
नेपालको सन्दर्भमा कुरा गर्नु हो भने जति चासोका साथ हिन्दु, इसाई वा बौद्ध धर्मलाई हेरिन्छ, त्यस्तो चासोका साथ इस्लाम धर्मलाई हेरिएको पाइँदैन। आज हामी इस्लाम धर्मको विश्वमा कसरी प्रभुत्व जमाउन सफल भयो र इस्लाम धर्मका संस्थापक मुहम्मदका ’boutमा केही चर्चा गर्दछौँ।
पैगम्बर मुहम्मद इस्लाम धर्मका संस्थापक हुन्। इस्लामी विश्वास अनुसार उनी एक अगमवक्ता र परमेश्वरका दूत थिए जसलाई इस्लामको पैगम्बरको रूपमा पनि चिनिन्छ। इस्लामी विश्वास अनुसार अल्लाह एउटै मात्र छन् र मुहम्मद यस धर्तीमा अल्लाहका एकमात्र ‘रसुल’ वा अल्लाहका सन्देशवाहक हुन्। यस धर्मका अनुयायीहरूले गरीब वर्गलाई भिक्षा दिनुपर्दछ भन्ने इस्लामीहरूको विश्वास छ। जीवनमा एकपटक भएपनि मक्काको यात्रा गर्नुपर्छ जसलाई ‘हज’ भनिन्छ। मुसलमान इतिहासकारहरूका अनुसार मुहम्मदको जन्म ८ जुन ५७० मा अरबको मरुभूमि सहर मक्कामा भएको थियो। ‘मुहम्मद’ को अर्थ ‘उच्च प्रशंसा गरिएको व्यक्ति’ भन्ने हुन्छ। उनका पिताको नाम अब्दुल्लाह र आमाको नाम अमिना थियो। मुहम्मदको बलियो आत्माले यस मरुभूमिबाट नयाँ संसार, नयाँ जीवन, नयाँ संस्कृति र नयाँ सभ्यता सिर्जना गर्यो। मुहम्मदले माराक्सदेखि इन्डिजसम्म फैलिएको नयाँ राज्यको स्थापना गरे जसले एसिया, अफ्रिका र युरोप गरी तीन महादेशको विचार र जीवनमा अभूतपूर्व प्रभाव पारेको थियो। उनलाई सर्वप्रथम आदम, अब्राहम, मोसिस इसा र अन्य अगमवक्ताहरूले प्रचार गरेका एकेश्वरवादी शिक्षाहरू प्रस्तुत गर्न र पुष्टि गर्न पठाइएको भन्ने विश्वास रहेको छ। इस्लामका सबै मुख्य शाखाहरूमा उनलाई अल्लाहको अन्तिम अगमवक्ताको रूपमा हेरिन्छ यद्यपि केही आधुनिक सम्प्रदायहरू पनि यस विश्वासबाट भिन्न देखिन्छन्। मुहम्मद विश्वासीहरूलाई एकताबद्ध गर्न इस्लाम धर्मको स्थापनामा कुरानको साथ साथै इस्लामी धार्मिक विश्वासमा आधारित उनको शिक्षाहरू र प्रथाहरूसँग एक साथ प्रकट हुन्छन्। इस्लामको अर्थ मुहम्मदले प्रचलनमा ल्याएको मुसलमानी धर्म भन्ने हुन्छ। यो धर्म अरबबाट जन्मिएको थियो हाल अरब पश्चिम एसियाको इरान, इराक, र उत्तर-पूर्वी अफ्रिकाबीच अवस्थित छ। त्यसबेला त्यहाँ बुद्दु भनेर चिनिने एक घुमन्ते जाति बस्दथे। यी बद्दुहरू सहरी अरबीहरूमाथि बारम्बार हमला गरिरहन्थे र यिनको छुट्टै आफ्नै धर्म पनि थिएन। इसाई र यहुदी धर्मबाट यिनीहरू केही मात्रामा प्रभावित देखिन्थे। मक्कामा अवस्थित एक कालो ढङ्गा पुरा गर्नु उनीहरूको समान धार्मिक परम्परा थियो र अरबीहरूले प्रत्येक वर्ष त्यसको दर्शन गर्ने गर्दथे। यसबाट ठूलो पुण्य मिल्दछ भन्ने उनीहरूमा विश्वास थियो र त्यसदिन युद्ध नगर्ने भन्ने तिनीहरूबीच समझदारी पनि रहेको हुन्थ्यो। मुहम्मदले एउटा यस्तो जातिका बीच नयाँ धर्मको प्रस्ताव गरे जुन समयक्रममा निकै लोकप्रिय भयो र आज विश्वका महत्वपूर्ण धर्महरूमध्ये इस्लाम पनि एउटा भएको छ।
लगभग ५७० इस्वीमा अरबको सहर मक्कामा जन्मिएका मुहम्मदका आमाबुबाको उनी छ वर्षको छँदा मृत्यु भइसकेको थियो। उनी आफ्ना काका अबु तालिब र अबु तालिबकी श्रीमती फातिमा बिन्त असदको रेखदेखमा हुर्किए। मुहम्मदलाई कुनैपनि औपचारिक शिक्षा दिइएको थिएन। अनुसन्धान र विवेचनामुखी सोचको अनुसरण गर्ने मुहम्मद सामान्यतया इसाई र यहुदी धर्मबाट प्रभावित थिए। आफ्नो किशोरावस्थामा मुहम्मदले आफ्नो काकासँग सिरियाको व्यापारिक यात्राका क्रममा व्यावसायिक व्यापारको अनुभव प्राप्त गरे। एउटी धनाढ्य विधवा खदिजासँग उनको विवाह भएपछि उनलाई जीवनमा कहिलै पनि आर्थिक सङ्कट भोग्नु परेन। त्यसपछि उनले एकान्तमा बसेर उनले निकै सोचविचार गर्न लागे। समय-समयमा, उनी हीरा नामको पर्वत गुफामा धेरै रातसम्म अल्लाहको सम्झनामा प्रार्थनाको लागि बस्थे। ४० वर्षको उमेरमा उनी गुफामा बस्न लागे। अन्ततः उनमा एउटा नयाँ धार्मिक सोचको अवधारणा बन्यो। उनले स्वयंलाई पैगम्बर अर्थात् ईश्वको दूत भनेर ईश्वरीय ज्ञानको दावी गर्न थाले। अरबी क्षेत्रका धार्मिक अस्पष्टतामा परेका व्यक्तिहरूका बीच आफ्नो धर्मको प्रचार-प्रसार गर्न सुरु गरे। उनले आफ्नो पहिलो इल्हाम अल्लाहबाट पाएको बताए। तीन वर्ष पछि अर्थात् ई.पु ६१० मा मुहम्मदले सार्वजनिक रूपमा यी रहस्योद्घाटनहरू प्रचार गर्न थाले। प्रचार गर्ने क्रममा उनले “ईश्वर एक हुनुहुन्छ”, अल्लाह प्रति पूर्ण अधीनता कार्यको सही मार्ग हो र उहाँ इस्लामका अन्य अगमवक्ताहरू जस्तै अगमवक्ता र परमेश्वरको सन्देशवाहक हुनुहुन्छ। मुहम्मदले सुरुमा थोरै अनुयायीहरू प्राप्त गरे तर उनले मक्कामा अविश्वासीहरूको शत्रुताको अनुभव गरे। शत्रु तथा आलोचकहरूबाट बच्नका लागि उनले केही अनुयायीहरूलाई इस्वी संवत् ६१५ मा इथियोपिया पठाए। यस धर्मले एकेश्वरवादलाई अनुसरण गरेको हुँदा स्वाभाविक रूपमा अन्य धर्मावलम्विहरू यसबाट उत्तेजित भए। खसगरी त्यहाँको शासक वर्ग त्यसबाट चिढियो। यस धर्म मूर्ति पूजाको विरोधी रहेकोले कालो ढुङ्गोको पूजा हुन छाडेपछि र सरकारको आर्थिक स्रोतमा घाटा पर्न गयो। त्यसैले उनलाई मार्ने धम्की दिइयो। मोहम्मद मक्का छाडी मदिना पुगे । ई.