Mero Sabda

तै चुप मै चुप


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

समयले फड्को मार्दै गर्दा परिवर्तन त अवश्य नै हुन्छ । आम्दानीको बृद्धीसँगै मेरो मनमा सूसुप्त अवस्थामा रहेका आकांक्षाहरु क्रमरुपले बाहिर प्रकट हुनथालेको थियो । शुक्रबार त्यति बजार गइँदैन थियो । तर अन्य दिन नै बजार जान्थ्यौं । मेरो ड्युटी दिनको तीन बजेबाट थियो । त्यसैले बिहान उठेर आफ्नो नित्यकर्म सकेर विशेष काम पर्दा प्रायः बजार लागिन्थ्यो । अन्य दिन चाहिं बजारमा त्यति भीडभाड हुन्थेन । तर शुक्रबार चाहिं धेरै भीडभाड हुने, त्यसैले शुक्रबार चाहिं बाध्यता भए मात्र बजार गइन्थ्यो ।

नेपाली युवाहरु बजारमा छ्यापछ्याप्ती भेट हुन्थ्यो । त्यस्तो गर्मीको समयमा पनि लेदरको ज्याकेट, जिन्सको पाइन्ट र यामानको जुत्ता लगाएर बजार घुमिरहेको हुन्थे । ट्याक्सी चढेर ओहोरदोहोर गर्दा बङलादेशी, भारतीय र पाकिस्तानी ड्राइभरहरुले खिल्ली उडाउँथे । उनीहरुले हामीलाई भन्थे, “हेर त तिमी नेपालीहरु पाँच–छ सय रियाल सेलरी थाप्छन् तर जुत्ता सात–आठ सयको लगाउँछ । झन् गर्मीमा कसलाई देखाउन लेदरको ज्याकेट लगाएको होला । तिमीहरु नेपालीले खर्च गर्न चाहिं सक्ने हो’ भनेर कटाक्ष हान्थे । त्यो शब्द सुनेर हामी चुप लाग्न बाहेक अरु के नै पो गर्न सक्थ्यौं र । हाम्रै नेपाली दाजुभाइहरुको व्यवहार त्यस्तै भएपछि ।

समय बित्दै जाँदा त्यो मरुभूमिमा मृगतृष्णको खोजीमा नेपाली महिलाहरुको आगमन बढिरहेको थियो । त्यो वैदेशिक रोजगारीको आकर्षणले हो या आफूलाई स्वतन्त्र रुपले काम गर्न रहरले हो, दोहामा महिलाहरुको परिस्थिति निकै बाक्लिएको थियो । हामी बजार जाँदा नेपाली होटलमा प्रायः महिलाहरु देखिन्थे । अनि परदेशमा आफ्नै देशको, आफ्नै जिल्लाको चेलीहरु देख्दा आफ्नै चेलीझैं लाग्नु स्वभाविक नै हो । अनि अनायास समिप गएर परिचय गरौं, यहाँको दुःख सुखको बखान गरौं । अनि आफ्नो कम्पनीको बेलीबिस्तार लगाउँ भनेर सोच्यो तर उनीहरु त आफू–आफूमा व्यस्त हुँदारहेछन् । जसले पैसा देखाएर उनीहरु माथि खर्च गर्छ उनीहरुतर्फ मात्र आकर्षित हुँदारहेछन् ।

हामी जस्तो एउटा टिसर्ट, ट्रयाक र खुट्टामा चप्पल लगाएर हिंड्नेलाई त कहाँ हेर्दोरहेछ र । उनीहरु त त्यो लेदरको ज्याकेट र यामानको जुत्ता लगाउनेतर्फ मात्र झुम्मिने र आकर्षित हुनेरहेछ । त्यो देखेर कहिलेकाहिं भन्न मन लाग्छ, ‘धन्य मेरी नेपाली चेली ।’ यो सबै लेखेर उनीहरुलाई लाञ्छना लगाउन खोजेको होइन । मैले जे देंखे त्यही लेख्ने प्रयास मात्र गरेको हो । म एक दिन घरमा पैसा पठाएर एसएमएसबाट नम्बर पठाउनका लागि बजारमा रहेको बेञ्चमा बसिरहेको थिएँ । म बसेको ठीक अगाडि बाटोपारि एउटा ‘थकाली भान्सा घर’ भन्ने होटल थियो । मेरो बसाइको समय केही बेरपछि अगाडि एक जना नेपाली युवा र युवती देखें । होटलको बरण्डामा उनीहरु आफ्नो प्रकारको क्रियाकलाप गर्दै थिए । युवक नजिक उभिएर केही भन्दै थियो । युवती कुर्तासुरुवाल माथि लगाएको सल टोकेर मस्किदै थिई ।

बिहानको आठ–नौ बजेको बेला थियो । बजार प्रायः सुनसान थियो । तिनीहरुको क्रियाकलाप देखेर मलाई नै केही असजिलो लागेर आयो । मैले यताउता नजर दौडाएर हेरे । सबै आफ्नो आफ्नो धुनमा व्यस्त थिए । म संकोचित नजरले उनीहरुलाई हेरिरहेको थिएँ । मेरो मनमा केही लाज लागेर आयो । उनीहरुको रासलीला देखेर मैले आफूलाई म आफ्नै गाउँघरमा पो छु जस्तो भान भयो । गाउँघरको मेलाबजार अनि मेलापातमा युवायुवती भेट भएर बात मारेको र युवती लजाउँदै आफ्नो हातमा भएको रुमाल वा सल टोकेर मस्किदै गरेको दृश्यको सम्झना आयो ।

केहीबेरको नजरको विष मरेपछि म ट्याक्सी चढेर आफ्नो कम्पनी आएँ । साथीहरुले भनेको कुरा सुन्दा त मैले देखेको दृश्य त सामान्य पो रहेछ । परदेशमा आफ्नो मेहनतले पैसा कमाउन आउने नेपालीहरुको भीडमा अब त मेहनत बिना नै पैसा कमाउने माध्यम लिएर धमाधम नेपाली महिलाहरु भित्रिन थालेकोमा केही चिन्ता त लाग्यो तर खल्लीबल्ली भन्दै ‘तै चुप मै चुप’ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर