ब्रिटिस भारतको विभाजन कसरी भएको थियो?

ब्रिटिस भारतको विभाजन पूर्वको नक्शा

चरणबद्ध रूपमा गरिएका विभिन्न आन्दोलनहरूका माध्यमबाट ९० वर्ष लामो ब्रिटिस शासनको अन्त्य भएपछि सन् १९४७ मा माउन्टबेटन योजनाको आधारमा निर्मित भारतीय स्वतन्त्रता अधिनियमबाट ब्रिटिस भारतलाई पाकिस्तान र भारत गरी दुई स्वतन्त्र राष्ट्रहरूमा विभाजन गरिएको थियो। यस विभाजनले मुख्यतया ब्रिटिस भारतको बङ्गाल प्रान्तलाई पूर्वी पाकिस्तान र भारतको पश्चिम बङ्गाल राज्यमा विभाजित गरेको र सोही तरिकाले ब्रिटिस भारतको पञ्जाब प्रान्तलाई पश्चिम पाकिस्तानको पञ्जाब प्रान्त र भारतको पञ्जाब राज्यमा विभाजन गरिएको थियो। यस समयमा सिलोन नामले चिनिने हालको श्रीलङ्का र बर्मालाई पनि पनि ब्रिटिस भारतबाट विभाजन गरिएतापनि यसलाई भारतको विभाजनमा समावेश गरिएको थिएन। अन्तिम बेलायती राजप्रतिनिधि लुई माउन्टबेटनले कराची र नयाँ दिल्ली आयोजित दुवै अनुष्ठानमा भाग लिन सकून् भन्ने उद्देश्यका साथ सन् १९४७ अगस्ट १५ को मध्यरातमा भारत र पाकिस्तान कानुनी रूपमा दुई स्वतन्त्र राष्ट्र बनेपछि पाकिस्तानको सङ्क्रमणकालीन समारोह १४ अगस्टका दिन कराचीमा आयोजना गरिएको थियो। त्यसैले पाकिस्तानमा अगस्ट १४ र भारतमा अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाइयो। भारतको विभाजनबाट करोडौँ मानिस प्रभावित भएका थिए। धार्मिक आधारमा गरिएको यस विभाजनले १ देखि २ करोड मानिसहरूलाई विस्थापित गर्दा यसले दुई नयाँ स्थापित प्रभुत्वहरूमा चरम शरणार्थी सङ्कट सिर्जना गराएको थियो। विभाजनहुनुभन्दा ठीक अघि र पछि पनि ठूलो मात्रामा हिंसा हिन्दु मुसलमान दङ्गाहरू देशैभर भड्किएका थिए जसमा १० लाख मानिसहरूको मृत्यु भएको विश्वास गरिन्छ। लगभग १ करोड ४६ लाख शरणार्थीहरू आफ्नो घर छोडेर बहुसङ्ख्यक देशमा शरण लिएका थिए। विभाजनमा भएको हिंसाको प्रकृतिले भारत र पाकिस्तानबीच शत्रुता र शङ्काको वातावरण सिर्जना गर्दा यसको प्रभाव आजसम्म उनीहरूको सम्बन्धमा परेको छ।

भारतीय नागरिकहरूलाई सम्प्रदायअनुसार विभिन्न समूहमा विभाजन गरेका ब्रिटिस शासकहरूले जहिलेपनि “फुटाउ र राज गर”को निति पछ्याउँथे। उनीहरूका केही नीतिहरूले हिन्दूहरूप्रति र केहीले मुसलमानहरूप्रति भेदभाव गरेका थियो। २०औँ शताब्दीसम्म मुसलमानहरू बहुसङ्ख्यक हिन्दूहरूबाट डराउँथे तर यसैबीच ब्रिटिस सरकार र भारतीय नेताहरूले मुसलमानहरूलाई विशेषाधिकार दिन र हिन्दूहरू विरुद्ध भेदभाव गर्न खोजिरहेका छन् भनेर हिन्दूहरूले महसुस गर्न थाले। त्यसैले जब भारतमा स्वतन्त्रताको भावनाको उदय हुन थाल्यो, तब स्वतन्त्रता युद्धलाई नियन्त्रण गर्न दुवै सम्प्रदायका नेताहरूबीच प्रतिस्पर्धा हुन थाल्यो। सन् १९०६ मा थुप्रै मुस्लिम नेताहरू मिलेर ढाकामा मुस्लिम लिगको स्थापना गरे। बहुसङ्ख्यक हिन्दूहरूको तुलनामा मुसलमानहरूलाई कम अधिकार दिइएको महसुस गरेरका मुस्लिम लिगका नेताहरूले विभिन्न समयमा फरकफरक मागहरू राखे। यस समयमा भारतीय राष्ट्रिय काङ्ग्रेसले हिन्दूहरूको प्रतिनिधित्व गर्दथ्यो। सन् १९३० मा मुस्लिम लिगको सम्मेलनमा प्रसिद्ध उर्दू कवि मोहम्मद इकबालले पहिलोपटक आफ्नो भाषणमा मुसलमानहरूका लागि छुट्टै राज्यको माग उठाए। सन् १९३५ मा सिन्ध प्रान्तको विधान सभाले पनि यही माग उठायो। इकबाल र मौलाना मुहम्मद अली जौहरले मुहम्मद अली जिनाहलाई यस मागलाई समर्थन गर्न आग्रह गरे। त्यतिन्जेलसम्म जिन्ना हिन्दू–मुस्लिम एकताको पक्षमा देखिन्थे तर काङ्ग्रेस नेताहरूले मुसलमानहरूको हितमा ध्यान दिइरहेका छैनन् भनेर उनले आरोप लगाए। सन् १९४० मा लाहोरमा भएको मुस्लिम लिगको सम्मेलनमा जिनाहले दुई स्वतन्त्र राष्ट्रको आवश्यकता छ भनेर स्पष्ट रूपमा भनिदिए। अङ्ग्रेजहरूले सुनियोजित रूपमा हिन्दू र मुस्लिम दुवै सम्प्रदायप्रतिको शङ्कालाई बढावा दिए लगत्तै मुस्लिम लिगले अगस्ट १९४६ मा कलकत्तामा भयानक दङ्गा भड्कायो जसमा लगभग ५००० मानिसहरू को मृत्यु र धेरै घाइते भए। यस्तो माहोलमा देश पूर्ण युद्धको स्थितिमा नआओस् भनेर सबै नेतालाई देशको विभाजन स्वीकार्न दबाब दिन थालियो।

