द्वितीय विश्वयुद्ध अन्त्य भएको २९ वर्षसम्म पनि आत्मसमर्पण नगरी एक्लै युद्ध लडिरहेका एक बहादुर जापानी सैनिक

सन् १९७४ मार्च ११, ओनोदा हिरो (दायाँ) आफ्नो आत्मसमर्पणको दिन फिलिपिन्सका राष्ट्रपति फेर्दिनान्द मार्कस (बाँया) समक्ष आफ्नो सैन्य तरवार बुझाउँदै

सन् १९३९ देखि १९४५ सम्मको समय मानव जातिका लागि एक खतरनाक समय थियो। विश्व स्तरमा चलेको यो भीषण युद्ध दोस्रो विश्वयुद्धको रूपमा परिचित छ। यस युद्धमा अनुमानित ६ करोड देखि ७ करोड मानिसहरूले ज्यान गुमाएको अनुमान लगाइन्छ। लगभग ६ वर्षसम्म चलेको यो युद्ध इतिहासकै सबैभन्दा भीषण युद्ध सावित भएको थियो। लगभग ७० देशहरूका जल-थल-वायु सेनाहरू यस युद्धमा सम्मलित थिए। यस युद्धमा विश्व मित्र राष्ट्र र धुरी राष्ट्र गरी दुई भागमा विभाजित थियो। अमेरिकाले जापानको हिरोसिमामा सन् १९४५ अगस्ट ६ का दिन लिटल ब्वाई नामक अणु बम खसालेको थियो भने नागासाकीमा सन् १९४५ अगस्ट ९ का दि फ्याट म्यान नामक अणु बम खसालेको थियो जुन युद्ध अन्त्यको एक कारण बन्न पुगेको थियो। यस्तै सन् १९४३ सेप्टेम्बरमा इटलीले र सन् १९४२ मे मा जर्मनीले आत्मसमर्पण गरेको थियो। सन् १९४५ अगस्ट १४ का दिन जापानले आत्मसमर्पण गरेपछि यो युद्ध समाप्त भएको थियो। दोस्रो विश्वयुद्ध पश्चात् प्रख्यात वैज्ञानिक अल्बर्ट आइनस्टाइले तेस्रो विश्वयुद्ध कसरी लडिन्छ मलाई थाहा छैन तर चौँथो विश्वयुद्ध लौरी र ढुङ्गाले लडिन्छ भन्ने भनेका थिए। यसको तात्पर्य के हो भने यी तेस्रो विश्वयुद्ध भयो भने यो यति विनाशकारी हुन्छ कि यसले हामीलाई पुनः ढुङ्गे युगमा पुर्‍याउनेछ। तर युद्ध समाप्त भएको २९ वर्षसम्म पनि ओनोदा हिरो नामक एकजना जापानी कुनै जानकारी बिना एक्लै युद्ध लडिरहेका थिए। युद्ध समाप्त भएको त्यत्रो वर्षसम्म पनि बेखवर उनी युद्ध सामेल भएका थिए।

२२ वर्षको उमेरमा अर्थात् सन् १९४४ को डिसेम्बरमा ओनोदा हिरोलाई फिलिपिन्सको लुबाङ टापुमा खटाइएको थियो। दुई वर्ष अगाडि जापानी राजकीय सेनाले फिलिपिन्सलाई कब्जामा लिँदा त्यहाँ अमेरिकी सेनाहरू पनि रहेका थिए। जापानी सेनाको सङ्ख्या सिमित भएकाले अमेरिकी सेनाले जवाफी हमला गरेको थियो। सन् १९४४ को डिसेम्बरसम्म जापानी सेनाहरू ती टापुहरूबाट पछि हट्दै साना टापुहरूमा शरण लिन पुगे जसमा लुबाङ टापु एक थियो। यस्तो अवस्थामा ओनोदालाई त्यो टापुमा पठाइएको थियो। उनका उच्च अधिकारीहरूको सोच अनुसार छापामार युद्धको प्रशिक्षण त्यस टापुमा उपयुक्त हुने विश्वास गरिएको थियो। पराजय हुनुभन्दा अघि जापानीहरूले सम्भव भएसम्म अमेरिकी र फिलिपिन्स सेनालाई रोक्न छापामार आक्रमण गरेका थिए जसको लक्ष्य जापानी सेनालाई जवाफी हमलाको तयारीको लागि सकेसम्म धेरै समय दिनु थियो। त्यस समय फिलिपिन्स एक महत्त्वपूर्ण स्थल थियो भने यस स्थललाई गुमाउनुको अर्थ अमेरिकीहरू मुख्य भूमि जापानमा पुग्नु बराबर थियो।