६२२ सेप्टेम्बर २४ मा घटेको यस घटनालाई ‘हिज्रत’ भनिन्छ। पछिबाट उनीहरूले यसै दिनबाट हिज्री संवत् चलनचल्तीमा ल्याए। यस घटनाले हिजरा वा इस्लामिक पात्रको सुरुवातलाई सङ्केत गर्दछ, जसलाई हिजरी पात्र पनि भनिन्छ। मदिनामा मुहम्मदले मदिनाको संविधान अन्तर्गत जनजातिहरूलाई एकताबद्ध गरे। डिसेम्बर ६२२ मा, मक्का जनजातिहरूसँग आठ वर्षको अस्थायी युद्धपछि मुहम्मदले १०,००० मुसलमानहरूको सेना जम्मा गरे र मक्का सहरमा आक्रमण गरे। इश्वी ६३२ मा विदाई तीर्थयात्राबाट फर्केको केही महिना पछि उनी बिरामी परे र ६२ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।

इस्लाम धर्ममा रमजान महिनालाई पवित्र महिना मानिन्छ। इस्लाम विश्वास अनुसार रमजानको महिनामा देवदुत गेब्राइलले मोहम्मदलाई ‘कुरान’ सुनाएका थिए। अल्लाहद्वारा दिइने सन्देश कुरान हो। प्रत्येक मुसलमानले रमजान महिनामा सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बस्नुपर्छ। पाँच पटकसम्म ‘मक्कातिर हेरेर नमाज वा प्रार्थना गर्नु पर्दछ। यस धर्ममा मूर्तिपूजा निषिद्ध रहेको छ। उनीहरूका अनुसार अल्लाहका पैगमबरहरूमध्ये मुहम्मद अन्तिम र सर्वश्रेष्ठ हुन्। यस धर्मले स्वर्ग-नर्कको अवधारणालाई मानेको छ। अन्तिम निर्णयका दिन यमराजले यसको फैसला गर्दछ जसलाई कायामत भनिन्छ। त्यस दिन पापीका लागि शारीरिक, मानसिक दण्ड दिइनेछ भने धार्मीले स्वर्गको बासस्थान पाउनेछ। गरीब दुःखीलाई माया गर्नु, गुलामप्रति दयावान र नैतिकवान हुनु, मद्यपान नगर्नु, जालसाजी धोखा नगर्नु, प्रेम बन्धुत्वको भावना राख्नु, चारभन्दा बढी स्त्री नराख्नु यस धर्मका तात्विक कुराहरू हुन्। मुसलमानहरूबीच समानता र अर्कोप्रति ठीक त्यस्तो व्यवहारको अपेक्षा राख्नु यस धर्मका निकै नै मर्मस्पर्शी कुराहरू हुन्। मोहम्मदले सर्वप्रथम आफ्नै श्रीमतीलाई इस्लाम कवुल गराए। तत्पश्चात् यस नयाँ धर्मको प्रचार-प्रसार प्रारम्भ भएको थियो। ई. ६३२ मा मुहम्मदको निधन भएको थियो। नयाँ धर्मको स्थापना गरेका मुहम्मदलाई जिसस वा अरू चिन्तकहरूलाई जस्तै श्रेय दिइन्छ। तर मोहममदले कदापि स्वयंमलाई भगवान् घोषित गरेनन्, उनी सधैँ अल्लाहका दूतको रूपमा मात्र चिनिए। यस धर्मले धार्मिक असहिष्णुताको पनि अनुसरण गर्दछ। धर्मको लागि आक्रमण र मृत्युवरण इस्लाममा ‘पवित्र’ मानिन्छ। इस्लाममा आफ्नो उत्तराधिकारीलाई ‘खलिफा’ भनिन्छ। तर मुहम्मदका पुत्र थिएनन्। यसैले उनको उत्तराधिकारित्व निर्वाचनद्वारा चयन गरियो र अवुवक नयाँ खलिफा बने।