कलकत्ताको सडकमा गिद्ध र लाशहरू, सन् १९४६ अगस्ट

भारत र पाकिस्तान बीचको सीमा सेरिल रेडक्लिफ नामक एक बेलायती वकिलले तय गरेका थिए। पहिला कहिलै भारत नआएका रेडक्लिफलाई भारत र पाकिस्तान बीचको सीमा रेखा तय गर्नका लागि भारतको विभाजन हुनु भन्दा केही हप्ता अगाडि मात्र भारत बोलाइएको थियो। भारतको ’boutमा पूर्ण जानकारी समेत नभएका रेडक्लिफले अधिकांश हिन्दु र शिखहरू भारतमा र अधिकांश मुसलमानहरू पाकिस्तानमा पर्ने तरिकाले देशको सीमा रेखा तय गर्नु थियो। रेडक्लिफद्वारा खिचिएको रेखाले ५० लाख हिन्दु र शिखहरूलाई पाकिस्तानी पञ्जाबमा र ५० लाख मुसलमानहरूलाई भारतीय पञ्जाबमा छाडेको थियो। देशको विभाजनको समयमा हरेक चीजलाई दुई देशहरू बीच बाँडिएको थियो। ताज महललाई एक मुसलमान बादशाहले बनाएको भन्दै ब्रिटिस भारत विभाजनको मिति तय भएपछि थुप्रै मुसलमानहरूले ताज महललाई भत्काएर पाकिस्तानमा लगेर पुनर्निर्माण गर्नुपर्छ भन्ने माग राखेका थिए तर यो माग कहिलैपनि पुरा हुन सकेन। ब्रिटिस भारतको सम्पत्ति दुई देशबीच बाँडिने प्रक्रिया निकै लामो हुन थाल्यो। महात्मा गान्धीले भारत सरकार समक्ष पाकिस्तानलाई छिटो पैसा पठाउन दबाब दिँदासम्ममा भारत र पाकिस्तानबीच युद्ध सुरु भइसकेको थियो। दबाब बढाउनका लागि उनले अनशन सुरु गरे। भारत सरकारले यो दबाबसामु झुक्नुपर्‍यो र पाकिस्तानलाई पैसा पठाउनुपर्‍यो। सन् १९४७ अक्टोबर २२ मा पाकिस्तानले काश्मिरमाथि आक्रमण गर्नुअघि माउन्टबेटनले भारत सरकार समक्ष पाकिस्तान सरकारलाई ५५ करोड भारु दिन सुझाव दिए। केन्द्रीय संसदले आक्रमणलाई ध्यानमा राख्दै यो रकम स्थगित गर्ने निर्णय गर्‍यो तर गान्धीले यो रकम तत्काल प्राप्त गर्न अनिश्चितकालीन भोक हडताल सुरु गरेपछि यो रकम भारतको हित विपरीत पाकिस्तानलाई दिइयो।

विभाजनको समयमा रेलमाथि शरणार्थीहरू, पञ्जाब

ब्रिटिस सरकारले विभाजनको प्रक्रियालाई सही तरिकाले सम्हाल्न नसकेको भन्नेमा थुप्रै विद्वानहरूको मतैक्य रहेको छ। पहिले स्वतन्त्रताको घोषणा र पछि विभाजनको घोषणा गरिएकाले देशमा शान्ति कायम गर्ने जिम्मेवारी भारत र पाकिस्तानका नयाँ सरकारहरूको काँधमा आयो। स्थानान्तरण हुनुपर्ने छ भनेर कसैले पनि सोचेका थिएनन्। दुवै देशका नयाँ सरकारहरूले हिंसा र अपराधसँग जुध्न आवश्यक प्रबन्ध गरेनन्। फलस्वरूप, त्यहाँ दङ्गा भड्कियो, धेरै मानिसहरूले आफ्नो ज्यान गुमाउनुपऱ्यो र धेरै मानिसहरू आफ्नो घर छोडेर भाग्नुपऱ्यो। यो अवधिमा करिब ५ लाखदेखि ३० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ। कोही दङ्गामा, कोही यात्राको कठिनाइका कारणले। विभाजनपछिका महिनाहरूमा दुई नयाँ देशहरू बीच ठूलो सामूहिक स्थानान्तरणहरू हुन थाले। पाकिस्तानमा धेरै हिन्दू र शिखहरू निर्वासनमा जान बाध्य भए। तर भारतमा गान्धीले काङ्ग्रेसलाई दबाब दिए र मुसलमानहरूले चाहेमा भारतमा बस्न सक्छन् भन्ने सुनिश्चित गरिदिए। सीमाङ्कन पछि, लगभग १.४५ करोड मानिसहरू हिंसाको डरले सीमा पार गरे र बहुसङ्ख्यक सम्प्रदायहरूले देशमा शरण लिए। भारतको सन् १९५१ को जनगणना अनुसार ७२,२६,००० मुसलमानले भारत छोडेका र ७२,४९,००० हिन्दू र शिखहरूले विभाजन लगत्तै पाकिस्तान छोडेका थिए। यसमध्ये ७८ प्रतिशत पश्चिमलाई मुख्यतः पञ्जाबमा स्थानान्तरण गरिएको थियो।

जवाफ लेख्नुहोस्