जब ओनोदा लुबाङ टापु पुगे तब उनका वरिष्ठ अधिकारीहरूले छापामार युद्धमा नगरी अमेरिकी सेनासँग सीधै लड्ने निर्णय गरेका थिए। सन् १९४५ फेब्रुअरी २८ का दिन अमेरिकी सेनाले लुबाङ लगायत अन्य सानो टापुमा अवतरण गरेका थिए जसको फलस्वरूप जापानी सेना निकै चाँडै पराजित भएको थियो। यस लडाइँमा ओनोदा र दुई जापानी सेना बाँच्न सफल भई स्थान परिवर्तन गरेका थिए। उनीहरू त्यसपछि जङ्गलको निकै भित्र प्रवेश गरेका थिए जसको उद्देश्य छापामार हमलालाई जारी राख्नु थियो जसलाई ओनोदाले २९ वर्षसम्म जारी राखेका थिए। यति धेरै वर्षसम्म उनीहरूले नजिकको वस्तीबाट चामल, अन्न, गाउँका किसानहरूको गाईवस्तु र कहिलेकाँही सुँगुरहरू चोरी गरी जीविकोपार्जन गरिरहेका थिए। सन् १९४५ मा जापान – अमेरिका युद्ध समाप्त भएको थियो। ओनोदाले केही भएको महसुस गरेका थिए तर उनको देशले युद्धमा हार स्वीकार गरेको कुरा उनले सोचेका थिएनन्। युद्ध समाप्त भैसकेपछि पनि उनले आफ्नो लडाइँ जारी राखेका थिए भने स्थानीय बासिन्दाहरूको सहयोगमा उनलाई खोज्न आएका प्रहरीहरूको विरुद्ध पनि उनले लडाइँ गरेका थिए। ओनोदाले आफ्ना सहयोद्धाहरूसँगको सम्पर्क गुमाएका थिए। अमेरिकीहरूले युद्ध समाप्त भएको खबर सबै ठाउँमा पुर्‍याउन धेरै प्रयास गरेका थिए जसमा उनीहरूले हवाईजहाजबाट युद्ध समाप्त भएको खबर सहितको पत्रिका तथा पर्चाहरू खसालेका थिए। यस्ता पर्चा तथा पत्रिकाहरू उनले पाएतापनि उनले यसलाई शत्रुको एक चाल सोची अविश्वास गरेका थिए जुन कुरा उनलाई प्रशिक्षणमा सिकाइएको थियो।

