
तराई
तराई नेपालको दक्षिणमा पूर्व पश्चिम समानन्तर रूपमा फैलिएको समतल मैदानी भाग हो। यो समुद्र सतहबाट ५०० फिट सम्मको उचाइमा अवस्थित छ। यसको चौडाइ २५ देखि २६ माइल उल्लेख गरेको पाइन्छ। नेपालको कुल क्षेत्रफल १७ प्रतिशत भूमि तराई क्षेत्रमा पर्दछ। तराई भाग पूर्वमा फराकिलो र पश्चिममा साँगुरो छ। साथै यसलाई चुरे पर्वतले तीन खण्डमा विभाजित गरी दिएको छ। तसर्थ भिखना ठोरीदेखि नारायणी नदीसम्म तराई भाग टुटेको छ, जसले गर्दा पूर्वी मध्य र पश्चिमी गरि तराई तीन भागमा विभाजित हुन पुगेको छ। भौगोलिक आधारमा तराई दक्षिणका ठूला नदीहरूको मैदान हो, जुन क्रमिक रूपले निर्माण भई विशाल समतल रूपमा परिणत भएको छ। चुरे, महाभारत पर्वत र हिमालयबाट उत्पत्ति भई धरातलीय ढाल अनुरूप दक्षिण तर्फ नियमित रूपमा बहने अनगिन्ती साना-ठूला नदी-नालाले बर्सेनी मिहिन माटोको निक्षेप गरी यो मैदानको निर्माण भएको हो। तराईको सबभन्दा होचो भाग झापा जिल्लाको केचनकवल क्षेत्र हो। पूर्वी तराई सबभन्दा होचो छ। तराईको दक्षिणी भागबाट क्रमशः उत्तर तर्फ भूमिको ढाल उठ्दै गएको छ भने पश्चिम तर्फ समतल भए तापनि पूर्वको तुलनामा अग्लिदै गएको छ। तराईको सबभन्दा अग्लो भाग सुदूरपश्चिमको भागमा पर्दछ।
चुरे पर्वत
भारतमा सिवालिक पर्वतका नामले परिचित चुरे पर्वत तराईको समथर भागबाट उत्तर तर्फ उठेर पर्वतको रूप लिन पुगेको पर्वत हो। चुरे पर्वत महाभारत पर्वतझैँ लगभग पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा फैलिएका छन्। हिमालयको उत्पत्तिको क्रममा यस पर्वतलाई बाह्य हिमालय पनि भनिन्छ। कारण उत्पत्तिको क्रममा पहिला हिमालय, त्यसपछि महाभारत र अन्त्यमा चुरे पर्वतको निर्माण भएको हो। चुरे पर्वतको उचाइको सम्बन्धमा मत भिन्नता पाइन्छ। यसको उचाइ ३०००, ४०००, ५००० र ६००० फिट उल्लेख गरेको पाइन्छ। यो क्षेत्र सुगम क्षेत्रमा पर्दछ। यसको सरदर उचाइ ४००० फिट हो। यो पूर्वमा होचो र पश्चिममा क्रमशः अग्लो हुँदै गएको छ। चुरे पर्वतको सबभन्दा अग्लो भाग कैलाली र डोटीको बीचमा पर्दछ, जुन करिब ९४६२ फिट अग्लो छ।
भावर तथा दुन प्रदेश
लम्बाइ करिब ४ कोष र उचाइ ५०० देखि १००० फिटसम्म फैलिएको र कङ्कड, बालुवा, फुस्को माटो, खस्रो ढुङ्गयानद्वारा निर्मित भावर प्रदेश चुरे पर्वतको दक्षिण फेदी देखि तराईको खास मैदानी भागसम्म क्रमशः भिरालो पर्दै गएको भूमिको ढाल हो। यस्तो भौगर्भिक बनावट भएको भूमि जङ्गलका लागि उपयुक्त हुने हुँदा यस क्षेत्रमा साल तथा अन्य विभिन्न जातका घना जङ्गल पाइन्छन्। हिमालयबाट उत्पत्ति भएका ठूला नदीहरू बाहेक महाभारत चुरे पर्वतबाट उत्पत्ति भएका साना नदीहरू यस क्षेत्रमा लुक्दछन् र तराइमा मात्र देखा पर्दछन्। यसै क्षेत्रमा नेपालको महत्त्वपूर्ण चारकोसे जङ्गल पर्दछ। यो क्षेत्रले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्व राख्ने जङ्गली जनावरलाई मुख्य रूपमा संरक्षण प्रदान गरेको छ। कृषिका लागि बिल्कुल प्रतिकूल क्षेत्र भएकाले जन घनत्व यहाँ प्रायः छैन।
दुन प्रदेश भन्नाले भित्री मधेसलाई चिनिन्छ। यो चुरे पर्वत र महाभारत श्रेणीबीच फैलिएका समतल बेसी हो। चुरे पर्वतको उपस्थितिले गर्दा तराईसँग दुन प्रदेश अलगिएको छ। तर सबै कुरामा दुन प्रदेश तराईसँग मिल्दो जुल्दो रहेको छ। दुन प्रदेशले नेपालको कुल भूभागको ८ प्रतिशत भूमि ओगटेको छ। उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी र दाङ देउखुरी भित्री मधेश तथा दुन प्रदेशका जिल्लाहरू हुन्। यी दुनहरूको सरदर उचाइ २००० फिटसम्म रहेको छ। विस्तृत रूपमा फैलिएका दुन प्रदेशहरू चितवन र दाङ देउखुरी मुख्य हुन्। सबै दुन प्रदेशमा महत्त्वपूर्ण नदीहरू बगेका छन्। राप्ती र बबै दाङ देउखुरीमा राप्ती चितवनमा बढी महत्त्वपूर्ण नदीहरू हुन्। अन्न उत्पादनमा तराई पछिको दुन प्रदेश पर्दछ। औद्योगिक, व्यापारिक र खाद्य फसलको उत्पादनमा दुन प्रदेशको स्वयम् महत्त्वपूर्ण रहन गएको छ। साथै जङ्गल वन्य जन्तुको विकास संरक्षण घर, प्राकृतिक सौन्दर्य र राष्ट्रिय सम्पत्तिका रूपमा रहेको छ। अति मूल्यवान् जनावर गैँडाको प्रमुख घर चितवनको जङ्गल हो। तर हाल दुन प्रदेशमा औलो उन्मुलन भएपछि र कृषि उत्पादन अनुकूल भएकाले जनचाप बढ्न गई जगली जनावर र जङ्गलमा ह्रास आएको छ। थारू र माझी दुन प्रदेशका प्रमुख आदीवासी हुन्।
महाभारत पर्वत
महाभारत पर्वत शृङ्खलाको उचाइ ५००० देखि १०,००० फिटसम्म रहेको छ। पुरानो पत्रे, परिवर्तित चट्टान ग्रेनाइट, स्नेट, बलौटे, ढुङ्गा, कङलोमेरेट ढुङ्गा आदिबाट बनेको र पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा फैलिएका महाभारत पर्वत शृङ्खलाको भौगर्भिक बनावट हिमालयसँग मिल्दोजुल्दो छ। यो पर्वत पनि चुरे झैँ पूर्वमा होचो र पश्चिममा अग्लो छ। साथै पूर्वको तुलनामा पश्चिमी भाग फराकिलो छ। पूर्वी भागमा यी पर्वत शृङ्खला तराई भागबाट उत्तर तर्फ सीधै उठेका छन्। मध्य नेपालको उत्तरी भागमा त्रिशूली, सुनकोशी, काली, सेती आदि नदीले यस पर्वतलाई बीच बीचमा काटी दक्षिण तर्फ बगेका छन्। फलस्वरूप यी पर्वतमालाको बीच बीचमा नदीले काटेर निर्माण भएका भन्ज्याङ, गल्छी, घाटीहरू छन्। बागमती, कमला, राप्ती, बबई, स्वतन्त्र रूपमा उत्तरबाट दक्षिण तर्फ बगेका छ। यस खण्डको अग्लो भाग मध्ये बेधनारायाण स्थान (९६५६ फिट) फूलचोकी (९०७३ फिट) विषेश उल्लेखनीय छन्। सिन्धुलीगढी, हरिहरपुर गढी, चीसापानी गढी, मकवानपुर गढी, उपरदाङगढी यस शृङ्खला अन्तर्गत गर्ने गढीहरू भने छिम्केश्वरी, चन्द्रागिरी, फूलचोकी, सैलुङ, नार्गाजुन आदि उल्लेखनीय महाभारत पर्वतहरू यस अन्तर्गत पर्दछन्। यी पर्वतहरूको माथिल्लो भागमा हिउँदमा हिउँ पर्दछ, तर स्थायी रूपमा रहँदैन। हिउँदमा हिउँ पर्ने