आठौँ शताब्दीभित्र मुसलमान सेनाले सम्पूर्ण उत्तरी अफ्रिका र स्पेनमाथि विजय प्राप्त गर्यो। ७०० वर्षसम्म स्पेनमा इस्लाम प्रभुत्व रह्यो। उनीहरूले मेसोपोटामिया, फारस, अफगानिस्तान आदिमा पनि जित हासिल गरे। त्यसपछि मिश्र र भारतसम्म यसको प्रभुत्व जम्न थाल्यो। चौधौँ शताब्दीमा बङ्गालका शमुद्दिन इलिपासले काठमाडौँ उपत्यकामा हाहाकार मच्चाई मन्दिरहरू ध्वस्त पार्न आगो लगाइदियो। त्यसैबेला दिल्लीका गयाशुद्दिन तुगलकले मध्य तराईको सिम्रौनगढ राज्य पनि ध्वस्त पारिदिए। सँगसँगै इस्लाम धर्म अफ्रिका, मलाया इन्डोनेसिया र चीनसम्म फेलियो। आज एसियामा पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र अफगानिस्तानमा इस्लाम राज्य जमेको छ। धर्म निरपेक्ष भारतमा पनि १० करोडभन्दा बढी इस्लामधर्मी रहेका छन्। नेपालमा मुसलमानहरूको सङ्ख्या कुल जनसङ्ख्याको ३ प्रतिशत रहेको छ। खलिफा पदका लागि मुसलमान शासकहरू भिड्न थालेपछि उत्पात् मच्चिन थाल्यो। त्यसपछि मुसलमानहरू शिया र सुन्नी रूपमा विभाजित भए। वास्तवमा यो लडाइँ मुहम्मदको उत्तराधिकारित्वका विषयमा उठेको थियो। सुन्नीहरू अवुवकलाई मोहममदका वास्तविक उत्तराधिकारी मान्दछन् भने शियाहरू मोहम्दका पुत्री फतिमाका श्रीमन अलीलाई वास्तविक उत्तराधिकारी मान्दछन् जसको फलस्वरूप यी दुई गुटका बीच मुसलमान समाजमा जीवनमरणको लडाइँ चलिनै रहेको छ।
इस्लाम धर्ममा कुरानलाई अत्यन्त पवित्र ग्रन्थ मानिन्छ। यस ग्रन्थको स्थान हिन्दू र क्रिश्चियन धर्ममा जस्तो छ इस्लाममा पनि त्यसतै छ। यसमा मुहम्मदको वाणीहरूको सङ्ग्रह गरिएको छ जसलाई उनको मृत्युपश्चात् उनका अनुयायीहरूले सङ्ग्रह गरेका थिए। कुरानमा मुहम्मदका वाणीहरूको स्वेच्छिक अभिव्यक्ति नभई अल्लाहका दूत ग्रेब्राइलले उनलाई सुनाएका इश्वरीय सन्देश थियो। यसमा कुल ११४ सूरा अर्थात् अध्यान रहेका छन्। अत्यन्त पवित्र ग्रन्थ भएकाले यसको प्रति कसैले पनि अनास्था र दुराप्रचार गर्न पाउँदैन। जो कोहीले पनि यस्तो कार्यहरूमा संलग्न रहेका उनीहरूको विरूद्ध मृत्युदण्ड घोषित गिरिन्छ। जसलाई फतवा भनिन्छ। कुरानका प्रतिको कुनैपनि अपमान मुसलमानहरूका लागि निकै असह्य हुन जान्छ। विश्वमा एउटा नयाँ धर्मको उदय गराउनु र त्यसले धार्मिक रूपमा मानिसहरूको एउटा शाखालाई सङ्गठित र एकताबद्ध गर्नु यस धर्मको ठूलो योगदान हो। कुरान अधययनकै रूपमा भए तापनि मानिसको त्यो सङ्ख्या पठनपाठन र चिन्तन-मनन् तर्फ लाग्न सक्यो। तदनुरूप अरबवासीहरूले भाषा, साहित्य, संगीत, कला, इतिहास, दर्शन, ज्योतिष, औषधि, विज्ञान आदि क्षेत्रमा इस्लामका माध्यमबाट विश्वलाई एउटै अलग योगदान गर्यो। यस धर्मका माध्यमबाट मुसलमानहरूले विश्वमा एउटा छुट्टै पहिचान प्रस्तुत गर्न सकेका छन्।