सन् १९४५ को अन्त्यतिर अधिक पर्चा तथा पत्रिकाहरू विभिन्न स्थानहरूमा वितरण गरिएको थियो। जहाँ जापानी सेनाको प्रमुख सेनापति तोमोयुकी यामासितालाई आत्मसमर्पण गर्ने आदेश पनि छापिएको थियो। ओनोदाको टोलीले यी समाचारहरू पनि झुठा र शत्रुको चाल ठहर गरेका थिए। समुराई राजवंशका छोरा ओनोदाले आफ्नो देश जापानले आत्मसमर्पण गर्न सक्छ भन्ने कुरा सोच्न सकेका थिएनन्। उसलाई अन्तिम श्वास रहँदासम्म सङ्घर्ष गर्न सिकाइएको थियो यसकारण ओनोदा सहित उनका दुई सहयोद्धाहरूले लडाइँ जारी राखेका थिए। सन् १९४९ मा युचु आकातसु नाम गरेका योद्धाले युद्ध समाप्त भएको बोध गरेका थिए। पछि उनले उक्त टोलीबाट छुट्टिई फिलिपिनी सेना समक्ष आत्मसमर्पण गरेका थिए। आकातसुको आत्मसमर्पण पश्चात् सम्पूर्ण विश्वलाई ओनोदाको ’boutमा थाहा हुन पुगेको थियो। पछि ओनोदा परिवारलाई सम्पर्क गरी उनीहरूद्वारा लेखिएको पत्रहरूलाई पनि सन् १९५२ मा जहाजबाट खसालिएको थियो। ओनोदाले यसलाई पछि झुठो प्रचारको भनी शत्रुको चाल ठहर गरिदिएका थिए। उक्त पत्रहरू उसको परिवारका सदस्यहरूलाई जबरजस्ती लेख्न लगाइएको उनले ठानेका थिए। अर्को दुई दशकसम्म ओनोदाले कडा लडाइँ तथा सङ्घर्ष गरेका थिए। सन्‌ १९५४ मा उनका साथी सोइची सिमादाको फिलिपिनी सेनाद्वारा चलाइएको गोली लागेर मृत्यु भएको थियो। किनसिची कोजुका ओनोदाका अन्तिम सहयोद्धा थिए जसले सन् १९७२ अक्टोबर १९ का दिन गाउँको एक दोकानलाई आगो लगाउने क्रममा फिलिपिनी सेनाद्वारा चलाइएको गोली लागि मृत्यु भएको थियो।

ओनोदाले त्यसपछि एक्लै सङ्घर्ष गर्न सुरु गरेका थिए। सारा संसारसँगको उनको युद्ध त्यस समयसम्म पनि बन्द भएको थिएन। नोरिओ सुजुकी नामक एक व्यक्तिले पछि ओनोदालाई खोज्छु भनेर घोषणा गरेका थिए जो पछि ओनोदा, पान्डा र यतिको खोजीमा हिँडेका थिए। आफ्नो लक्ष्य प्राप्त गर्ने हिँडेका सुजुकीले अभियानको ४ दिनमा ओनोदालाई भेटेका थिए। थुप्रै वर्ष अगाडि युद्ध समाप्त भैसकेको कुरा सुनाउँदा पनि ओनोदालाई विश्वास थिएन र उनले म मेरो वरिष्ठ अधिकारीको आदेश बिना युद्ध रोक्न सक्दिन भनेर भनेका थिए। तत्कालका समयका जापानी प्रमुख सेनापति योसिमी तानिगुचीले युद्ध समाप्त भएपछि पुस्तकको व्यापार सुरु गरेका थिए। ओनोदाका सेनापति तानिगुचीलाई पनि लुबाङ लगिएको थियो। यस पटक सन् १९७४ मार्च ९ का दिन युद्ध समाप्त भएको लगभग तीसवर्ष पछि ओनोदा जङ्गलबाट बाहिर आएका थिए। उनले त्यस समय पनि २९ वर्ष अघि लगाएको पोशाक पहिरिएका थिए, उनको हातमा एक राइफल र कम्मरमा तरवार रहेको थियो। यत्रो वर्षपछि आफ्ना सेनापतिलाई देखेर उनले चिच्चाउँदै भने “अर्को आदेश, मेजर“? आफ्ना सेनापतिलाई देखेर यथार्थ थाहा पाएपछि उनी निकै बेर रोएका थिए। प्रमुख सेनापतिको आदेश पछि ओनोदाले अस्त्र समर्पण गरेका थिए। त्यससमय उनको साथमा ५०० राइफल गोल, तरवार र एक छुरी रहेको थियो। उनले नियम अनुसार देशको झण्डालाई सलाम गर्दै आफ्नो २९ वर्षे युद्ध समप्त गरेका थिए। आत्मसमर्पणको सर्त अनुसार उनी युद्ध अपराधबाट मुक्त भएका थिए।

जवाफ लेख्नुहोस्