पर्वतको ढाल र फेदी क्षेत्रमा चरक खर्कहरू छन्। यस क्षेत्रमा पशुपालन व्यवसाय गरिन्छ। यी पर्वत मालाको अधिकांश भाग हरिया कोणधारी र मिश्रित जङ्गलले ढाकेको छ। यी पर्वतहरूको उत्तरी ढाल ठाडो र दक्षिणी ढाल क्रमशः भिरालो छ। दक्षिणी ढाल उत्तरी ढालको तुलनामा कम ठाडो हुनुमा मनसुन वर्षाद्वारा बढी क्षयीकरण नै प्रमुख कारणको रूपमा मानिएको छ। जनआवादी उत्तरी ढालमा कम र दक्षिणी ढालमा बढी छ। कुल जनसङ्ख्याको ५२% जनसङ्ख्या यस पर्वतको दक्षिणी ढालमा बस्तछन्। यस क्षेत्रमा मिश्रित जातजातिको बसोबास रहेको रहेको छ।
मध्य बेशी र भोट हिमालय
महाभारत पर्वतदेखि उत्तर, मुख्य हिमालय भन्दा दक्षिणबीच ठाउँ ठाउँमा निर्माण विधि फरक भएका विभिन्न उपत्यका, बेशी र टारहरू मध्य बेसीहरू हुन्। मध्ये बेशीको उचाइ २००० देखि ३००० फिटसम्म हुन्छ भने चौडाइ ६० देखि ८० किलो मिटरसम्म हुन्छ। उपत्यकाका रूपमा काठमाडौँ र पोखरा, बेशीसँग उचाइको कारणले छुट्टिएको र महाभारत पर्वतको पर्वतपद्वीपीय भागका रूपमा रहेको सामान्य समथर भूमि टारका रूप हुन्। उचाइमा १८,००० देखि २२००० फिटसम्मको र मनाङ देखि पश्चिम, मुख्य हिमालयभन्दा उत्तर, तिब्बतसँगको सीमावर्ती पर्वतशृङ्खला भन्दा दक्षिण र अपी हिमालय भन्दा उत्तर पूर्वबीच अवस्थित उपत्यकालाई भोट प्रदेश र अग्लो भाग भोट हिमालयको हो। मुख्य हिमालयको दृष्टि छायामा परेकाले यो क्षेत्रमा वर्षा हुँदैन। यहाँको जलवायु शीत मरूभूमि खालको छ। पर्वत शृङ्खलाहरू प्राय नाङ्गा र उजाड छन्। यिनै विषेशताका आधारमा यस क्षेत्रलाई टनी हेगनले अर्द्ध मरूभूमिको संज्ञा दिएका हुन्। तर उपत्यका क्षेत्रमा केही घाँसे भूमि भएकाले ग्रीष्ममा यस भोट प्रदेशमा गोठ राख्ने काम हुन्छ। यो भोट प्रदेश मध्य र पश्चिमी नेपालको उत्तरी भागमा मात्र सीमित छ। हुम्ला, मुगु, छर्का, मुस्ताङ, लार्के आदि भोट प्रदेश हुन्। यस क्षेत्रको भौगोलिक बनावटमा बलौदे ढुङ्गा, पत्थर आदिको प्राधान्यता रहेको छ।
मुख्य हिमालय
मुख्य हिमालयको फैलावट महाद्वीपमा पठारको गाँठोबाट पूर्वतर्फ चापका रूपमा रहेको र लम्बाइमा १५०० माइल र चौडाइ २०० माइलसम्म फैलिएको छ। मुख्य हिमालय पर्वत अल्पाइन पर्वतीकरणको समयमा उत्पन्न भू-पृष्ठको सर्वोच्च पर्वत हो। ब्रह्मपुत्र नदीबाट पूर्वतर्फ हिमालयको विस्तार दक्षिण पूर्वतर्फ झुकेको छ। तसर्थ आसाम र बर्माको पहाडलाई यही हिमालयको अंश मानिन्छ। एसियामा २४ हजार फिट उचाइ भएका ९४ हिमाली शृङ्खला छन्। यी सबै हिमालय भित्र पर्दछन्। यस बाहेक २४० वटा जति अज्ञात हिमालयहरू पनि भएको अनुमान छ, जसको उचाइ २० हजार फिट भन्दा बढी रहेको छ। हिमालयलाई वारपार काट्ने नदीहरू, सिन्धु, सतलज, ब्रह्मपुत्र हुन्। अलकन्दा भागिरथी, काली सेती, भेरी, गण्डकी, अरुण आदि नदीहरू हिमालयबाट उत्पत्ति भई लघु हिमालय र बाह्य हिमालयलाई काट्न सफल भएका छन्।