Mero Sabda

तितो सत्य


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

मैले यहाँ लेखिरहेको शब्द कुनै व्यक्ति विशेषको इज्जतमा ठेस लागोस् भन्ने ध्येयले लेख्न खोजेको होइन । न त मेरो कसैको इज्जत मर्दन गर्ने सोचाइ छ । मैले त म वैदेशिक रोजगारीको सिलसिलामा जे–जस्तो देखें, त्यही मात्र वर्णन गर्न खोजिरहेको छु । हुन त म यहाँ नेपाल फर्किआएको धेरै वर्षसम्म पनि वैदेशिक रोजगारीमा जाने युवतीहरुको सर्मनाक समाचारहरु सुन्न पाइरहेको छु । ‘फलाना जिल्लाको फलानाले यस्तो गरे अरे’ भन्ने समाचार नपढेको पनि होइन । अनि वैदेशिक रोजगारीमा हुने युवाहरुले पनि ‘नेपाली केटीहरु हामी नेपालीहरुलाई पत्याउँदैन, उनीहरु त बङ्गाली र पाकिस्तानीकोमा मात्र जान्छन्’ भन्ने समाचार पनि पढेको हो ।

तर मैले त्यो हद पार गरेको त देखेको होइन । अघिल्लो कथामा मैले जे लेखे त्यो मैले प्रत्यक्ष देखेर लेखेको हो । र यो पटक मेरै रुमका साथीहरुले भनेको कुरा लेख्न चाहन्छु । वैदेशिक रोजगारीमा महिलाहरु प्राय ‘क्लिनिङ्ग’ कम्पनीमा गएको देखेको छु । उनीहरुलाई बिहान गाडीमा लगेर कार्यस्थलमा छाडी दिन्छन्, अनि ड्युटी सकिए पश्चात् फेरि गाडी लिन जान्छ । दोहाभरिका प्रायः कम्पनीहरुको गाडी हाम्रै कम्पनीमा तेल हाल्थे । भनौं त्यहाँ भएका कम्पनी मध्येमा आधा जसोले नै यो कम्पनीमा कारोबार गर्थे । कम्पनीको गाडीको ड्राइभर विभिन्न देशका हुन्थे । जस्तै भारतीय, श्रीलंकन, पाकिस्थानी, बङ्गलादेशी । तिनीहरु पेट्रोलपम्पमा पेट्रोल डिजल लगाउन आँउथे र पेट्रोलपम्पमा काम गर्ने साथीहरुलाई ‘यदि यसो रमाइलो गर्न मन लागे मलाई फोन गर्नु, नेपाली र श्रीलंकन केटीहरु छन्’ भनेर फोन नम्बर छाडेर जान्थे अरे ।

त्यसो त यो शब्द लेख्दा म आफूलाई गौरवान्वित अनुभव गरिरहेको त छैन । तर पनि मेरो मनमस्तिष्कमा आजसम्म खड्किरहेको कुरा भएर आज सबैका सामु यो शब्द पस्किरहेको छु । कतारमा मुस्लिम कानून अनुसार यो कार्य कानून विपरित हो । यदि यस्तो कार्यमा संलग्न भएको अवस्थामा प्रहरीले हिरासतमा लिए निकै ठूलो सजाय हुनसक्छ । तर यदि कुनै युवक र युवती आफ्नो राजीखुशीले यस्तो कार्यमा संलग्न हुन्छ भने त्यहाँको कानूनले त्यति असर गर्दैन । त्यस्ता गैह्रकानूनी कार्यहरु कानूनको नजरमा नआइ नै धेरै ठाउँमा विना रोकटोक चलिरहेको हुन्छ ।

यो त एउटा उदाहरण मात्र हो । यस्ता गैह्रकानूनी कार्यहरु गल्ली–गल्लीमा खुल्लारुपले चलिरहेको हुन्छ । जस्तै डाइस खेलाउने कार्य पनि गैह्रकानूनी हो । तास खेल्नु, रक्सी पिएर हिंड्नु । तर पनि यस्ता कार्यहरु विना रोकटोक चलिरहेको हुन्छ । यदि कसैले कुनै होटलबाट रक्सी पिएर बाटोमा हिंडिरहेको अवस्थामा पुलिसले समायो भने त्यहाँ पिएको रक्सीको बिल देखाएर कार्वाहीमा परिदैन । तर त्यहाँ त होटल गएर रक्सी पिइरहनु आवश्यकता नै छैन । त्यहाँ भएका लेवर क्याम्पमा हरेक कोठा–कोठामा रक्सीको निर्यात हुन्छ । आफूले जुन बेला पिउन चाहेर फोन गर्ने बित्तिकै ठाउँको ठाउँ उपलब्ध हुन्छ ।

यस्तो सजिलो कहाँबाट प्राप्त हुन्छ भनेर जिज्ञासा राखेको थिएँ । ‘कम्पनीले आफ्नो कर्मचारीलाई रम पिउने अनुमति पत्र प्रदान गरेको हुन्छ । त्यो अनुमति पत्र भएको व्यक्तिले खरिद गर्दा एक बोतल रमको बीस–बाइस रियलमा खरिद गर्छन् अनि हामीलाई बेच्दा चाहिं सत्तरी–असी रियाल लिन्छन्’ भनेर पुराना साथीहरुले मेरो जिज्ञासा मेटाइदिएका थिए । त्यो रम पिउने नेपालीको समूहमा म पनि थिएँ । अन्य समय सत्तरी–असीमा किनेको रम हामी नेपालीहरुको चाड जस्तै दशैं, तिहार, माघे संक्रान्तिको समयमा त्यो रमको मूल्य बढेर एक सय बीस रियालसम्म तिरेर खरिद गर्नुपथ्र्यो । आखिर हामी नेपाली न पर्यौं । वीर नेपाली, गोर्खे नेपाली । रक्सी पिएर मात्नुको लागि हरेक बहाना खोजी हिंड्छौं । कहिले चाडको वहाना त कहिले छुट्टिको वहाना । कहिले थाकेको वहाना त कहिले पाहुना आएको वहाना । यस्तै वहानामा नशामा झुल्दा घरको पीर–चिन्ता सबै फूर्र । अनि बिहान होस खुल्दा टाउकोमा हात राखेर खर्च भएको रियाल सम्झेर खुइय्य गर्दै चिन्ता गर्ने हामी ।

हामी त केवल बेला मौकामा रक्सी पिएर मात्ने मध्येमा पर्यौं तर कतारमा ड्युटीमा नगइ हप्ता–हप्ताभर तास खेलेर पैसा बर्बाद पार्ने नेपालीहरु पनि छन् भन्ने सुनेको थिएँ । श्रीलंकनहरुले आफ्नै क्याम्पमा पारेको रक्सी छ्यापछ्याप्ती ‘सनइया’ भन्ने ठाउँमा पाइन्थ्यो अरे । त्यो सनइया भन्ने ठाउँ इन्डष्ट्रियल एरिया भएकोले लेवरक्याम्प धेरै छ । त्यस्तोमा त्यो श्रीलंकन रक्सी सस्तो भएको कारण र सहजै उपलब्ध हुनाले त्यसको खपत धेरै हुँदोरहेछ । त्यो रक्सी पनि ज्यादा खपत हुने हुँदा कहिले त उपलब्ध नै नहुने अवस्था हुँदा शौचालय सफा गर्ने सेम्फो ल्याएर कोकसँग मिसाएर खाँदो रहेछन् ।

यस्तो चिज पिएर र हप्तौं–हप्तौंसम्म तास खेल्दै दिन बिताउने नेपालीहरुको भविष्य के होला ? घरमा आफ्ना सन्तान कसरी र कुन अवस्थामा दिन बिताइरहेका हुन्छन् होला ? स्वदेशमा हुँदा आमाका मारवाडी, मुन्द्रा र बाबुले खनिखोस्री गरेको सानो चोक्टा बारी बन्दकी राखेर दलाललाई मोटो रकमले पोसेर बल्ल–बल्ल प्लेन चढेर खाडी उत्रिएको छोरो को त्यो अवस्थाले साहुको ऋण कसरी तिर्छन् ? आमाको मारवाडी मुन्द्रा कहिले उकास्छन् ?

घरमा श्रीमती र छोराछोरीहरु विदेशबाट कहिले रकम पठाउँछ भनेर दिनरात खबरको प्रतिक्षामा बसिरहन बाध्य हुन्छन् । तर उता विदेशमा रहेका युवाहरुको अवस्था त्यस्तो छ । हुनसक्छ यो लेख पढिसक्दा यही प्रवृत्तिका युवाहरु रिसाउलान् । अनि त्यहाँ बस्ने महिलाहरु पनि रिसाउलान् । रिसाउनु स्वभाविक नै हो । किनकि सत्य तितो हुन्छ । जो कोहीले सजिलै पचाउन सक्दैनन् । यहाँ मैले वैदेशिक रोजगारको क्रममा जे देखेको थिएँ र अनुभव गरेको थिएँ त्यो लेख्न खोजेको मात्र हो । त्यसैले यो तितो सत्य कसैलाई नपचे पनि अन्य सारा नेपालीहरुको जानकारी पाउने छन् भन्ने मेरो आशा छ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर