२०७७ फागुन १३ बिहिबार
Mero Sabda

हाम्रो बारेमा


आजको संसार सूचनाको संसार हो । मानिस घरमै बसेर संसार बारे यथेष्ट जानकारी हासिल गर्नसक्ने अवस्थामा पुगेको छ । यो सबै सम्भव भएको छ पछिल्लोपल्ट सर्बसुलभ हुँदैगएको इन्टरनेट सुविधाले । विश्वलाई हत्केलामा लिएर हिंडिरहेको छ आजको मानिस । प्रत्यके व्यक्ति सूचनाको सीमाभन्दा बाहिर बस्न नसक्ने अवस्थामा पुगेको छ ।
पत्रकारिताको लामो इतिहास छ । परेवा र कागले बोकेका साङ्केतिकताहरूमा विश्वास गर्दै अघि बढेको मानवसभ्यतालाई कटुवालले डाँडाबाट कराएर गरेका सूचनाहरू कुनै कालमा आधुनिक बने । व्यक्तिले बोकेर पु¥याएका चिट्ठी र खबरहरूले पनि चित्त बुझेकै थियो । राज्यको उत्तरोत्तर प्रगति हुँदै जाँदा धेरै कालपछि हुलाक आइपुग्यो । हुलाकले दिएको सुविधा आश्चर्यजनक मानियो । हुलाकीले बोकेर देशको एक कुनादेखि अर्को कुनासम्म पनि चिठ्ठीहरू पु¥याउन थाले । धेरै कालसम्म मानिस हुलाकमै निर्भर थिए । आज पनि विकसित देशहरूमा हुलाकको महत्व कम भएको छैन । आज पनि भरपर्दा चिठ्ठीपत्रहरू हुलाककै माध्यमबाट संसारभरि पुग्दछन् । तर तिनले पनि आधुनिक यातायातले दिएको द्रुतगतिका साधनहरूको उपयोग गर्दछन् । हाम्रो देशमा आज हुलाकको प्रयोग अत्यन्तै सीमित हुँदैगएको भए पनि हुलाकले लगाउने छापको महत्व आज पनि संसारमा कम भएको छैन ।
मानिसलाई हरेक कुरा बारे एकदम नै छिटो थाहा पाउने जिज्ञासाले गर्दा समाचारपत्रहरूको विकास भयो । मासिक, पाक्षिक, साप्ताहिक हुँदै दैनिक र केही घण्टेसम्म हुँदै छिपा–पत्रिकाले पनि फड्को मारिरहेकै छ । त्यसले मात्र चित्त नबुझेपछि आज इन्टरनेटसम्म आइपुगेको छ सूचनाको संसार । अब ईमेलबाट केही मिनेटमै विश्वको एक कुनादेखि अर्को कुनामा समाचार पुगिसक्छ । संसारमा अब केन्द्र र मोफसलको विवाद सकिएको छ । अब आफू जहाँ उभिएको छ आफ्नो लागि त्यही नै उसको केन्द्र भएको छ । आफू जहाँ छ उसलाई चाहिने कुरा त्यहीँ आइपुग्छ ।
समाचारपत्रहरूले मात्र पुगेन । आवा, रेडियो हुँदै टेलिभिजनसम्म सूचना–प्रविधि पुगेको पनि शताब्दि नाघिसकेको छ । अबका पुस्तालाई मैले माथि भनेका कुराहरू केवल कथा हुन्छन् । आज हामी जेलाई अत्याधुनिक भनिरहेका छौं, अबको केही वर्षपछि नै यी सबै काम नलाग्ने भइसक्ने छन् ।
अब हात–हातमा स्मार्ट फोन आएपछि त्यसैबाट रेडियो, टेलिभिजन, पत्रपत्रिका, फिल्म, फेस–सम्बाद, ईमेल, आदि अनेकौं कुराहरू गोजीमा बोकेर हिंडिरहेको छ मानिस । अब कागजी पत्रिकाको जमाना पनि पुरानिदै गएको छ । घण्टौं लगाएर पाठकका हातमा पत्रिका पु¥याउनु वा पत्रिका कति बेला आइपुग्ला भनेर पर्खेर बस्ने धैर्य कसैसँग पनि छैन । अबको मानिसलाई हरेक कुरा तत्कालै थाहा पाइहाल्नु पर्छ । मानिस सूचनाको अत्यधिक भोको भएको छ । सूचना बेगर अब ऊ एकछिन् पनि बस्न नसक्ने भएको छ । सूचनाको यो प्रतिस्पर्धात्मक संसारमा छिपा पत्रिकाको ठाउँ अब अनलाइन पत्रिकाहरूले लिनथालेका छन् । डिजिटल पत्रिकामानिसको हातमा सजिलै र निःशुल्क पुग्नथालेको छ ।
मानिसलाई यसरी निःशुल्क सूचना उपलब्ध गराउनमा विज्ञापनदाताहरूको शतप्रतिशत योगदान छ । विज्ञापनकै आडमा उभिएर चल्ने हुन् सबै अनलाइनपत्रिकाहरू । आजको अनलाइनपत्रिकाहरूको प्रतिस्पर्धि बजारमा हामीले खास किसिमको विशेषता बोकेको अर्को पत्रिकालिएर आएका छौं । सस्तो लोकप्रियताको भोकले छट्पटाएर गलत सूचनाहरू प्रवाह गरी माफीमाग्ने कतिपय संचारगृहहरूको भीडभन्दा निकै परबाट हामी यथार्थ र समाजोपयोगी सन्देशहरू लिएर आउँदैछौं । हाम्रो जीवनसँग अत्यन्त निकट रहेर अनिवार्य जस्ता भइसकेका कुराहरू पनि ज्ञानको सीमा भन्दा बाहिरै अलमलिइरहेका हुन्छन् । हामी सूचना बन्न सक्ने हरेक कुरालाई प्राथमिकताका साथ लिएर आउनेछौं । सूचनाको संसार भन्दा बाहिर कुनै कुरा पनि हुन सक्दैन । सूचनाको सीमाहीनता नै हाम्रो पत्रिकाको सीमा हो ।
हामी बिन्दुबाट धर्को, धर्कोबाट अक्षर हुँदै शव्दमा जब आइपुग्छौं अनि मात्र हामी सम्वादको तहमा पुग्दछौं । हामी शव्द हौं र हाम्रो पहिचान पनि शव्द नै हो । आफ्नो मुखबाट निस्कने प्रत्यक शव्दको हामीले जिम्मा लिन सक्नुपर्छ । मुखबाट निस्किसकेपछि यदि त्यसलाई फिर्ता लिन सकिंदैन भने निस्कनु अघि नै त्यसबारे गम्भीर बन्नुपर्छ । हामी त्यस कुरामा सचेत छौं र नै हाम्रो पत्रिकाको नामपनि ‘मेरो शब्द’ बन्नपुगेको छ । यसमा प्रकाशित प्रत्येक शब्द तपाई पाठकका पनि मेरा हुन् । त्यसैले यो पत्रिका वास्तवमा तपाईहरूकै हो । यसलाई हुर्काउने बढाउने पनि तपाईहरूले नै हो ।

कृष्ण धरावासी
प्रधान सम्पादक

प्रतिकृया व्यक्त गर्नुहोस् ।