमा नवलपरासीको गोकुल भन्ने साथी एकदमै अल्छी थियो । बिहान सात बजे ड्युटी जान्थ्यो । दिनको एघार बजे आधा ड्युटी सकेर फिथ्र्यौं.। त्यस पश्चात् हतार–हतार खाना पकाउँथ्यौं । दाल खासै नपाकेको । दोकानबाट चिकन ससेज ल्याएर हतार–हतार पकाएर आफू मात्र खाएर बेडमा आएर सुतिहाल्ने ।

अर्को साथी थियो चितवनको लेखनाथ ढकाल । उसको पालीमा चाहिं खाना निकै स्वादिष्ट हुन्थ्यो । उसले धेरै मेहनत लगाएर पकाउँथ्यो । दाल मज्जाले पाकेको हुन्थ्यो । तरकारी पनि स्वादिलो हुन्थ्यो । अनि अर्को साथी थियो गोरखाको बाबुराम नेपाली । उसको र मेरो पालामा चाहिं सामान्य नै हुन्थ्यो । त्यति स्वादिलो पनि होइन । तर त्यति खराब पनि होइन ।

मेरो खाना पकाउने पालो आउँदा चाहिं रातको एघार बजे ड्युटीबाट फिरे पश्चात् नुहाइधुवाइ गरेर पकाएको खाना खाएर बाह्र–एक बजे राति सडकपारिको सुपरमार्केटमा गएर सब्जी किन्ने गथ्र्यौं । कहिले चिकेनको डल्लो ल्याएर रुममा राख्यो । किनकि बिहान त्यो चिकन काट्न सजिलो होस् । बिहान नौ बजे ओछ्यानबाट ब्युँझियो । नित्यकर्म समाप्ति पश्चात् त्यही चिकन लिएर किचन पस्यो ।

हाम्रो किचनमा हामी नेपाली र श्रीलंकनहरुको खाना पकाउने व्यवस्था थियो । खाना बनाउने समयमा श्रीलंकनहरु हल्ला धेरै गर्ने । कोही कोही श्रीलंकन यस्ता पनि थिए कि आफ्नो चुल्हामा ग्याँस सकिएको अवस्थामा अन्य जो सुकैको चुल्हामा पनि पकाइदिन्थे । उनीहरुको दिमागले चतुर अनि चोर प्रकारका हुन्थे । एक दिन खाना खाइसकेर खाना पकाउने डेक्ची र कराइ सफा गरेर हाम्रै चुल्हा माथि राखेका थियौं । दिउँसोतिर किचनमा आएर हेर्दा त चुल्हामा आगो दन्किरहेको थियो । चुल्हामाथि राखेको डेक्ची र कराइ पग्लिएर प्वाल परिसकेको थियो । हतार हतार आगो निभाएर भाँडा बाहिर मिल्काइदियौं । कसले यस्तो गर्यो कसैले मुख खोलेन । सबै जना तैं चुप मै चुप ।

हामी नेपालीहरु प्रायः सिगरेट पिउने कोही थिएन । तर श्रीलंकनहरु धेरै जसोले पिउँथे । अन्त्यमा हामीले निष्कर्ष निकाल्यौं कि कुनै श्रीलंकनले चुरोट सल्काएर त्यतिकै छाडिदिएको हुनसक्छ । त्यसको एक–दुई दिन पश्चात् थाहा लाग्यो कि एक जना कुमार भन्ने श्रीलंकनले सिगरेट सल्काएर त्यतिकै छाडेछ र हाम्रो भाँडाको अवस्था त्यस्तो भएछ । अब बितिसकेको घटना । त्यति पनि नाथे सिल्भरको भाँडाको कुरा । हामीले केही भनेनौ । अन्त्यमा आफ्नो थैली दह्रो बाँध्ने अनि अरुलाई चोरको आरोप नलगाउने निर्णय गर्यौं र ग्याँसको ट्याङकीमा ताला लगाउने व्यवस्था गर्यौं । त्यसपछिका दिनहरुमा अरु त्यस्तो कुनै घटना दोहोरिएन ।

नयाँ कम्पनीमा रिलिज लिएर काम गर्न शुरु गरे यता हातमा रियलको गर्मीको स्पर्ष हुन थालेको थियो । निरन्तर मासिक पाउने तलब अनि ज्यूहजुरी गरेर भए पनि प्राप्त गरेको बक्सिसले गर्दा आफू घुम्ने रहर पनि बढेर आउन थालेको थियो । पहिला कलेटी ओठ पारेर बजार घुम्ने म त्यहाँ रहेको नेपालीको पसलमा गएर मःम पनि खान थालेको थिएँ । कहिले रहरैमा भए पनि एक रुपैयाँको ढक्की हालेर निस्कने पेप्सीको मेसिनबाट पेप्सी निकालेर खान थालिएको थियो । सबै कुरा रुपैयाँ नै रहेछ । रुपैयाँ हातमा आए पश्चात् रहरहरुको दायरा पनि बढ्दै जाँदोरहेछ ।

त्यसरी बजार आउने जाने क्रममा साथीहरुको मुखबाट ‘उ त्यो दोकानमा एक जना इलामको केटी काम गर्छ’ भन्ने सुनियो । ‘ठिकै छ त । यो परदेशमा एउटी नेपाली चेली आएकी रहिछे । यसो बोलचाल त गरौं । आफू झापाली ऊ त झन् इलामकी’ भनेर त्यो पसलमा प्रवेश गरे । धेरै बेर प्रतिक्षा गर्नु परेन । ऊ केहीबेरमा नै सामुन्ने आएर सोध्न थाली, ‘भाइ के चाहियो ?’ म आश्चर्य परे । मान्छे सानी, उमेर त्यति नखाएकी । त्यहाँ प्रवेश गर्ने प्राय नेपाली साथीहरुलाई उसले भाइ नै भनेर सम्बोधन गर्दै थिई । कुनै कुशल पसलेझैं उसको अनुहारमा र ओंठमा मुस्कान थिएन । मानौं ऊ बाध्य भएर पसलमा काम गरिरहेकी छ । मैले त सोचेको थिएँ कि परदेशमा एक महिला आफ्नो देशको दाजुभाइ देख्दा केही हर्षित हुन्छे होला । मन खोलेर परिचय गर्ला । अरु त के अपेक्षा गर्नु र आमने सामने हुँदा सञ्चो विसञ्चो कस्तो छ ? भनेर सम्बोधन त गर्दा हुन्छ ।

तर त्यस्तो कहाँ हुँदोरहेछ ? उसको अनुसारको भाव बुझ्दा उ एक कुशल व्यापारीझैं देखिन्थ्यो । गम्भीर मुद्रामा हरेक नेपाली युवकलाई भाइ भनेर सम्बोधन गरिरहेको थियो । त्यसमा म झन् के कम थिएँ र मैले पनि तुरुन्त उसको नाम जुराइ दिएँ ‘माल्दिदी’ ।

त्यो नाम सुनेर त्यो पसलमा भएका सबै नेपाली साथीहरु गलल हाँसेका थिए ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर